
एजेन्सी । इरानमा जारी विरोध प्रदर्शन चर्किंदै जाँदा अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले शुक्रबार देशका ८६ वर्षीय सर्वोच्च नेता आयतोल्लाह अली खमेनी पलायन हुने सोच बनाइरहेको हुन सक्ने संकेत गरेका छन् ।
फक्स न्युजका सिन ह्यानिटीसँगको अन्तर्वार्तामा ट्रम्पलाई खमेनी रुस जान लागेको भन्ने रिपोर्टहरूबारे उनी जानकार छन् कि छैनन् भनेर सोधिएको थियो । जवाफमा ट्रम्पले भने, ‘उनी कतै जाने सोचमा छन्, अवस्था धेरै खराब हुँदै गइरहेको छ ।’
त्यहाँ प्रदर्शन गरिरहेका मानिस घाइते भएमा अमेरिकाले इरानी अधिकारीहरूलाई धेरै कडा प्रहार गर्ने ट्रम्पले बताए ।
मानिसहरूलाई गोली हानी मारिएको, थुनिएको, झुण्ड्याइएको र हत्या गरिएको संकेत गर्दै ट्रम्पले भने, ‘हामी उनीहरूलाई कडा प्रहार गर्नेछौं । हामी त्यसका लागि तयार छौं । उनीहरूले त्यसो गरे भने हामी उनीहरूलाई कडा प्रहार गर्नेछौं ।’
ट्रम्पको यो भनाइ उनका सहयोगी र अमेरिकी सिनेटर लिन्डसे ग्राहमको अघिल्लो चेतावनीपछि आएको हो । त्यसमा उनले इरानमा प्रदर्शनकारीहरूलाई मार्ने वा हानि पुर्याउने काम जारी रहेमा राष्ट्रपतिले आयतोल्लाह खामेनीलाई मार्ने बताएका थिए ।
‘इरानका जनताका लागि हामी आज राति तपाईंहरूको साथमा छौं… तपाईंहरूले आफ्नो देश आयतोल्लाहबाट फिर्ता लिनुहुनेछ भन्नेमा हामी साथ दिन्छौं । उनी धार्मिक नाजी हुन् जसले तपाईंहरूलाई मार्छन् र संसारलाई आतंकित पार्छन्,’ ग्राहमले फक्स न्युजका होस्ट सिन ह्यानिटीसँगको अघिल्लो अन्तर्वार्तामा भने ।
उनले थपे, ‘आयतोल्लाहका लागि तपाईँले यो बुझ्न जरुरी छ कि तपाईंले राम्रो जीवनको माग गरिरहेका आफ्ना जनतालाई मारिरहनुभयो भने डोनाल्ड जे ट्रम्पले तपाईंलाई मार्नेछ ।’
रिपोर्टहरूका अनुसार, इरानका निर्वासित राजकुमार रेजा पहलवीको आह्वानले बिहीबार इरानमा अझ ठूलो विरोध प्रदर्शनको रूप लियो । त्यहाँ मानिसहरू घर बाहिर निस्किए, भवन र मूर्तिहरूमा आगो लगाए र खमेनी नेतृत्वको इरानी शासनविरुद्ध नाराबाजी गरे ।
पहलवीले इरानी नागरिकहरूलाई समर्थन गर्दै त्यहाँको शासनको आलोचना गरेकोमा ट्रम्पलाई धन्यवाद दिएका थिए र इरानी जनताका लागि सञ्चार पुनःस्थापना गर्न उपलब्ध सबै प्राविधिक, आर्थिक र कूटनीतिक स्रोतहरूको प्रयोग गर्न आह्वान गरेका थिए ताकि उनीहरूको आवाज र इच्छा सुन्न र देख्न सकियोस् ।
डिसेम्बर २८ मा देशमा विरोध प्रदर्शन सुरु भएदेखि कम्तीमा ४२ जनाको मृत्यु भइसकेको छ । यो अहिले इरानको राजधानी तेहरानसहित धेरै शहरहरूमा फैलिएको छ । जारी प्रदर्शनलाई दबाउन इरानले इन्टरनेट र फोन पहुँचमा पनि प्रतिबन्ध लगाएको छ ।
डिसेम्बर २०२५ मा मुद्रास्फीति आधिकारिक रूपमा ४२.५ प्रतिशत पुगेपछि र जीवनयापन खर्चको संकट चर्किंदै गएपछि इरानका जनताले देशको खस्किँदो अर्थतन्त्रको विरोध गरिरहेका छन् । तर, इरानी सरकारी टेलिभिजनले यी प्रदर्शनहरूलाई अमेरिका र इजरायलका आतंकवादी एजेन्टहरूको उपज भनेको छ ।








प्रतिक्रिया