एक वर्षमा १०१ कम्पनी धितोपत्र बोर्डको कारबाहीमा, कुन कुन परे ? (सूचिसहित)

तीन वर्षमा ७३ लाख असुल

574
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले एकै आर्थिक वर्षमा नियामकीय प्रावधान नमान्ने सयभन्दा बढी कम्पनीलाई कारबाही गरेको छ । पुँजी बजारको नियामकको रुपमा रहेका धितोपत्र बोर्डले गत आर्थिक वर्ष २०८१/८२ मा नियामकिय व्यवस्था अटेर गर्ने १०१ कम्पनीलाई कारबाहीको डन्डा चलाएको हो ।

धितोपत्र बोर्डले आर्थिक वर्ष २०८१/८२ मा दुई धितोपत्र दलाल व्यवसायी, एक मर्चेन्ट बैंकर, एक हाइड्रापावर कम्पनी, एक बिमा कम्पनी र ९६ सूचीकृत संस्थासहित कुल १०१ कम्पनीलाई कारबाही गरेको छ । बोर्डले दुई धितोपत्र दलाललाई पाँच/पाँच हजार, १६ सूचीृकत संगठित संस्थालाई एक/एक लाख रुपैयाँ, ६९ कम्पनीलाई ५०/५० हजार रुपैयाँका दरले आर्थिक जरिवाना गरेको छ ।

गत वर्ष मात्रै उक्त संख्याका कम्पनीबाट बोर्डले कुल ५० लाख ६० हजार रुपैयाँ आर्थिक जरिवाना गरेको छ । केही कम्पनीलाई लिखित चेतावनी र केहीलाई निर्देशनसमेत दिएको बोर्डले अधिकांश कम्पनीलाई भने आर्थिक जरिवाना गरेको छ ।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा धितोपत्र बोर्डले एक रेटिङ कम्पनी, दुई धितोपत्र दलाल व्यवसायी र एक क्यापिटल एडभइजरीलाई कारबाही गरेको थियो । उक्त कारबाहीबाट बोर्डले ११ लाख ५० हजार रुपैयाँ आर्थिक जरिवाना गरेको थियो । यसभन्दा अघि बोर्डले आर्थिक वर्ष २०७९/८० मा तीन कम्पनी र एक व्यक्तिलाई कारबाही गरेको थियो । उक्त तीन कम्पनी र एक व्यक्तिलाई गरी बोर्डले कुल १० लाख ९५ हजार रुपैयाँ आर्थिक जरिवाना गराएको थियो ।

बोर्डले समयमा वित्तीय विवरण नबुझाउने, सेयर बाँडफाँडमा पारदर्शिता नदेखाउने, सम्पत्ति शुद्धीकरणसम्बन्धी निर्देशन पालना नगर्ने जस्ता कम्पनीहरुलाई निगरानी गर्दै नियामकिय प्रावधानअनुरुप कारबाही गरेको हो । पछिल्लो तीन आर्थिक वर्षमा मात्रै बोर्डले १०९ कम्पनी तथा व्यक्तिमाथिको नियामकिय कारबाहीमार्फत् कुल ७३ लाख ५ हजार रुपैयाँ जरिवाना गरेको देखिन्छ ।

चालु आर्थिक वर्ष २०८२/८३ मा पनि धितोपत्र बोर्डले एक व्यक्तिमाथि कारबाही गरिसकेको छ । सर्वोच्च अदालतले उच्च अदालत पाटनको फैसला उल्ट्याउँदै नेपाल धितोपत्र बोर्डको २०७४ पुस २१ को निर्णय सदर गरेको थियो । सो निर्णयअनुसार श्रीहरी सेक्यूरिटिजका तत्कालीन कार्यकारी प्रमुख सन्दीप जलानबाट ५० हजार जरिवाना असूल गरी फैसला कार्यान्वयन गर्ने कार्य बोर्डले गरिसकेको छ ।

आर्थिक वर्ष २०८१/८२ मा कारबाहीमा परेका संस्था

धितोपत्र दलाल व्यवसायी: नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०८१/८२ एप्पल सेक्युरिटिज प्रालिलाई आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण भएको वित्तीय विवरण तथा आर्थिक विवरण बोर्डमा पेस नगरेको भन्दै जरिवाना गरेको थियो । एप्पल सेक्युरिटिज प्रालिलाई प्रथम पटकको लागि ५ हजार रुपैयाँ आर्थिक जरिवाना गरेको थियो ।

