मंसिरको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति १.६३ प्रतिशत

0
Shares


काठमाडौं । खाद्य तथा पेय पदार्थ समुहको मुद्रास्फीति नेगेटीभ हुँदा कात्तिकमा करिब १ प्रतिशतको नजिक आएको मुद्रास्फीति मंसिरमा केही बढेको छ । मंसिरमा पनि खाद्य तथा पेय पदार्थ समुहको मुद्रास्फीति नेगेटीभ नै भएपनि केही घटेको छ । २०८२ मंसिरमा वार्षिक बिन्दुगत मुद्रास्फीति १.६३ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

कात्तिकमा वार्षिक बिनदुगत उपभोक्ता मुद्रास्फीति १.११ प्रतिशतमा झरेको थियो । गत आर्थिक वर्ष २०८१/८२ को मंसिरमा ६.०५ प्रतिशत रहेको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति चालु आर्थिक वर्षमा लगातार न्युन रहेको छ । मंसिरमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.०५ प्रतिशतले ऋणात्मक रहेको राष्ट्र बैंकले जनाएको छ । कात्तिकमा ३.३२ प्रतिशतले ऋणात्मक थियो । गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.७५ प्रतिशत पुगेको राष्ट्र बैंक्ले जनाएको छ । कात्तिकमा गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.६९ प्रतिशत थियो ।

गत आर्थिक वर्षको मंसिरमा खाद्य तथा पेय पदार्थ समुको मुद्रास्फीति ९.९९ प्रतिशत र गैरखाद्य तथा सेवा समुहको मुद्रास्फीतिक ३.९२ प्रतिशत थियो ।

चालु आर्थिक वर्षको पाँच महिनाकोऔसत मुदास्फीति १.५५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिको औसत मुद्रास्फीति ४.८९ प्रतिशत रहेको थियो ।

मंसिरमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ५.५२ प्रतिशत, गैर–मदिराजन्य पेय पदार्थको ३.५६ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको २.४४ प्रतिशतले बढेको छ । तरकारी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ८.५४ प्रतिशत, मरमसलाको ८.४३ प्रतिशत र दाल तथा गेडागुडीको ५.७९ प्रतिशतलेघटेको छ ।

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १८.५६ प्रतिशत, शिक्षाको ७.५६ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ५.२९ प्रतिशत, सुर्तीजन्य पदार्थको ४.१५ प्रतिशत र मदिराजन्य पेय पदार्थको ३.८५ प्रतिशतले बढेको छ । बीमा तथा वित्तीय सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ०.२३ प्रतिशतले घटेको छ ।

ग्रामीण भन्दा सहरी क्षेत्रको महँगी बढी

२०८२ मंसिरमा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १.०९ प्रतिशतले र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १.८३ प्रतिशतले बढेको छ । प्रदेशगत रूपमा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.५४ प्रतिशत, मधेश प्रदेशको २.०१ प्रतिशत, बागमती प्रदेशको १.४८ प्रतिशत, गण्डकी प्रदेशको १.०८ प्रतिशत, लुम्बिनी प्रदेशको १.६७ प्रतिशत, कर्णाली प्रदेशको १.०९ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ०.४० प्रतिशत रहेको छ । मंसिरमा काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.९५ प्रतिशत, तराईको १.७१ प्रतिशत, पहाडको १.३६ प्रतिशत र हिमालको १.४७ प्रतिशत छ ।

२०८२ मङ्सिरमा वार्षिक विन्दुगत थोक मुद्रास्फीति २.७८ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.५२ प्रतिशत रहेको थियो । मंसिरमा उपभोग्य वस्तुको वार्षिक विन्दुगत थोक मुद्रास्फीति ०.४१ प्रतिशत रहेकोछ भने मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक विन्दुगत थोक मुद्रास्फीति क्रमशः ४.२७ प्रतिशत र २.०९ प्रतिशत रहेको छ । निर्माण सामग्रीको थोक मूल्य सूचकांक ४.५२ प्रतिशतले बढेको छ ।