२ महिनाभित्र विमानस्थलको सेवा सुधार गर्न मन्त्री सिन्हाको निर्देशन, क्यानको कामप्रति असन्तुष्ट


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले विमानस्थलको सेवा सुधार गर्न निर्देशन दिएका छन् ।

नेपाल नागरिक उडड्यन प्राधिकरणको २७ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा मन्त्री सिन्हाले हरेक दिन यात्रुहरूले विमानस्थलमा समस्या भोगेकाले विमानस्थलको सेवा सुधार गर्न निर्देशन दिएका हुन् ।

उनले सामान्य यात्रुको हैसियतले आफूले पटक–पटक काठमाडौंसहित विभिन्न विमानस्थलको यात्रा गरेको अनुभव सुनाउँदै विमानस्थल प्रवेशदेखि बाहिर निस्किँदासम्म यात्रुले सास्ती खेप्नुपरेको बताए । उनले विमानस्थलमा दिने सेवाको गुणस्तरको सुधार देखावटी र कस्मेटिक मात्र भएको उल्लेख गरे ।

उनले दुई महिनाभित्र सेवा सुधार गर्न कर्मचारीहरुलाई निर्देशन समेत दिए । आफू चुनावी सरकारको मन्त्री भएकोले काम गर्ने समय धेरै रहेको उल्लेख गर्दै उनले दुई महिनाभित्रमा विमानस्थलको सेवामा सुधार ल्याउनुपर्ने उनको भनाइ छ । साना कुराहरु मात्रै सुधार गर्नसके पनि ठूलो उपलब्धि हासिल गर्न सकिने उनले बताए ।

उनले पोखरा र भैरहवा विमानस्थल सञ्चालनमा क्यानले ठोस कार्ययोजना ल्याउन नसकेकोमा पनि असन्तुष्टी जनाए । पोखरा विमानस्थलमा हिमालयन एयरलाइन्सको एउटा विमान अवतरण हुँदा ताली बजाउने मात्रै काम भएको उनको भनाई छ । काठमाडौं बाहेक अन्य विमानस्थलसँग आन्तरिक तथा अन्तर्राष्ट्रिय अन्तरआवद्धता कसरी बढाउने भन्ने विषयमा ठोस पहल गर्न उनले निर्देशन दिए ।

‘एउटा समान्य यात्रुको हैसियतले मैले पटकपटक नेपालको केही विमानस्थलहरु र मुख्य रुपमा काठमाडौ विमानस्थलको यात्रा गरेँ । मेरो लागि त्यो सुखद् रहेन, दुःखको साथ मैले भन्नुपर्ने हुन्छ, यहाँनेर जतिपनि हामीले उपलब्धिहरु प्राप्त गरेका छौँ । चाहे उपलब्धिका कुरा गरौँ, चाहे कर्मचारीका मागका कुरा गरौँ,’ उनले भने,’ म चुनावी सरकारको मन्त्री हो, मसँग अबको दुई महिना बाहेक अरु समय छैन । तथापि मेरो कोशिस यहाँ के रहन्छ भने तपाईहरुलाई कुनै यो भन्दा पहिलेको फलानो मन्त्रीले यसो भन्नुभएको थियो, सचिवले यसो भन्नुभएको थियो, राजनितिक दबाब यस्तो भएको थियो त्यो कारण हुन सकेन भन्ने छुट तपाईहरुसँग रहने छैन ।‘

ल्हासाबाट हिमालयन एयरलाउन्सले ल्याएको एउटा विमानलाई पोखरामा ओर्लेर देख्दाखेरी ताली बजाउने होइन, रुन मन लाग्ने अवस्था रहेको उनले बताए । मन्त्री सिन्हाले अगाडि थपे,’ आन्तरिक रुपमा हाम्रो सेवाहरु काठमाडौंबाट उडेर गएका विमानहरु बाहेक अन्य हाम्रा विमानस्थलहरु छन्, त्योसंग कसरी अन्तरआवद्धता गर्न सकिन्छ ? भद्रपुरबाट, चन्द्रगढीबाट । हामीले भारतबाट कसरी पर्यटक यहाँ ल्याउन सकिन्छ, त्यहाँनेर हामीले उनीहरुलाई कसरी आग्रह गर्नसक्छौँ । भन्नेतिर मैले शुन्य अग्रसरता देखे, मलै दुखको साथ भन्नुपर्छ, केही गनुभएको छ भनेपनि त्यसको प्रभाव मैले देखेको छैन ।’

मन्त्री सिन्हाले नेपालगञ्ज र विराटनगरका विमानस्थलहरु उद्घाटनको तयारी रहेको सुनेको उल्लेख गर्दै ती विमानस्थलले लगानी उठाउने वातावरण छ कि छैन भन्दै प्रश्न गरे । उनले भौगोलिक कारणले पनि नेपालमा विमान यात्रा विलासिताको नभएर अनिवार्यता भएकोले यसको गुणत्मक सुधारमा ध्यान दिनुपर्नेमा जोड दिए ।