मजेस्टिक होराइजन रिसोर्ट चैतबाट सञ्चालनमा ल्याउने तयारी, लगानी कति ?


सांकेतिक तस्बिर

काठमाडौं । रुपन्देहीको ओमसतियामा निर्माण भइरहेको मजेस्टिक होराइजन रिसोर्ट आगामी चैतबाट सञ्चालनमा आउने भएको छ ।

मजेस्टिक होराइजन रिसोर्ट प्रालि व्यवस्थापनले आगामी चैतबाट होटल सञ्चालनमा ल्याउने योजना रहेको जनाएको हो ।

सन् २०२४ मा स्थापना भएको कम्पनीले चारतारे होटल निर्माण गरिरहेको छ ।

होटलमा ८२ वटा कोठाको सुविधा हुनेछ । भैरहवा भन्सारबाट ६ किलोमिटर दुरीमा रहेको होटलले व्यवस्थापनका लागि बेस्ट वेस्टर्न होटल्स एन्ड रिसोर्टसँगै सम्झौता गरेको छ ।

होटल ९४ करोड ३० लाख रुपैयाँमा निर्माण गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले होटल निर्माणका लागि लगानीको अनुपात ८०:२० को राखेको छ । कम्पनीका अनुसार हालसम्ममा होटलको निर्माण कार्य अन्तिम चरणमा पुगिसकेको छ। होटलको अन्य क्रियाकलाप सञ्चालनको तयारी भइरहेको जनाएको छ ।

कम्पनीअनुसार होटलको आर्थिक प्रगति ६७ प्रतिशत भइसकेको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ६८ करोड रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले कर्जाको ९ प्रतिशत रकम व्यवस्थापन भइसकेको छ भने बाँकी ९१ प्रतिशत कर्जाका लागि अनुमति पाइसकेको रेटिङमा उल्लेख छ । कम्पनीमा पराग गोर्खालीको पूर्ण स्वामित्व छ ।