यस्तै, यसै वर्ष बोर्डले बेनी सेक्युरिटिज प्रालिलाई तोकिएको समयभित्र आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण भएको वित्तीय विवरण तथा आर्थिक विवरण बोर्डमा पेस नगरेको भन्दै ५ हजार रुपैयाँ आर्थिक जरिवाना गरिएको थियो ।

धितोपत्र दलाल व्यवसायी (मर्चेन्ट बैंकर): आर्थिक वर्ष २०८१/८२ मा नै बोर्डले नेपाल एसविआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई पनि कारबाही गरेको थियो । क्यापिटलको निष्काशन तथा बिक्री प्रबन्धकमा निष्काशित सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको सर्वसाधारण सेयरको कर्मचारीहरुलाई छुट्याएको सेयर बाँडफाँडको क्रममा धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिकाबमोजिम विस्तृत विवरण बोर्डमा पेस नगरेको भन्दै कम्पनीले चेतावनी दिएको थियो ।

ऐन अन्र्तगत बनेका नियम, विनियम, निर्देशन तथा निर्देशिका तथा बोर्डले जारी गरेको आदेश वा निर्देशनको पूर्ण पालना गर्न बोर्डले चेतावनी दिइएको थियो ।

बिमा कम्पनी: यसै वर्ष बोर्डले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र सञ्चालक समितिलाई पनि कारबाही गरेको थियो । कम्पनीले कर्मचारीहरुलाई छुट्याएको सेयर निष्पक्ष तथा पारदर्शी तरिकाले वितरण नगरेको भन्ने गुनासो दर्ता भएपछि प्रारम्भिक जाँचबुझको प्रतिवेदनमा देखिएका सुझावहरुको आधारमा बोर्डले २०८१ साउन १४ को निर्णयानुसार उक्त निष्काशनकर्ता कम्पनीको संचालक समितिलाई कारबाही गरेको थियो ।

आर्थिक वर्ष २०८१/८२ मा दुई धितोपत्र दलाल व्यवसायी, एक मर्चेन्ट बैंकर, एक हाइड्रापावर कम्पनी, एक बिमा कम्पनी र ९६ सूचीकृत संस्थासहित कुल १०१ कम्पनीलाई कारबाही गरेको छ । बोर्डले दुई धितोपत्र दलाललाई पाँच/पाँच हजार, १६ सूचीृकत संगठित संस्थालाई एक/एक लाख रुपैयाँ, ६९ कम्पनीलाई ५०/५० हजार रुपैयाँका दरले आर्थिक जरिवाना गरेको छ ।

जसमा धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम धितोपत्र निष्काशन तथा बाँडफाँड निष्पक्ष तथा पारदर्शी रुपमा गर्नुपर्नेमा सो गरेको नदेखिएको भन्दै बोर्डले निर्देशन दिएको थियो । कर्मचारीको लागि छुट्याएको सेयर औचित्यपूर्ण, निष्पक्ष तथा पारदर्शी रुपमा पुनः बाँडफाँड गर्न बोर्डले कम्पनीलाई निर्देशन दिएको थियो ।

सूचीकृत संगठित संस्था: आर्थिक वर्ष २०८१/८२ मा बोर्डले एकसाथ १६ सूचीृकत संगठित संस्थालाई एक लाख रुपैयाँका दरले जरिवाना गरेको थियो । बोर्डले २०८१ साउन १४ गते निर्णय गरेर हिमाल दोलखा हाइड्रोपावर, शिव श्री हाइड्रोपावर, कुथेली बुखरी हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक, बेस्ट फाइनान्स कम्पनी र दिव्येश्वरी हाइड्रोपावरलाई एक लाख रुपैयाँ नगद जरिवाता गरेको थियो ।

साथै बोर्डले इस्टर्न हाइड्रोपावर, माउन्टेन हाइड्रो नेपाल, पञ्चकन्या माई हाइड्रोपावर, रावा इनर्जी डेभलपमेन्ट, धौलागिरी लघुवित्त वित्तीय संस्थ, समाज लघुवित्त वित्तीय संस्था, श्रृजनशील लघुवित्त वित्तीय संस्था, नेपाल पुनर्बीमा कम्पनी र विशाल बजार कम्पनीलाई पनि सोही दिन निर्णय गरेर एक लाखका दरले जरिवाना गराएको थियो । बोर्डले धितोपत्र निष्कासन नियमावलीअनुसार आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासिक वित्तीय विवरण बोर्डमा नबुझाएको भन्दै १ लाखका दरले जरिवाना गरेको थियो ।

