ओलीको सार्वजनिक बहस प्रस्ताव बालेनद्वारा अस्वीकार: ‘हत्याराको मतियारसँग एउटै मञ्चमा उभिदिनँ’


काठमाडौं । निर्वाचनको सरगर्मी बढ्दै जाँदा प्रमुख दलका शीर्ष नेताहरूबीच ‘पब्लिक डिबेट’ (सार्वजनिक बहस) गर्ने विषयले राजनीतिक वृत्तमा नयाँ तरंग पैदा गरेको छ ।

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो बहसमा सहभागी हुन तयार रहेको घोषणा गरेलगत्तै झापा क्षेत्र नम्बर ५ का उम्मेदवार तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले ओलीसँग एउटै मञ्चमा उभिन अस्वीकार गरेका छन् ।

अध्यक्ष ओलीले आइतबार बिहान सामाजिक सञ्जालमार्फत देश बनाउने र देश जलाउने शक्तिबीच प्रतिस्पर्धा भइरहेको भन्दै पारदर्शी बहसका लागि आफू तयार रहेको बताएका थिए ।

उनले निर्वाचनमा होमिएका सबै दलका एजेण्डा, विगतका काम र भविष्यको मार्गचित्र (रोडम्याप) बारे आमने-सामने बहस हुनु सकारात्मक हुने उल्लेख गरे ।

ओलीले लेखेका छन्, ‘देशको नेतृत्व गर्न खोज्ने दलका एजेण्डा र खाकाबारे जनताले सिधा प्रश्न सोध्न पाउने गरी आयोजना गरिने पब्लिक डिबेटमा म तयार छु। चुनावपछि प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिएका सबैलाई एउटै मञ्चमा ल्याउन आयोजकहरूलाई मेरो आग्रह छ।’

उनले सामाजिक सञ्जालका प्रचार सामग्रीले वास्तविक चरित्र लुकाउन सक्ने भन्दै प्रत्यक्ष बहसको आवश्यकता औँल्याएका हुन्।

बालेनको कडा जवाफ: ‘बहस होइन, बहिष्कार’

अध्यक्ष ओलीको प्रस्ताव सार्वजनिक भएलगत्तै झापा-५ मा ओलीसँगै चुनावी मैदानमा रहेका नेता बालेन शाहले सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया दिँदै बहस बहिष्कार गर्ने घोषणा गरेका छन् । ओलीको स्टाटसमा टिप्पणी गर्दै शाहले विगतका हिंसात्मक घटनाहरूलाई लिएर गम्भीर आरोप लगाएका छन्।

बालेनले लेखेका छन्, ‘आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठिकै छ। ७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ।’

उनले नेताहरूले आफ्नो ‘आतङ्कवादी’ छवि कहिले स्वीकार गर्ने भन्दै प्रश्न समेत गरेका छन्। बालेनले हत्या र हिंसामा संलग्नहरूसँग कुनै पनि प्रकारको संवाद वा बहस नगर्ने स्पष्ट पारेका छन् ।

निर्वाचनको मिति नजिकिँदै गर्दा नयाँ र पुराना शक्तिबीच देखिएको यो वाकयुद्धले चुनावी प्रतिस्पर्धालाई थप रोचक र आक्रामक बनाएको छ।