जनकपुरमा म्यारिज डेस्टिनेशन: प्रदेश, संघीय सरकार र निजी क्षेत्रका योजना, काम शून्य
काठमाडौं । शुक्रबार देशभर रामजानकीको विवाहोत्सव भव्यताका साथ मनाइरहँदा सरकारले भने जनकपुरमा निर्माण गर्ने भनेको म्यारिज डेस्टिनेशन अलपत्र पारेको छ ।
प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व शुक्रबार रामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर मनाइएको छ ।
त्रेतायुगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा शुक्रबार देशभर राम–सीताको पूजा आराधना गरी यो पर्व मनाइन्छ ।
विवाहोत्सव मुख्य गरी मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा मनाउने गरिन्छ ।
जनकपुरधाम राम सीताको विवाहोत्सव भएको पवित्र तिर्थस्थल भएकाले प्रदेश सरकार, संघीय सरकार र नीजि क्षेत्रले उक्त स्थानलाई विवाह गन्तव्य (म्यारिज डिस्टिनेशन) को रुपमा विकास गरी साँस्कृतिक तथा पर्यटकीय गन्त्व्यको रुपमा विकास गर्ने घोषणा गरेका थिए ।
नेपालमा वैवाहिक समारोह आयोजना गर्न आउने पर्यटकलाई सहजीकरण गरी सांस्कृतिक तथा पर्यटकीय गन्तव्यलाई विवाह गन्तव्यको रुपमा विकास गर्न रामजानकीको विवाहस्थल जनकपुरलाई वेडिङ्ग हवको रुपमा प्रवद्र्धन गरिने सरकारले चालु आर्थिक बर्ष २०८१/८२ को बजेटमार्फत घोषणा गरेको थियो ।
चालु आर्थिक बर्षको पाँच महिना बित्न लाग्दा पनि सरकारले जनकपुरलाई वेडिङ्ग हव अर्थात म्यारिज डिस्टिनेशनको हकमा सिन्कासम्म भाँचेको छैन । घोषणा भएको बिषय बजेटको खोस्टामै सिमित बनाइएको छ ।
लगानी बोर्डले जनकपुरलाई म्यारिज डिस्टिनेशनको रुपमा विकास गर्न केहि बर्षदेखि योजना तयार गरेपनि लगानीको अभावमा उक्त योजना कार्यान्वनयमा आएको छैन ।
उता मधेश प्रदेश सरकारले पनि २०८१/८२ को नीति तथा कार्यक्रममार्फत जनकपुरलाई अन्तर्राष्ट्रिय वैवाहिक स्थल (म्यारिज डेस्टिनेशन) को रुपमा विकास गर्ने घोषणा गरेको थियो ।
नीति तथा कार्यक्रममार्फत त्रेता युगकालिन परम्परालाई संस्थागत गर्ने उद्देश्यले मिथिला नगरी जनकपुरलाई संघ, प्रदेश र स्थानीय सरकारको सहयोगमा अन्तर्राष्ट्रिय वैवाहिक स्थलको रुपमा विकास गर्ने घोषणा गरेको थियोे ।
नीजि क्षेत्रतर्फबाट म्यारिज डिस्टिनेशनकै रुपमा जनकपुरलाई विकासका गर्न सोल्टी होटल समूहले पनि साढे २ अर्बमा जानकी होटल बनाउने इच्छा देखाएपनि हालसम्म त्यो अघि बढेको छैन् ।
लगानी बोर्डले आयोजना गरेको लगानी सम्मेलनको सोकेसमा परेको यो आयोजना सम्पन्न गर्न सोल्टी समूहले आवदेन दिएका थिए ।
यो होटलसहित राम र सीताको विवाह ऐतिहासिक महत्वको स्थल बनाउने गरी उक्त होटल समूहले आवेदन दिएका थिए ।लगानी बोर्डले अढाई अर्ब रुपैयाँको लगानी लाग्ने गरी ‘दि जानकी हेरिटेज होटेल एण्ड कल्चरल भिलेज’ प्रोजेक्ट तयार पारेको छ।