आर्थिक वर्ष २०८१/८२ मा नै बोर्डले धितोपत्र दर्ता तथा निष्काशन नियमावली बमोजिम २०७९/८० को चौथो त्रैमासिक विवरण बोर्डमा म्याद थपका लागि निवेदन नदिई ढिला गरी पेस गरेको भन्दै एकसाथ ६९ कम्पनीलाई २०८१ साउन १४ गते नै निर्णय गरेर ५० हजारका दरमा जरिवाना गरेको थियो ।

यस समयमा बोर्डले गरिमा विकास बैंक, बिपिडब्लु लघुवित्त वित्तीय संस्था, कर्णाली डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, कालिञ्चोक दर्शन, ओरिएन्टल होटल्स, सोल्टी होटल, अपि पावर कम्पनी, एशियन हाइड्रोपावर, बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट, बुद्धभूमि नेपाल हाइड्रोपावर, दोर्दी खोला जलविद्युत कम्पनीलाई ५० हजारका दरमा कारबाही गरेको थियो ।

बोर्डले ग्रीन भेन्चर, ग्रीनलाइफ हाइड्रोपावर, इङवा हाइड्रोपावर, कालिका पावर, मोदी इनर्जी, पाँचथर पावर, पीपुल्स हाइड्रोपावर, पीपुल्स पावर, राधी विद्युत कम्पनी, राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन, रिभर फल्स पावर, सामलिंग पावर कम्पनी, शुभम पावर कम्पनी, सिक्लेस हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर र युनाइटेड इदी मर्दी एण्ड आरबी हाइड्रोपावर लगायत ६९ कम्पनीलाई पनि सोही किसिमको कारबाही गरेको थियो ।

यसै आर्थिक वर्षमा बोर्डले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन व्यवस्थाको परिपालना नगरेको भन्दै २०८२ वैशाख २५ मा निर्णय गरेर ११ संस्थालाई लिखित रुपमा सचेत गराईएको थियो । बोर्डले ब्लुचिप सेक्यूरिटिज, प्रोपर्टि विजार्ड, स्टक्स्कार्टस् सेक्यूरिटिज, सुमेरु सेक्यूरिटिज र रोड्शो सेक्यूरिटिजलाई यस्तो लिखित चेतावनी दिएको थियो ।

यस्तै, सगरमाथा सेक्यूरिटिज, इन्फिनिटी सेक्यूरिटिज, म्याग्नेट सेक्यूरिटिज एण्ड इन्भेष्टमेण्ट कम्पनी, एलिट मर्चेन्ट क्यापिटल, रिलायबल इन्भेष्टमेण्ट एण्ड मर्चेण्ट क्यापिटल र रिलायबल भेन्चर क्यापिटल पनि बोर्डको लिखिच सचेत कारबाहीका परेका थिए।

बोर्डले आर्थिक वर्ष २०८१/८२ मा अपर तामाकोशी हाइड्रोपावरलाई पनि कारबाही गरेको थियो । कम्पनीले कानून बमोजिम सञ्चालक र सूचीकृत संगठित संस्थाहरुको संस्थागत सुशासन सम्बन्धी निर्देशिका बमोजिम स्वतन्त्र सञ्चालक नियुक्त गरेको नदेखिएको भन्दै कारबाही गरेको थियो । बोर्डले प्रचलित कानून तथा उक्त कम्पनीको नियमावलीमा भएको व्यवस्था बमोजिम सञ्चालक (स्वतन्त्र सञ्चालक समेत) नियुक्त गर्न आदेश जारी गरेको थियो ।

आर्थिक वर्ष २०८०/८१ मा कारबाहीमा परेका संस्था

क्रेडिट रेटिङ कम्पनीलाई गरिएको कारबारही: धितोपत्र बोर्डले २०८० असोज ४ गते केयर रेटिङ्गस् नेपाललाई क्रेडिट रेटिङ्ग नियमावलीको व्यवस्था विपरित मुख्य सेयरधनी सम्बद्ध कम्पनीहरुको रेडिङ्ग गरेको भन्दै आर्थिक जरिवाना गरेको थियो । बोर्डले धितोपत्र ऐन बमोजिम ५० हजार रुपैयाँ जरिवान गरेको थियो ।

