
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपाल (नाडा) को निर्वाचन प्रक्रियासम्बन्धी विवाद टुङ्गिएको छ । पाटन उच्च अदालतले निर्वाचन प्रक्रियाविरुद्ध दायर गरिएको रिट निवेदन खारेज गरेसँगै नवनिर्वाचित कार्यसमितिको शपथग्रहणका लागि कानुनी बाटो प्रशस्त भएको हो ।
यसअघि अदालतमा मुद्दा विचाराधीन रहेकाले न्यायालयप्रतिको सम्मान र विधिको शासनलाई मध्यनजर गर्दै नाडाले नयाँ कार्यसमितिको शपथग्रहण कार्यक्रम अस्थायी रूपमा स्थगित गरेको थियो । अदालतको पछिल्लो फैसलाले उक्त विषयमा रहेका सम्पूर्ण कानुनी अवरोधहरू समाप्त पारिदिएको नाडाले जनाएको छ ।
विज्ञप्ति जारी गर्दै नाडाले भनेको छ, ‘सम्मानित अदालतको निर्णय प्राप्त भएसँगै अब संस्थाको विधान र स्थापित प्रक्रियाअनुसार निकट भविष्यमै नवनिर्वाचित कार्यसमितिको औपचारिक शपथग्रहण कार्यक्रम सम्पन्न गरिनेछ ।’ अदालतको यस निर्णयले संस्थामा थप स्थिरता र एकता कायम गर्न सहयोग पुग्ने विश्वास नाडाले व्यक्त गरेको छ ।
नाडाले आगामी दिनमा अटोमोबाइल क्षेत्रको दिगो विकास, नीतिगत संवाद र उद्योगमैत्री वातावरण निर्माणका लागि सम्पूर्ण सरोकारवाला निकायहरूसँगको सहकार्यलाई थप सक्रिय बनाउने प्रतिबद्धता समेत जनाएको छ ।
यसैबीच, नाडाका अध्यक्ष करण कुमार चौधरीले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न भएको बताएका छन् । आफ्नो कार्यकालभरि अटोमोबाइल क्षेत्रका चुनौती, नीतिगत बहस र संस्थागत सुधारका प्रयासहरूलाई सन्तुलित र तथ्यपरक ढंगले सार्वजनिक गरिदिएकोमा उनले आभार प्रकट गरेका छन् । चौधरीले सञ्चार क्षेत्रको रचनात्मक सहयोगकै कारण नाडाका अभियानहरूलाई जनमानस र सरकारसम्म पुर्याउन मद्दत पुगेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्तै सहकार्यको अपेक्षा राखेका छन् ।
यसअघि नाडाको अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती निर्विरोध निर्वाचित भएका थिए । नाडाको पुस २५ गते निर्वाचनको मिति तय गरिएकामा अन्तिम समयसम्म अध्यक्षमा उप्रेतीको मात्रै उम्मेदवारी परेपछि उनी नाडा अध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए । ७ जना प्रदेश सदस्य र १७ जना साधारण सदस्य पनि निर्विरोध हुने भएपछि २५ गतेको कार्यक्रम रद्द गरिएको थियो ।
उप्रेती नाडाको निवर्तमान कार्यसमितिमा महासचिव थिए ।
यसअघि उनले कोषाध्यक्षको भूमिका समेत सफलतापूर्वक निर्वाह गरिसकेका छन् । त्यसअघिका कार्यकालहरूमा पनि विभिन्न उपसमिति तथा जिम्मेवारीमा रहेर नाडाको संस्थागत विकासमा योगदान पुर्याउँदै आएका छन् ।
व्यवसायिक पृष्ठभूमिका हिसाबले उप्रेती एसटीसी ग्रुपका प्रबन्ध निर्देशक हुन् । उनी टायर, लुब्रिकेन्ट, ब्याट्रीलगायत विभिन्न अटोमोबाइल स्पेयर पार्ट्सको व्यवसायमा सक्रिय छन् । पछिल्लो समय उनले सवारीसाधन आयातको तयारीसमेत अघि बढाएको बताइएको छ, जसले नेपाली अटोमोबाइल बजारमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।
नाडाको ४९ औं वार्षिक साधारणसभा गत पौष ९ गते सम्पन्न भएको थियो । उक्त साधारणसभाले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने निर्वाचन प्रक्रिया अगाडि बढाएको थियो । उप्रेतीको निर्विरोध चयनलाई अटोमोबाइल व्यवसायीहरूले निरन्तरता, स्थायित्व र अनुभवको कदरका रूपमा लिएका छन् ।







प्रतिक्रिया