
काठमाडौं । गणपति वनस्पतिले गत आर्थिक वर्षमा सवा ८ अर्ब रुपैयाँको कारोबार गरेको छ । कम्पनीले गत आवमा ८ अर्ब २५ करोड ४० लाख रुपैयाँको कारोबार गरेको हो ।
कम्पनीले सन् २०२४ मा १ अर्ब २४ करोड रुपैयाँको कारोबार गरेको हो । कम्पनीले सन् २०२३ मा ६ अर्ब ५० करोड ३० लाख रुपैयाँ र सन् २०२२ मा १२ अर्ब ३३ करोड ८० लाख रुपैयाँको कारोबार गरेको थियो ।
सन् १९९८ मा स्थापना भएको कम्पनी सन् २०२३ मा पब्लिक कम्पनीको रुपमा परिणत गरेको छ । कम्पनीले वनस्पति घ्यू, रिफाइन्ड आयल, सोडियम सिलिकेट जार, टिना, प्रिफर्म र पेट बोटल्स, पिना, एसिड आयल प्रशोधन गरी व्यापार गर्दै आएको छ । कम्पनीले तोरीको तेलसहित अन्य तेल गरी वार्षिक १ लाख २० हजार मेट्रिक टन क्षमतामा कार्य गर्दै आएको छ । कम्पनीले प्रशोधन गरेको तेल सफारी, सफारी हेल्थ, छक्र र रामदेव ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ ।
लक्की ग्रुपद्वारा सञ्चालित कम्पनीमा अमित मोर राजीव मोरको स्वामित्व छ । जसमा अमित मोर अध्यक्ष छन् भने राजीव मोर निर्देशक छन् । कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ६ अर्ब ४८ करोड २९ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले आन्तरिक बजारसँगै भारतमा पनि निर्यात गर्दै आएको छ । भारत सरकारले आयातित तेलमा भन्सार दर बढाएसँगै नेपालबाट भारतीय व्यवसायीहरुले उच्च रुपमा तेल आयात गर्ने गरेको पाइएको छ ।
कम्पनीले गरेको व्यापारमध्ये ८२ प्रतिशत निर्यातबाट भएको रेटिङमा उल्लेख छ । सन् २०२४ मा निर्यातबाट ११ प्रतिशत व्यापार गरेको थियो । कम्पनीअनुसार गत आवमा कम्पनीको व्यापार रिबाउन्ड हुँदै गएको जनाएको छ । कम्पनीले सन् २०२४ मा घाटा व्यहोरेको थियो । गत आवमा भने कम्पनीले २६ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको छ । साथै, कम्पनीले कुल सञ्चय नगद १७ करोड ७० लाख रुपैयाँ रहेको छ ।








प्रतिक्रिया