धितोपत्र व्यवसायीलाई गरिएको कारबाही: आर्थिक वर्ष २०८०/८१ मा नै धितोपत्र बोर्डले कृष्ण सेक्यूरिटिज लिमिटेडलाई धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावलीको व्यवस्था उल्लंघन गरेको भन्दै कारबाही गरेको थियो । बोर्डले २०८० साउन ११ गते कृष्ण सेक्यूरिटिज कानुन विपरित सेयर हस्तान्तरण गराएको भन्दै ५० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको थियो ।

यसै आर्थिक वर्षमा बोर्डले २०८० साउन ३२ गते त्रिशक्ति सेक्युरिटिज पब्लिक लिमिटेडलाई धितोपत्र व्यवसायी नियमावलीको व्यवस्था उल्लंघन सेयर कारोबार गराएको भन्दै कारबाही गरेको थियो । बोर्डले धितोपत्र सम्बन्धी ऐनमा भएको व्यवस्था बमोजिम ५० हजार रुपैयाँ जरिवाना गराएको थियो ।

आर्थिक वर्ष २०८०/८१ मा धितोपत्र बोर्डले एक रेटिङ कम्पनी, दुई धितोपत्र दलाल व्यवसायी र एक क्यापिटल एडभइजरीलाई कारबाही गरेको थियो । उक्त कारबाहीबाट बोर्डले ११ लाख ५० हजार रुपैयाँ आर्थिक जरिवाना गरेको थियो ।

क्यापिटल एण्ड एडभाइजरीलाई १० लाख जरिवाना: धितोपत्र बोर्डले आर्थिक वर्ष २०८०/८१ मा नै क्यापिटल एण्ड एडभाइजरी नेपाल लिमिटेड सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन परिपालना नगरेको भन्दै कारबाही गरेको थियो । बोर्डले २०८० साउन ११ गते निर्णय गरेर सम्पत्ति शुद्धिकरण ऐन बमोजिम १० लाख रुपैयाँ जरिवाना गरेको थियो ।

आर्थिक वर्ष २०७९/८० मा कारबाहीमा परेका संस्था

धितोपत्र बोर्डले २०७९ चैत १४ गते निर्णय गरेर नागरिक लगानी कोषलाई कारबाही गरेको थियो । बोर्डले धितोपत्र सम्बन्धी ऐन बमोजिम आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन तोकिएको समयभित्र पेस नगरेको तथा म्याद थपको लागि निवेदन समेत बोर्डमा ढिला गरि पेस गरेको भन्दै १० हजार रुपैयाँ जरिवाना गरेको थियो ।

यस्तै, बोर्डले २०७९ चैत १४ मा नै निर्णय गरेर नविल इन्भेष्टमेन्ट बैंकिङ कम्पनीलाई धितोपत्र सम्बन्धी ऐन बमोजिम आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन तोकिएको समयभित्र पेस नगरेको तथा म्याद थपको लागि निवेदन समेत पेस नगरि तीन दिन ढिला गरि वार्षिक प्रतिवेदन पेस गरेको भन्दै १० हजार रुपैयाँ जरिवाना गरेको थियो ।

बोर्डले आर्थिक वर्ष २०७९/८० मा तीन कम्पनी र एक व्यक्तिलाई कारबाही गरेको थियो । उक्त तीन कम्पनी र एक व्यक्तिलाई गरी बोर्डले कुल १० लाख ९५ हजार रुपैयाँ आर्थिक जरिवाना गराएको थियो ।

बोर्डले आर्थिक वर्ष २०७९/८० मा नै मार्केट सेक्यूरिटिज एक्सचेञ्ज प्रालिलाई आर्थिक जरिवाना गराएको थियो । बोर्डले २०८० जेठ ४ गते मार्केट सेक्यूरिटिज एक्सचेञ्ज प्रालिलाई सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन बमोजिम सूचक संस्थालाईलाई १० लाख रुपैयाँ जरिवाना गरेको थियो ।

यसै वर्ष धितोपत्र बोर्डले रिडी पावर कम्पनीका तत्कालिन अध्यक्ष गुरु प्रसाद न्यौपानेलाई पनि ७५ हजार रुपैयाँ जरिवाना गरेको थियो । बोर्डले धितोपत्र दर्ता तथा निष्काशन नियमावलीमा भएको व्यवस्थाको उल्लंघन कम्पनीको सेयर कारोबार धितोपत्र बजारमा गरेको देखिएको भन्दै बोर्डले ७५ हजार रुपैयाँ जरिवाना गरेको थियो ।