ओली-बालेन प्रतिस्पर्धाको रापले तातेको झापा-५: घण्टी बज्ला कि चर्किएला घाम ?

कसलाई कति सहज ?


विराटनगर । चार पटक प्रधानमन्त्री भइसकेका एमाले अध्यक्ष केपी शर्मा ओली र भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएका काठमाडौं महानगरका पूर्वप्रमुख तथा रास्वपाका वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहका नाममा झापा निर्वाचन क्षेत्र ५ मा चुनावी राप बढ्दो छ ।

एमालेका ‘बा’ ओली र बालेन दुवैले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज झापा क्षेत्र नं ५ बाट उम्मेदवारी दर्ता गरेका छन् ।

ओली झापा ५ बाट यो सहित आठौँ पटक उम्मेदवार बनेका हुन् । यसअघिका सात निर्वाचनमध्ये ६ पटक विजयी बन्दै एक पटक पराजयको स्वाद उनले चाखिसकेका छन् ।

२०४८, २०५१, २०५६, २०७०, २०७४ र २०७९ मा ओली विजयी हुँदा २०६४ मा भने माओवादी उम्मेदवार विश्वदीप लिङ्देनसँग १२ सय मतान्तरले पराजित भएका थिए ।

यस पटक ओलीको प्रतिस्पर्धा युवा पुस्ताका लोकप्रिय उम्मेदवार बालेनसँग हुने पक्का छ । उनले उम्मेदवारी दर्ता गर्दा देखिएको क्रेजले पनि लगातार ओलीले चुनाव जित्दै आएको क्षेत्रमा कडा प्रतिस्पर्धा हुने पक्का भएको छ ।

संघीय राजधानी काठमाडौँ जस्तो राजनीतिक केन्द्रमा स्वतन्त्रबाट महानगरको मेयरमा ठूलो मतअन्तरले विजयी भएका बालेनको उम्मेदवारी ओलीका लागि भारी देखिन्छ ।

झापा क्षेत्र नं ५ एमाले र ओलीको पकड क्षेत्र मानिन्छ । तर तत्कालीन माओवादी सशस्त्र द्वन्द्वबाट शान्ति प्रक्रियामा आएपछि भएको २०६४ सालको संविधान सभा निर्वाचनमा ओली माओवादीका विश्वदीप लिङ्देनसँग पराजित भएका थिए ।

यसपालिको चुनाव पनि २०६४ सालको भन्दा फरक छैन । बालेन आफैँमा कहलिएका युवा पुस्ताका प्रतिनिधि हुन् । त्यसमाथि पनि जेनजी आन्दोलनपछि उनको राजनीतिक कद ह्वात्तै बढेको छ । प्रायः सबै युवा र अन्य साना ठूला राजनीतिक दलका असन्तुष्ट सबै ‘बालेन बालेन’ भन्दै छन् ।

बालेन काठमाडौं वा अन्य क्षेत्रबाट उम्मेदवार बन्न सक्ने भए पनि उनले ओलीको निर्वाचन क्षेत्र रोजेका हुन् । ‘ओलीलाई हराएको जस्तो मजा अरुलाई हराउन आउँदैन,’ भन्दै उनी झापा पुगेका हुन् । बालेनको ठूलो टोली झापामा खटिएको छ ।

ओली पनि कमजोर पात्र भने पक्कै होइनन् । ओलीको गढमा बालेन पुग्दा गत निर्वाचनमा भन्दा अवस्था फरक हुन सक्ने स्वयं एमालेकै नेता पनि स्वीकार गर्छन् ।

एमाले कोशीका एक नेताले क्लिकमान्डुसँग भने, ‘२०६४ को जस्तै एमालेका ‘बा’ २०८२ मा पनि बढारिन बेर लाग्दैन ।’

तर, बालेनले काठमाडौंमा हुँदा कसैलाई नभेट्ने र पहुँचका हिसाबले गाह्रो हुने भएकाले पनि कतिपयले उनलाई ‘टुरिष्ट’ उम्मेदवार भन्दै आएका छन् ।

झापा ५ ओलीको पकड क्षेत्र भनिए पनि २०६४ पछिका निर्वाचनमा उनी राप्रपासँग चुनावी तालमेल गर्दै आफूलाई सुरक्षित गर्दै आएका थिए ।

२०७९ को प्रतिनिधि सभा निर्वाचनमा उनी यही क्षेत्रबाट राप्रपासँगको चुनावी तालमेलमा ५२ हजार ३१९ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार ७४३ मत ल्याएका थिए ।

