
तपाईँहरू आज भाषण सुन्ने मुडमा हुनुहुन्छ होइन ? दिऊँ कि नदिऊँ ? म काम गर्ने मान्छे हुँ, म काम गरेर देखाउँछ । मलाई काम गर्न अवसर दिनुहुन्छ ? काठमाडौं नगरवासीले अवसर दिए, काम गरेर देखाएँ । तपाईँहरू दिनुहुन्छ ?
‘राम-जानकी विवाह महोत्सव चलिरहेको बेला एउटा कुरा याद आयो, एउटा कुरा मनमा धेरै खड्कियो ।
विश्वकै सबैभन्दा प्रसिद्ध विवाह, प्रसिद्ध जोडी राम-जानकीको विवाह स्थलमा विवाह हुँदैछ, तर हामी तपाईँ सबै मधेसी मान्छेहरू, नेपाली मान्छेहरू ‘डेस्टिनेशन वेडिङ’ गर्न जयपुर जान्छौँ ।
‘डेस्टिनेशन वेडिङ’ गर्न मिथिलामा किन आउनुहुन्न तपाईँहरू? जहाँ राम-जानकीको विवाह भएको छ, त्यहाँ हामी बालीमा गएर किन ‘डेस्टिनेशन वेडिङ’ गर्छौँ? यहाँ किन हुँदैन?
सरकारको नीति-नियम किन यस्तो छ कि मिथिलालाई एउटा व्यवस्थापन, एउटा सरसफाइ, एउटा आकर्षण राम्रो किन बनाइएन? यो कुन नीति हो?
आज दुईवटा कुरा धेरै प्रष्ट भएको छ । पहिलो कुरा, मधेसमा पहिलो पटक सबै जातका मान्छे यहाँ आएका छन् । यहाँ कुनै एउटा जातको मान्छे मात्र देखिँदैन, सबै जातका मान्छे यसरी मधेसमा पहिलो पटक आएका छन् ।
दोस्रो कुरा, जनकपुर एउटा कुराका लागि धेरै प्रसिद्ध छ । आजभन्दा एक वर्षअघि जब ‘जनकपुर बोल्ट्स’ले एनपीएल कप जितेको थियो, त्यो जित्दा एउटा जात मात्र खुसी भएको थिएन, पूरा मधेस खुसी भएको थियो, पूरा नेपाल खुसी भएको थियो ।
देशको विकास ‘जनकपुर बोल्ट्स’को जस्तै किन हुनुहुँदैन ? मधेसको विकास यस्तो हुनुपर्छ कि सबै जात खुसी होऊन्, सबै जातको विकास होस्।
धेरै जनाले काठमाडौँमा पनि सोध्थे, यहाँ जनकपुरमा पनि सोध्दै थिए कि राष्ट्रिय स्वतन्त्र पार्टीको सङ्घीयता प्रतिको प्रदेश प्रतिको धारणा के छ ? म यो भन्न चाहन्छु कि प्रदेशलाई अझ बलियो बनाउनुपर्नेछ । प्रदेशको काम एउटा वडामा गएर ५० हजारको धारा जोड्ने होइन । प्रदेशको काम कम्तीमा तीन-चारवटा पालिकालाई जोड्ने हो ।
आज जनकपुरको मेयरलाई, प्रमुख प्रशासकीय अधिकृतलाई केही काम पर्यो भने काठमाडौँ किन जानुपर्ने ?