राम र सीताको विवाह ऐतिहासिक महत्वको विवाह हो, त्यसैले जनकपुरमा विवाह पर्यटनको विकास गर्न यो आयोजना तयार पारिएको हो ।
विश्वभर नै विवाह पर्यटनको कारोबार बढिरहेको छ । भारतमा मात्रै प्रत्येक वर्ष १ खर्ब रुपैयाँ बराबरको विवाह पर्यटनको कारोबार हुन्छ ।
हिन्दू धर्म मान्नेहरु खासगरी भारतीयहरु राम र सीताको विवाह भएको ठाउँमा आएर विहे गर्न चाहन्छन् । जनकपुरमा विवाह गराउने स्तरीय र सुविधासम्पन्न होटेल बनाउने हो भने भारतीयहरुको ठूलो आकर्षण हुने बताइएको छ ।
नेपालको धर्म संस्कृतिलाई ब्राण्डिङ गर्दै पर्यटकलाई आकर्षित गर्नका लागि यस्तो आयोजनाको परिकल्पना गरिएको हो । आदिम युगमा भवगान राम र राजा जनककी छोरी सीताबीच जनकपुरको जानकी मन्दिर भएको ठाउँमा विवाह भएको धार्मिक मान्यता छ ।
त्यसैले जनकपुरलाई हिन्दु धर्मावलम्बीहरुले विवाहका लागि पवित्रस्थलको रुपमा लिने गरेका छन् । जनकपुरधाम र जानकी मन्दिर नेपालको महत्वपूर्ण सांस्कृतिक पर्यटकीय क्षेत्र पनि हो ।
नेपालमा हालसम्म साँस्कृति महत्व झल्किने म्यारिज डिस्टिनेशन पर्यटकीय गन्तव्य (गन्तव्य विवाह पर्यटन) क्षेत्र छैन ।
‘म्यारिज डिस्टिनेशन’ पर्यटकीय गन्तव्य क्षेत्रको माध्यमबाट स्वदेशी तथा विदेशी पाहुनाहरु भित्र्याएर उक्त स्थानमा मौलिक परम्परागत साँस्कृतिक धरोहरहरुको अनुभूति गराउनुका साथै कलात्मक वैवाहिक समारोहको सुविधासमेत उपलब्ध गराउने उद्देश्यले लगानी बोर्डले यो आयोजना तयार पारेको थियो ।
गत बैशाख १६ र १७ गते काठमाडौंमा सम्पन्न तेश्रो लगानी सम्मेलनमा यो आयोजना राखिएपनि यो आयोजनाप्रति कसैले पनि चासो देखाउन तयार भएनन् ।
जनकपुरलाई विश्वभर रामजानकीको पवित्र ऐतिहासिक धार्मिक पर्यटनकीय क्षेत्रको रुपमा हेरिन्छ । । जनकपुर तिर्थाटनका लागि पनि प्रसिद्ध छ ।
पर्यटन व्यवसायी शशिकान्त अग्रवालले जनकपुरलाई पर्यटनसँग जोडेर म्यारिज डेस्टिनेशनको रुपमा विकास गर्न आवश्यक भइसकेको जानकारी दिए । थाइल्याण्डजस्ता मुलुकले बर्षेनी म्यारिज डेस्टिनेशनमार्फत बार्षिक रुपमा २ खर्बभन्दा बढी आम्दानी गरिरहेको उनले बताए ।
‘जनकपुर र भारतबीच मिल्दो जुल्दो संस्कृति, कला, धर्म, वैवाहिक परम्परा, खानपान, भेषभुषा भएकाले यहाँ म्यारिज डेस्टिनेशनको रुपमा विकास गर्दा पर्यटन क्षेत्रको विस्तार पनि हुने र म्यारिज डेस्टिनेशन पनि हुने भएपछि योभन्दा बढी के चाहियो ?’ अग्रवालले भने, ‘हामीले यो बिषयमा धेरै पहिलेदेखि लविङ्ग पनि गर्दैआएकै हो ।’
तर यसका लागि सरकारले केही बिषयमा सुधार गर्नुपर्ने उनले जानकारी दिए । अन्य मुलुकको तुलनामा नेपालमा हवाई भाडादर निक्कै महँगो रहेको उनले बताए । हवाई भाडा दर सस्तो बनाउनुपर्ने सुझाव दिँदै उनले भने, ‘यो बाहेक एउटा गम्भीर बिषयमा पनि सरकारले ध्यान दिन आवश्यक छ । त्यो के हो भने म्यारिज डेस्टिनेशनमा सहभागी हुन अधिकांश भारतीय आउँछन् । पैसा पनि उनीहरुको अत्यधिक खर्च हुन्छ । ३–४ दिनको वेडिङ सेरेमनी हुन्छ, ३–४ करोड खर्च हुन्छ । तर उनीहरु यस्ता कार्यक्रममा सहभागी हुन आउँदा निक्कै समस्या झेल्नुपरिरहेको छ ।’
