गत आर्थिक वर्षमा ७ हजार सडकको मर्मत सम्भार सम्पन्न


काठमाडौं । सडक बोर्ड नेपालले गत आर्थिक वर्षमा रणनीतिक सडकतर्फ ७ हजार किलोमिटर खण्डमा मर्मत सम्भार सम्पन्न गरेको छ ।

बोर्डका कार्यकारी निर्देशक गणेशबहादुर केसीका अनुसार बोर्डले गत् आर्थिक वर्ष २०८१/८२ मा कूल सडकमध्ये ७ हजार ९ सय ३६ किलोमिटर खण्डमा मर्मत सम्भारको काम सम्पन्न गरेको छ ।

उक्त आर्थिक वर्षमा वार्षिक लक्ष्यअनुसार शतप्रतिशत लक्ष्य प्राप्त भएको केसीले जानकारी दिए । उक्त आर्थिक वर्षमा वार्षिक लक्ष्यअनुसार ३ हजार ९ सय २९ किलोमिटर खण्डमा पटके मर्मत सम्भार गरिएको थियो ।

यसैगरी वार्षिक लक्ष्य ५०५ आवधिक मर्मतसम्भारतर्फ ७३ प्रतिशत लक्ष्य बोर्डले प्राप्त गरेको छ । बोर्डका अनुसार पुनस्थापना तथा पुनर्निर्माणतर्फ वार्षिक लक्ष्यको ९० प्रतिशत प्रगति भएको हो । यस्तै आकस्मिक मर्मततर्फ लक्ष्यको ८० प्रतिशत र सडक सुरक्षातर्फ ९५ प्रतिशत लक्ष्य हासिल भएको छ ।

बोर्डका अनुसार स्थानीय सडक मर्मततर्फ स्थानीय तहहरुबाट गरिने स्थानीय सडक मर्मत सम्भारतर्फ ९ हजार किलोमिटरमध्ये ५२ प्रतिशत लक्ष्य हासिल भएको छ । उक्त आर्थिक वर्षमा वित्तीय खर्चतर्फ ७० प्रतिशत प्रगति हासिल भएको छ ।

बोर्डले सडक दस्तुर उठाउने(कार्यविधि) नियमावली २०८१ अनुसार सडक उपभोग दस्तुर संकलन कार्य सुरु गर्न आवश्यक पर्ने सडक दस्तुर उठाउने कार्यविधि २०८१ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ ।

बोर्डका अनुसार चालु आर्थिक वर्षमा नागढुङ्गा सुरुङ मार्गमा आरएफआईडी (रेडियो फ्रिक्वेन्सी आइडेण्टीटी डिभाइस) प्रविधिको प्रयोग गरी सुरुङ मार्ग उपभोग गर्ने सवारी साधनहरुबाट दस्तुर संकलन गर्ने प्रक्रियाको लागि सेवा उपलब्ध गराउने बैंक र आरएफआईडी कार्ड(एन ट्याग) को डिजाइन स्वीकृत भएको छ ।

नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार सार्वजनिक सडकहरुमा सडक उपभोग दस्तुर संकलन गर्नको लागि दस्तुर उठाउने केन्द्र पहिचान गर्न सम्भाव्यता अध्ययनको लागि परामर्श सेवा खरिद गर्ने प्रक्रिया पनि यो चालु आर्थिक वर्षमा अघि बढाइएको छ।

नारायणगढ–मुग्लिङ सडकमा बिधुतीय प्रणालीमार्फत सडक उपभोग दस्तुर संकलन गर्न सन् २०२० मा तयार भएको कन्सेप्सल डिजाइन र डिटेल प्रोजेक्ट रिपोर्टको समिक्षा गरी ईपीसी, डिजाइन बिल्टजस्ता नविन खरिद प्रणाली अवलम्बन गर्ने बिषयमा गृहकार्य सुरु भएको केसीेले जानकारी दिए ।

स्तरोन्नतीको लागि तयारी चरणमा रहेका राजमार्ग अन्तर्गत स्कोप अफ सर्भिसभित्र टोल प्लाजा निर्माण गर्ने कार्यलाई समावेश गरिदिन सडक विभागका दातृ निकायबाट सञ्चालित आयोजनाका निर्देशनालयलाई आग्रह गरिएको बोर्डले जनाएको छ ।

यस्तै सडक मर्मत सम्भारको लागि श्रोतको अभाव हुन नदिन हाल विद्यमान सडकहरुमा कायम रहेको दस्तुर पूनरावलोकन गरी उपयुक्त दस्तुर सिफारिशको लागि आवश्यक गृहकार्य सुरु भएको केसीले जानकारी दिए ।