
एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले नर्वेका प्रधानमन्त्रीलाई पत्र पठाउँदै डेनमार्कको स्वायत्त क्षेत्र ग्रीनल्यान्ड प्राप्त गर्ने आफ्नो प्रयासलाई बाधा गरेमा युद्ध हुन सक्ने संकेत गरेका छन् ।
पीबीएसका पत्रकार निक शिफ्रिनले आइतबार ढिलो गरी सार्वजनिक गरेको अमेरिकी राष्ट्रपतिबाट नर्वेका नेता जोनास गाहर स्टोरलाई पठाइएको पत्रमा ट्रम्पले आठभन्दा बढी युद्धहरू रोकेको भए पनि बावजुद गत वर्षको नोबेल शान्ति पुरस्कार नपाएपछि आफूले अब पूर्ण रूपमा शान्तिको बारेमा मात्र सोच्ने बाध्यता महसुस नगरेको बताए । शान्तिलाई प्राथमिकता दिए पनि अमेरिकाको लागि के राम्रो र उचित हुन्छ भन्ने बारे सोच्ने उनले चेतावनी दिए ।
ट्रम्पले विगतमा नर्वेमा रहेको नोबेल समितिले दिने यस सम्मानलाई सोही राष्ट्र र त्यसको सरकारसँग जोडेर हेर्ने गरेका छन् । आफूलाई शान्ति पुरस्कार नदिइएको बारे यस महिनाको सुरुमा फक्स न्युजका सिन ह्यानिटीसँग कुरा गर्दै ट्रम्पले बताए, ‘यो नर्वे देशका लागि निकै ठूलो अपमानको विषय हो । यसमा उनीहरूको संलग्नता होस् वा नहोस् । मलाई लाग्छ, उनीहरूको संलग्नता छ । उनीहरू भने छैन भन्छन् ।’
स्टोरलाई लेखिएको ट्रम्पको पत्रमा अब उप्रान्त पूर्ण रूपमा शान्तिको मात्र नसोच्ने भनी दिइएको चेतावनीलाई ग्रीनल्यान्ड कब्जा गर्ने अभियानसँग जोडिएको छ ।
‘डेनमार्कले रुस वा चीनबाट त्यो भूमिको रक्षा गर्न सक्दैन भने उनीहरूसँग यसको स्वामित्वको अधिकार छ त ?’ उनले भने, ‘त्यहाँ कुनै लिखित कागजात छैनन् । केवल सयौं वर्षअघि त्यहाँ एउटा डुंगा पुगेको थियो । तर, हाम्रा डुंगाहरू पनि त्यहाँ अवतरण गरेका थिए । मैले नेटोको स्थापनादेखि अन्य कुनै पनि व्यक्तिले भन्दा बढी काम गरेको छु र अब नेटोले अमेरिकाको लागि केही गर्नुपर्छ । हामीसँग ग्रीनल्यान्डको पूर्ण र समग्र नियन्त्रण नभएसम्म विश्व सुरक्षित छैन ।’
शिफ्रिनको एक्स पोस्टका अनुसार, राष्ट्रिय सुरक्षा परिषद्ले पनि यो पत्र वाशिङटनस्थित युरोपेली राजदूतहरूलाई पठाएको बताइएको छ ।
स्टोरले नर्वेली समाचार संस्था भिजीलाई आफूले पत्र प्राप्त गरेको पुष्टि गरेका छन् । ट्रम्पको टिप्पणी आफू र फिनल्यान्डका राष्ट्रपति अलेक्जेन्डर स्टबले आफ्ना अमेरिकी समकक्षीसँग कुराकानी गर्न खोजेको अघिल्लो सन्देशको प्रतिक्रिया भएको बताए ।
स्टोरलाई ट्रम्पको सन्देश त्यस्तो समयमा आएको छ जब उनले ग्रीनल्यान्ड आफूलाई हस्तान्तरण गर्न उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) रक्षा गठबन्धनका अन्य सदस्य राष्ट्रहरूमाथि दबाब बढाएका छन् ।
शनिबार ट्रम्पले ट्रुथ सोसलमा घोषणा गर्दै फेब्रुअरी १ देखि ग्रीनल्यान्डमा सेना पठाएकोमा नर्वे र डेनमार्क लगायत नेटोका केही सदस्य राष्ट्रहरूमा १० प्रतिशत भन्सार शुल्क लगाउँदैछन् । ‘ग्रीनल्यान्डको पूर्ण र समग्र खरिदका लागि सम्झौता नभएसम्म त्यो भन्सार शुल्क कायम रहनेछ र जुन महिनासम्ममा २५ प्रतिशतसम्म पुग्नेछ,’ उनले भने ।
नेटो देशहरूले ग्रीनल्यान्ड कब्जा गर्ने ट्रम्पको योजनाको कडा विरोध गरेका छन् र डेनमार्कको क्षेत्र हस्तान्तरण गर्न भन्सार शुल्कमार्फत आफ्ना सहयोगीहरूलाई दबाब दिने अमेरिकी राष्ट्रपतिको प्रयासको आलोचना गरेका छन् । त्यसलाई जर्मनी, नेदरल्यान्ड्स र स्विडनका नेताहरूले ब्ल्याकमेलको संज्ञा दिएका छन् ।








प्रतिक्रिया