उनका अनुसार विवाहोत्सवमा सहभागी हुन आउँदा भारतीयहरु टन्नै गहना लगाएरै आउँछन् । भारतीयहरुले गहनामा लगानी गर्नुभनेको विवाह ब्रतबन्धमा लगाएर देखाउनु हो ।
‘आफ्नो आर्थिक अवस्था झल्काउनु पनि हो । त्यो संस्कृति पनि हो । अहिले कस्तो समस्या देखापरेको छ भने गहना लगाएर आउँदा नाकामै सुरक्षाकर्मीले त्यो गहना त्यहि खोलाएर पठाउने समस्या देखापरेको छ । यो समस्याले गर्दा भारतीयहरु नेपालमा वेडिङ सेरेमनीमा सहभागी हुन आउन अहिले हच्किरहेका छन्,’ उनले भने,‘अहिले सरकारले जनकपुरलाई वेडिङ हबको रुपमा विकास गर्ने घोषणा गरेको छ । घोषणाकै लागि घोषणा गरिएको छ भने मेरो भन्नु केहि छैन । बास्तबमै विकास गर्ने हो भने यस्ता संवेदनशिल बिषयलाई नीतिगत रुपमै समाधान गरेपछि भारतीयहरु सहज रुपमा वेडिङ सेरेमनी पर्यटकको रुपमा नेपाल आउँछन् ।’
म्यारिज डिस्टिनेशन बनाउन यस्तो छ योजना
बोर्डले ३.३ हेक्टर जग्गामा भौतिक पूर्वाधार निर्माण हुने योजना तयार पारिएको छ । निर्माण हुने द जानकि हेरिटेज होटेल एन्ड कल्चर भिलेजमा परम्परागत वास्तुकला तथा संस्कृतिमा आधारित अत्याधुनिक विवाह स्थलहरु निर्माण गरिनेछ ।
यसमा लक्जरी होटल, पम्परागत स्थानीय सम्पदा र सांस्कृतिक महत्वका धरोहरसहितको गाउँको झलक दिने संग्रहालयका साथै आरामदायी र विलासी आवासको समेत व्यवस्था हुनेछ । १५० वटा हेरिटेज रुमको व्यवस्था गरिनेछ । यसमा मनोरञ्जन सुविधा, अतिथिलाई भोज खुवाउन छुट्टै भोज हल, पार्किङ सुविधा, साँस्कृतिक गाउँ र जातीय संग्रहालयसमेत रहने व्यवस्था गरिएको छ।
साथै संसारभर प्रसिद्ध मानिएका विभिन्न स्वादका खाना, खाजाका साथै स्थानीय परम्परागत र संस्कृति बोकेको खाना समेत उपलब्ध हुने योजनामा उल्लेख गरिएको छ ।
पाँच तारे होटेलले उपलब्ध गराउने विभिन्न सुविधाहरु स्पा, स्वीमिङ पुल, शपिङ सेन्टर, परम्परागत, सांस्कृतिक र आधुनिक नृत्य तथा संगितको व्यवस्था हुने योजनामा उल्लेख छ । यसका साथै रोमाँचक यात्रा र स्थानिय धार्मिक स्थलहरुको प्रत्यक्ष रुपमा अवलोकन गराउने व्यवस्था पनि यो योजनामा समावेश गरिएको छ ।
जनकपुर विमानस्थलबाट १.६ किलोमिटर दूरीमा रहने यो हेरिटेज भिलेज पब्लिक प्राइभेट पार्टनरशिप (पीपीपी) मोडेलमा निर्माण हुने लगानी बोर्डले अवधारणा पत्र तयार गरेको छ ।
यो योजनाको सन् २०२३ मा सम्भाव्यता अध्ययनसमेत भइसकेको छ । यो योजनाको लागि सरोकारवाला निकायको रुपमा बोर्ड, मधेश प्रदेश तथा जनकपुर उपमहानगरपालिकालाई तोकिएको छ।