
काठमाडौं । बैंक तथा वित्तीय क्षेत्रमा बढ्दै गएको साइबर जोखिम र ठगी नियन्त्रण गर्ने उद्देश्यले आगामी माघ १४ गते राजधानीमा ‘साइबर सुरक्षा तथा साइबर ठगी रोकथामसम्बन्धी दोस्रो राष्ट्रिय सम्मेलन’ आयोजना हुने भएको छ ।
काठमाडौँ फिन्टेक र पीसीआई एसएससीको संयुक्त आयोजनामा यो सम्मेलन हुन लागेको हो ।
नेपालको बैंकिङ, वित्तीय र फिन्टेक क्षेत्रमा पछिल्लो समय साइबर ठगीका घटनाहरू तीव्र रूपमा बढिरहेका बेला यसको समाधान र जोखिम व्यवस्थापनका लागि यो सम्मेलन आयोजना गरिएको हो । कार्यक्रममा स्वदेशी तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विज्ञहरूले आफ्ना अनुभव र सुरक्षा रणनीतिहरूबारे कार्यपत्र प्रस्तुत गर्नेछन् ।
सम्मेलनको मुख्य वक्ताका रूपमा भारतको केन्द्रीय बैंकद्वारा स्थापित बैंकिङ प्रविधि र साइबर सुरक्षा अनुसन्धान केन्द्रका प्रमुख तथा पूर्व केन्द्रीय बैंकर दीपक कुमार रहने छन् । उनले बैंकिङ क्षेत्रको साइबर सुरक्षा, केवाईसी प्रणाली र डिजिटल जोखिम व्यवस्थापनका विषयमा विशेष सम्बोधन गर्ने छन् ।
त्यसैगरी, भारतको एचडीएफसी बैंकका तर्फबाट मनीष अग्रवालले बैंक र ग्राहकलाई साइबर ठगीबाट जोगाउन अपनाइएका प्रभावकारी रणनीति र ‘म्युल खाता’हरूलाई निष्क्रिय पार्ने सफल अनुभव साझा गर्ने आयोजकको भनाइ छ । सम्मेलनमा साइबर सुरक्षा विज्ञ एवं इन्टरपोलका प्रशिक्षक कृष्ण शास्त्रीले अन्तर्राष्ट्रिय अभ्यास र नियामक दृष्टिकोणबारे प्रस्तुति दिने कार्यक्रम छ ।
नेपालमा हालसम्म अर्बौँ रुपैयाँ बराबरको साइबर ठगी भइसकेको र अपराधीहरूले विभिन्न प्रलोभन देखाएर ग्राहकको खातामा अनधिकृत पहुँच पुर्याइरहेको सन्दर्भमा यो सम्मेलन निकै महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ । कार्यक्रममा विश्वप्रसिद्ध कार्ड नेटवर्क ‘भिसा’का विज्ञहरूका साथै नेपाली बैंकिङ क्षेत्रका वरिष्ठ अधिकारी र सुरक्षा विज्ञहरूको पनि सक्रिय सहभागिता रहनेछ ।
आयोजक संस्था पीसीआई एसएससी भुक्तानी डेटा सुरक्षासम्बन्धी विश्वव्यापी मापदण्ड निर्धारण गर्ने निकाय हो भने काठमाडौँ फिन्टेकले वित्तीय क्षेत्रको क्षमता अभिवृद्धि र नीतिगत संवादमा काम गर्दै आएको छ ।








प्रतिक्रिया