
काठमाडौं । झापाको धुलाबारीमा निर्माण भइरहेको होटल इस्टर्न नेपालको लागत बढेको छ । होटलको सुरुमा अनुमानित लागतभन्दा अहिले एक अर्ब बढी रुपैयाँ बढेको हो ।
सुरुमा २ अर्ब १ करोड ४० लाख रुपैयाँ लगानीमा सो होटल निर्माण गर्ने भनिएको थियो । अहिले उक्त लागत बढेर ३ अर्ब २६ करोड ९० लाख रुपैयाँ पुगेको छ ।
सन् २०२५ को अक्टोबरसम्ममा ४० प्रतिशत आर्थिक प्रगति भइसकेको छ । सन् २०२६ को अप्रिलबाट आंशिक रुपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ । साथै, सन् २०२७ बाट भने पूर्ण क्षमतामा होटल सञ्चालनमा ल्याउने योजना बनाएको छ । खासगरी हलिडे इनलाई व्यवस्थापन जिम्मा दिने, क्यासिनोसमेत चलाउने र केही थप जग्गा खरिद गर्नुपर्ने भएका कारण होटलको लागत बढेको बताइएको छ ।
होटल निर्माणका लागि कम्पनीले दीर्घकालीन कर्जाका लागि २ अर्ब २८ करोड ८० लाख रुपैयाँको रेटिङ गराएको छ । सन् २०१८ मा स्थापना भएको कम्पनीले धुलाबारीमा ९८ वटा कोठाकोे सुविधासहित पाँच तारे होटल निर्माण गरिरहेको छ । कम्पनीमा न्यु इन्फ्रा हेभन ग्रुप होल्डिङ कम्पनीको स्वामित्व छ । कम्पनीमा तीन जना बोर्ड सदस्य छन् । तीन जनामध्ये एक जना भने विनिता थापा हुन् । थापा पूर्व ऊर्जामन्त्री दीपक खड्काकी श्रीमती हुन् ।
होटल १ लाख १० हजार ४४४ स्क्यावरफिटमा निर्माण भइरहेको छ । उक्त स्थानमा क्यासिना र ब्याङ्क्वेट निर्माण हुनेछ । कुल ९८ कोठा रहने होटलमा फुड र बेभरेज सुविधा, स्वीमिङ पुल, कन्फरेन्स हल र ब्याङ्क्वेट, स्पा र अन्य सुविधा हुनेछ ।
यो होटल परियोजनामा ऋण र इक्विटीको अनुपात ७०ः३० रहेको छ । जसअनुसार २ अर्ब २८ करोड ८० लाख रुपैयाँ बैंक कर्जामार्फत जुटाइएको छ ।
होटलको रणनीतिक अवस्थिति (पूर्व–पश्चिम राजमार्ग नजिक), अनुभवी सञ्चालक समिति र पर्यटन क्षेत्रमा सरकारको बढ्दो सहयोग यसका सबल पक्ष हुन् ।
यद्यपि, परियोजना कार्यान्वयनमा हुन सक्ने ढिलाइ, उच्च ब्याजदरको जोखिम र होटल क्षेत्रमा रहेको तीव्र प्रतिस्पर्धालाई मुख्य चुनौतीका रूपमा हेरिएको छ । ४० प्रतिशत मात्र निर्माण सम्पन्न भएको अवस्थामा निर्धारित समय र लागतमा परियोजना सक्नु कम्पनीका लागि प्रमुख कार्यभार रहनेछ ।
झापा भारतसँगको सीमा नजिक रहेको र पर्यटकीय हबका रूपमा विकास भइरहेकाले यस होटलले भारतीय तथा आन्तरिक पर्यटकलाई लक्षित गर्नेछ । तर, ठूलो लगानी र लामो ’जेस्टेसन पिरियड’ (लगानी उठ्न लाग्ने समय) का कारण सुरुवाती वर्षहरूमा कम्पनीको वित्तीय अवस्था चुनौतीपूर्ण हुन सक्ने प्रक्षेपण गरिएको छ ।
खड्काको लगानीमा बुढानिकलण्ठमा होटल होलिडे इन सञ्चालनमा आइसकेको छ । उनको यो दोस्रो परियोजना हो ।








प्रतिक्रिया