गत निर्वाचनमा रास्वपाका सुरेशकुमार पोखरेलले ११ हजार ७ सय ४८ मत ल्याएर तेस्रो भएका थिए । तर रास्वपाले गत निर्वाचनमा समानुपातिकतर्फ १८ हजार २०५ मत पाएको थियो ।

ओलीले त्यसबेला राप्रपासँगको तालमेलमा २८ हजार ५७६ मतान्तरले चुनाव जितेका थिए । रास्वपाले करिब १२ हजार मात्र मत पाएको थियो। यसपालि त्यही मतान्तरलाई एमाले, ‘बा’ र उनका कार्यकर्ताले चुनाव जित्ने आधार मानेका छन् । यसपालि राप्रपाले पनि आफ्नो उम्मेदवार दिएको छ । अघिल्लो निर्वाचनको मतान्तर आधारले यसपालि काम गर्ने अवस्था नरहेको एमाले कोशीका ती नेताको बुझाइ छ ।

यसपालि राप्रपासँग चुनावी तालमेल छैन । ओलीको व्यवहार र बोलीबाट आफ्ना मात्र नभएर उनीमाथि सहानुभूति राख्ने प्रायः बिच्किएको अवस्था छ ।

युवा पुस्ताकै लोकप्रिय बालेन उनका प्रतिस्पर्धी बनेका छन् । युवा जति बालेनको पक्षमा देखिएको अवस्था छ । एमालेका ती नेताले भने, ‘हामी सबैको जोड यस पटक विश्राम लिनु भन्ने थियो, तर बाले कसैको कुरा सुनेनन्, २०६४ सालको झैँ बढारिन बेर लाग्दैन ।’

झापा क्षेत्र नं ५ मा दमक नगरपालिका, कमल गाउँपालिका, गौरादह नगरपालिकाका वडा नं. १ देखि ८ सम्म र गौरीगञ्ज गाउँपालिकाका वडा नं. ३, ४, ५ र ६ पनि समेटिएका छन्।

१ लाख ६३ हजार ३ सय ७९ मतदाता रहेको झापा ५ मा करिब १० हजार नयाँ मतदाता थपिएका छन् ।

यो क्षेत्रमा एक तिहाइ मतदाता आदिवासी जनजाति छन् । आदिवासी जनजातिको मत निर्णायक बन्ने स्थिति छ ।

स्थानीय निर्वाचनको स्वरूप हेर्ने हो भने झापा ५ मा समेटिएका दमक नगरपालिकामा मेयर राप्रपा, गौरादह नगरपालिकामा मेयर र उपमेयर एमाले, गौरीगञ्ज र कमल गाउँपालिकामा कांग्रेसको नेतृत्व छ ।

धरान उपमहानगरका पूर्वमेयर हर्क साम्पाङको श्रम संस्कृति पार्टीबाट सहमहासचिव समीर तामाङ र नेकपाबाट रञ्जित तामाङ उम्मेदवार बन्दै छन् । आदिवासी जनजातिको मत दुई तामाङले होल्ड गर्ने स्थिति देखिन्छ ।

देशकै अग्लो भ्युटावरका रूपमा बहुप्रचारित दमक व्यापारिक भवन ओलीकै पहलमा निर्माण भए पनि पूर्ण रूपमा सञ्चालनमा आएको छैन । १८ तले भवन जेन-जी आन्दोलनमा तोडफोड भयो । त्यस्तै कमल गाउँपालिका–५, गेउरियामा ‘आदिवासी जनजाति रंगशाला’ बनाउन २०६६ देखि प्रयास भए पनि नामको विवादले अलपत्र छ ।

आदिवासी जनजातिले समाधिस्थलका रूपमा प्रयोग गरेको जग्गामा ‘आदिवासी रंगशाला’ बनाउने गरी वैशाख २०६७ मा शिलान्यास गरिए पनि २०७२ मा प्रधानमन्त्री हुँदा ओलीले रंगशालाको नाम फेरेर ‘मदन भण्डारी रंगशाला’ का नाममा बजेट छुट्याएका थिए । तर आदिवासी जनजातिले विरोध गरे । नाम परिवर्तनको प्रस्तावमा कांग्रेसले पनि साथ दिएन । त्यहाँ निर्माण अघि बढाउन नसकिने भएपछि ओलीले पछि दमक–३, हँसे–दुम्से सामुदायिक वनको जग्गामा रंगशाला बनाउने घोषणा गरे । तर त्यो पनि अलपत्र छ ।

