
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले भन्सार ऐन कार्यान्वयनमा जाने चरणमा रहेको बताएका छन् । भन्सार ऐन आए पनि नियमावली नआएकै कारण ऐनमा भएका व्यवस्था कार्यान्वयनमा जान नसक्ने अवस्थाको अन्त्य गर्न लागेको उनले बताए ।
अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा अर्थमन्त्री खनालले निजी क्षेत्रलाई सहज र भन्सारलाई व्यवस्थित गराउन भन्सार ऐन जारी गरिएको बताए ।
उनकाअनुसार भन्सार ऐनलाई पूर्ण रुपमा सरकारले कार्यान्वयन गर्नेछ । त्यसैका लागि मन्त्रिपरिषद्बाट नियमावली स्वीकृत गराउन लागिएको हो । सकभर आज मन्त्रिपरिषद्मा भन्सार नियमावली पुग्ने उनको भनाइ छ ।
‘हामीले निजी क्षेत्रलाई सहज गराउनको लागि नयाँ भन्सार ऐन ल्याएको हो । त्यो भन्सार ऐनलाई पूर्ण रुपमा कार्यान्वयन गर्नका लागि भन्सार नियमावली तर्जुमा गर्न लागेका छौँ,’ उनले भने, ‘केही लामोसमय लागेकै हो । मेरो विचारमा त्यो आज साझ सम्ममा मन्त्रिपरिषद्मा पुग्नेछ । मन्त्रिपरिषद्बाट प्रक्रिया पुरा गरेर नियमावली पास हुनेछ ।’
भन्सार ऐनलाई लिएर कतिपयले दण्ड धेरै चर्को भयो भन्ने गुनासाहरु आउने गरेको बताउँदै खनालले दण्ड भरसक गर्नै नपर्ने स्थीति उत्पन्न हुनुपर्ने बताए । निजी क्षेत्र र भन्सार–अर्थ मन्त्रालय सहकार्य गरेर अब दण्डै गर्ननपर्ने अवस्थामा जानुपर्ने खनालले बताए ।
भन्सार प्रशासनलाई सुधार्दै व्यापारलाई सहजीकरण गर्ने दक्षता अभिवृद्धिका लागि अर्थमन्त्रालयले सहयोग गर्ने समेत उनले बताए । त्यसले दण्ड हुनुपर्ने अवस्थाको अन्त्य गर्नसक्ने उनले बताए ।
अर्थमन्त्री खनालले भन्सार सुधार रणनीति छिटो ल्याएर कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए ।
आफू निजी क्षेत्रमैत्री अर्थमन्त्री भएकाले सुधारका लागि विभिन्न प्रयत्न गरिरहेको उनले भने ।








प्रतिक्रिया