नाफिजद्वारा २७४ जना आर्थिक पत्रकारको दुर्घटना बीमा, प्रतिव्यक्ति ७ लाखसम्म बेहोर्ने


काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आफ्ना २७४ जना सदस्यको दुर्घटना बीमा गराएको छ । नाफिजले गत साधारणसभामा कायम रहेका आफ्ना सदस्य, सल्लाहकार तथा कर्मचारीको ‘सामूहिक दुर्घटना बीमा’ गराएको हो ।

नाफिजले गतवर्ष २०८१ पुस २४ गते सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) र सिद्धार्थ प्रिमियर इन्स्यारेन्ससँगको सहकार्यमा आफ्ना २३५ जना सदस्यको सामूहिक दुर्घटना बीमा गराएको थियो । यो बर्ष उक्त बीमालेख नविकरण गर्दै २७४ जनाको बीमा गरिएको हो । यसमा गत भदौमा थप भएका नाफिजका नयाँ सदस्य पनि समावेश छन् । बीमालेख आगामी पुस ३० गते अर्थात् बुधबारदेखि लागू हुनेछ ।

यसमा कुल बीमांक रकम १९ करोड १८ लाख रूपैयाँ रहेका छ । बीमालेखअनुसार प्रतिव्यक्ति सात लाख रूपैयाँको दरले दुर्घटना बीमा भएको छ ।

बीमामा समेटीएका बीमित सदस्यहरु कुनै कारणबंश घाइत भएमा बीमाले औषधी उपचार खर्च बेहोर्नेछ । यस्तै, दुर्घटनाको कारणबाट भएको मृत्यु, पार्थिव शरिर व्यस्थापना तथा किरिया खर्च, काज किरिया खर्च, स्थायी पुर्ण अशक्तता, स्थायी आंशिक अशक्तता र अस्थायी पुर्ण अशक्ततालाई पनि बीमलेखले रक्षावरण गर्नेछ ।