दमकमा ६४ अर्ब ९० करोड रुपैयाँ लगानीमा नेपाल–चीन मैत्रीपूर्ण औद्योगिक पार्क बनाउने भन्दै ओलीले १७ साउन २०७६ मा शिलान्यास गरेका थिए । तर अहिलेसम्म पनि काम अघि बढ्न सकेको छैन । दमकलाई नमुना सहर बनाउनेदेखि प्रदेशकै सबैभन्दा ठूलो सभागृह दमकमै बनाउनेसम्मका योजना अलपत्र छन् । यिनै विषयलाई एजेन्डा बनाएर ओलीविरुद्ध चुनावी अभियान चलाउने रास्वपाको तयारी छ ।

रास्वपा झापाका सभापति प्रकाश पाठकले भने, ‘त्यति मात्र होइन, रास्वपाले भ्रष्टाचार, कुशासन र बेथितिलाई पनि ओलीविरुद्ध चुनावी नारा घन्काउने तयारी गरेको छ ।’

बालेन्द्र अहिले त्यस्तै इतिहास दोहोर्‍याउन, आफूलाई निर्विकल्प राष्ट्रिय नेताका रूपमा स्थापित गर्न र झापाको चुनावले देशभरि पार्टीका पक्षमा ध्यान खिच्न मङ्गलवार झापाको दमक पुगेर आफ्नो उम्मेदवारी दर्ता गरेका छन् ।

सधैँ चुनावअघि नै ओलीको विजय निश्चित भएको बताउने मतदाता यसपालि फरक नतिजा आउन सक्ने विश्लेषण गर्न थालेका छन्।

‘ओली यहाँ निकै बलिया छन् । उनलाई पुराना नेता कसैले हराउन सक्दैनन्,’ दमकका युवा मतदाता दीपक दाहालको बुझाइमा यसपालि रास्वपाका बालेन जस्ता नयाँ पुस्ताका नेताले उथलपुथल ल्याइदिन सक्छन् ।

एमाले समर्थकहरू ओलीले झापा–५ मा विकासको लहर ल्याएकाले उनको विकल्प कसैले नसोचेको दाबी गर्छन् ।

दमक भ्युटावर निर्माणदेखि सडकसम्ममा धेरै काम भएको उनीहरूको भनाइ छ । युवा मतदाता भने त्यस्ता अधिकांश योजना अलपत्र रहेको बताउँछन् ।

पछिल्लो निर्वाचनमा पनि एमाले र राप्रपाबीच औपचारिक तालमेल भएको थियो ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई दोस्रो पटक हराएर लिङ्देन झापा–३ बाट विजयी हुँदा झापा–५ मा ओलीले ढुक्कसँग जितेका थिए । झापामा यसपालि पनि एमाले र राप्रपाबीच अझै पनि तालमेल हुने एमालेका स्थानीय नेताहरूको दाबी छ ।

दमक नगरपालिकामा राप्रपाका नेता राम थापा मेयर छन् । स्थानीय तह निर्वाचनमा राप्रपाले कांग्रेसलगायतसँग गठबन्धन गरेको थियो । राप्रपाका झापा जिल्ला अध्यक्ष केशव ओझा यो पटक गठबन्धनका विषयमा कुनै छलफल नभएको बताउँछन् । झापा ५ बाट लक्ष्मी सङ्ग्रौलाले उम्मेदवारी दिने पक्का भएको उनको भनाइ छ ।

यसपालि झापा–५ सहित पूर्वका धेरै निर्वाचन क्षेत्रमा वैकल्पिक शक्तिका लागि हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी ठूलै चुनौती हुने सम्भावना छ । धरानका पूर्वमेयरसमेत रहेका साम्पाङले बालेन्द्रलाई नै निसाना बनाएर अभिव्यक्ति दिँदै आएका छन्।

बालेन जहाँबाट उठे पनि हराइदिने भन्दै आएका साम्पाङले हालै सामाजिक सञ्जालमा लेखेका छन्, ‘केपी ओली र बालेन दुवैलाई झापा–५ मा पाहा पछराई पछार्नेछौँ, जति नै भ्रमको अँध्यारो छर, म आएर बोलेपछि एकै सेकेन्ड तिमीहरूको भ्रम टिक्नेवाला छैन ।’