जनकपुर प्रदेशको राजधानी होइन र ? अनि काठमाडौँ किन जानुपर्ने त ? यहाँ किन हुँदैन ? त्यसैले प्रदेशलाई यति बलियो बनाउनुपर्छ कि काठमाडौँ जान नपरोस्, यहीँ व्यवस्था भइहालोस् ।
काठमाडौं अधिकार माग्न नजानुस्, घुम्न जानुस् पशुपति । काठमाडौँ घुम्न जानुस् पशुपतिनाथ, स्वयम्भूनाथ दर्शन गर्न जानुस् । अधिकार माग्न जानु नपरोस् तपाईँहरूलाई ।
आज लगभग चार वर्ष भयो काठमाडौँको मेयरका रूपमा बसेको, मान्छेले भन्छन् यसले मान्छेलाई भेट्दै भेट्दैन । त्यहीँ सधैँ, त्यहीँ सधैँ माइतीघर मण्डलामा उखु किसानको आन्दोलन हुन्छ, मिटरब्याजी पीडितको आन्दोलन हुन्छ, अनि हामी मूकदर्शक बनेर बस्छौँ हामी केही गर्न सक्दैनौँ ।
काठमाडौंको मेयरका रूपमा हामीले केही भन्न सकेनौँ, भेट्न पनि सकेनौँ । अब गरेर देखाउँछौँ । तपाईँहरू सोच्नुस्, काठमाडौँमा बसेर हामीले ३५ वटा पालिकाका लागि एम्बुलेन्स बनाउन सक्यौँ भने सङ्घीय सरकारमा गएपछि कति गरौँला ? यहाँ सबैजना समाजवादको कुरा गर्छन् मधेसमा, पूरा देशमा सबैले समाजवादको कुरा गर्छन्, लोकतन्त्रको कुरा गर्छन् । समाजवाद कहाँ छ ? काठमाडौँ महानगरपालिकाले हरेक वर्ष २० हजार विद्यार्थीलाई छात्रवृत्ति दिन्छ, निःशुल्क महँगो कलेज पढ्न, ‘फ्री भिसा फ्री टिकट’ बिना पैसाको, विदेश जानलाई होइन कलेज पढ्नलाई ।
आज महँगा-महँगा स्कुलमा, महँगा-महँगा कलेजमा वार्षिक २० हजार विद्यार्थीले निःशुल्क पढ्न पाउँछन्, त्यो समाजवाद हो समाजवाद त्यसलाई भनिन्छ ।
आज महँगा-महँगा अस्पतालमा १० प्रतिशत बेड निःशुल्क मिल्छ विपन्नलाई, त्यो समाजवाद हो ।
जुन समाजवाद काठमाडौँ महानगरपालिकामा छ, त्यही समाजवाद सातै प्रदेशमा चाहिन्छ, ७५३ वटै पालिकामा चाहिन्छ । चाहिन्छ कि चाहिँदैन ? त राम्रोसँग भन्नुस्, चाहिन्छ कि चाहिँदैन ? आज काठमाडौँमा बसेर हामीले मन्दिर जोगायौँ, पाटी-पौवा संरक्षण गर्यौँ, पोखरी संरक्षण गर्यौँ, फल्चा बनायौँ । तर आज मिथिलामा, जनकपुरमा यहाँका पोखरी, यहाँका मन्दिर यहाँका पाटी-पौवा कुरेर बसेका छन् कि कहिले कोही आउला र हाम्रो संरक्षण गरिदेला ।
त्यो कोही, त्यो ‘कहिले कोही आउला’ भन्ने राष्ट्रिय स्वतन्त्र पार्टी हो । यहाँका मन्दिरको, यहाँका पोखरीको, यहाँका भूमिको संरक्षण अब राष्ट्रिय स्वतन्त्र पार्टीले गर्छ ।
तपाईँहरू हामीलाई काम दिनुस्, हामी काम गरेर देखाउँछौँ । आज पहिलो पटक भाषण दिँदैछु । आज पहिलो पटक किन भाषण दिँदैछु भने मेरो मेयर पदबाट राजीनामा भइसक्यो, म फुर्सदमा छु । चार वर्ष त फुर्सदै थिएन, अनि भाषण कहाँबाट दिन्थेँ त ?
आज सबैजना यस मिथिलाको पावन भूमिमा आउनुभएको छ, एउटा कुरा भन्न चाहन्छु । यहाँ पूरा देशमा पर्यटक जम्मा १० लाख आउँछन्। उता अयोध्यामा वर्षमा १० करोड पर्यटक आउँछन् । जानकी माता एक्लैमा क्षमता छ कि १ करोड पर्यटक ल्याउने । तपाईँहरू सबैलाई धेरै-धेरै धन्यवाद । धेरै जिल्लाबाट आउनुभएको छ, धेरै पालिकाबाट आउनुभएको छ सबैजना । दुइटा कुरा भयो। एउटा त तपाईँ र हाम्रो मिलन भयो, अर्को जानकी माताको पूजा पनि भयो, दर्शन पनि भयो । एउटा कुरा अन्तिममा भन्न चाहन्छु, छोटोमा एउटा कुरा अन्तिममा भन्न चाहन्छु।
आज एउटा मधेसी केटो प्रधानमन्त्री बन्न आएको छ, त्यसका लागि आज एउटा मधेसी प्रधानमन्त्री बन्नेवाला छ, त्यसका लागि घन्टीमा भोट हाल्नुपर्छ । सही मान्छे आउनका लागि घन्टीमा भोट हाल्नुपर्छ। सही समय आउनका लागि घन्टीमा भोट हाल्नुपर्छ । सही सरकार आउनका लागि घन्टीमा भोट हाल्नुपर्छ। सबैलाई फेरि मनैदेखि धन्यवाद। जय जानकी माता! जय मिथिला! जय मधेस! जय देश! जय नेपाल !
(जनकपुरमा रास्वपाले आयोजना गरेको सभामा पहिलो पटक बालेन्द्र शाहले गरेको सम्बोधनको अनुवाद)








प्रतिक्रिया