
काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) र भक्तपुर उद्योग वाणिज्य संघ (बीसीसीआई)बीच व्यापार, पारवहन सहजीकरण तथा पर्यटन प्रवर्द्धनमा सहकार्य गर्नेबारे छलफल भएको छ । नेपालको आर्थिक वृद्धि र उद्यमशीलता विकासमा टेवा पुर्याउने उदेश्यले भएको छलफलमा दुवै संघले व्यापार, पारवहन र पर्यटनसम्बन्धी पहलहरूमा नजिकबाट सहकार्य गर्ने सहमति जनाएका छन् ।
अन्तरक्रियाका क्रममा बीसीसीआई सदस्यहरूले हस्तकला निर्यात, भारतबाट वस्तु आयात गर्दा भन्सार प्रक्रिया लगायत व्यापार तथा पारवहन सहजीकरणमा निक्कीको सहयोगको अपेक्षा व्यक्त गरे । साथै, चाँगुनारायण र डोलेश्वर महादेवजस्ता ऐतिहासिक तथा धार्मिक सम्पदासहित भक्तपुरको पर्यटन प्रवर्द्धनमा सहयोग गर्न आग्रह गरेका छन् ।
कार्यक्रममा बीसीसीआइएकी अध्यक्ष रोशनी मैया धौबञ्जाले भक्तपुर को आर्थिक तथा सांस्कृतिक विशेषतामाथि प्रकाश पार्दै सांस्कृतिक र धार्मिक सम्पदाले सम्पन्न सहरका रूपमा पर्यटनमा आधारित विकासको ठूलो सम्भावना रहेको बताएकी छन् ।
त्यस्तै निक्कीका अध्यक्ष सुनील केसीले द्विपक्षीय व्यापार सहजीकरणमा निक्कीको भूमिकाबारे जानकारी गराउँदै निर्यात प्रवर्द्धनमा दुवै संघबीच नजिकको सहकार्य आवश्यक रहेको बताए ।
कार्यक्रमको अन्त्यमा दुवै संघले व्यापार, पारवहन र पर्यटनसम्बन्धी पहलहरूमा नजिकबाट सहकार्य गर्ने सहमति जनाउँदै यसलाई नेपालको दिगो आर्थिक वृद्धि र उद्यमशीलता विकासको महत्त्वपूर्ण आधारका रूपमा अघि बढाउने बताएका छन् ।
नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) नेपाल र भारतबीच व्यापार, लगानी तथा आर्थिक सहकार्य प्रवर्द्धन र सुदृढीकरणका लागि स्थापना गरिएको गैरनाफामूलक, गैरसरकारी द्विराष्ट्रिय संस्था हो ।
प्रभाकर राणाको पहलमा सन् १९९३ मा स्थापना भई १९९४ मा औपचारिक रूपमा दर्ता भएको यसले दुवै देशका उद्यमी, व्यवसायी तथा सरोकारवालाहरूलाई परस्पर लाभदायी अवसर खोज्न जोड्ने विशिष्ट मञ्चको रूपमा काम गर्दै आएको छ ।
गणेश भक्त साखःको पहलमा सन् १९६७ मा स्थापना भएको भक्तपुर उद्योग वाणिज्य संघ (बीसीसीआई) भक्तपुर जिल्लामा उद्योग तथा वाणिज्य क्षेत्रका सामूहिक हितको संरक्षण र प्रवर्द्धनमा समर्पित गैरराजनीतिक, गैरनाफामूलक प्रतिनिधि संस्था हो ।
स्थानीय व्यवसायी समुदायको स्वतन्त्र संस्थागत आवाजका रूपमा बीसीसीआईले नेपाल उद्योग वाणिज्य महासंघसँग आबद्ध रहँदै अनुकूल व्यवसायिक वातावरण निर्माणमा काम गर्दै आएको छ ।








प्रतिक्रिया