
काठमाडौं । टेन्सबर्ग, नेपाल टाइगर स्ट्रङ, रकस्टारसहित अन्य ४ वटा ब्रान्डमा बियर बेच्ने टाइगर ब्रुअरी इन्डष्ट्रिजको व्यापार ४८ प्रतिशतले बढेको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा ४८ प्रतिशतले बढेको हो ।
कम्पनीले सन् २०२४ मा ५६ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीले सन् २०२५ मा ८३ करोड ६० लाख रुपैयाँको व्यापार गरेको छ ।
कम्पनीले सन् २०२३ मा ६२ करोड ८० लाख रुपैयाँ, सन् २०२२ मा ७३ करोड ५० लाख रुपैयाँ र सन् २०२१ मा ९६ करोड रुपैयाँको व्यापार गरेको थियो ।
कम्पनीकाअनुसार पछिल्लो तीन वर्षमा व्यापार घट्दो क्रममा थियो । तर, गत आवमा भने व्यापार बढेको कम्पनीको भनाइ छ । कम्पनीको पछिल्लो ३ वर्षमा व्यापार समग्रमा १२ प्रतिशतले घटेको थियो। त्यसैगरी, चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा कम्पनीको व्यापार उच्च भएको छ । गत आवको पहिलो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा ११४ प्रतिशत बढी केस बिक्री भएको कम्पनीले उल्लेख गरेको छ ।
कम्पनीले गत आवको व्यापारमा दुई वटा ब्रान्ड रकस्टार र नेपाल टाइगरबाट मात्रै ६३ प्रतिशत आम्दानी गरेको जनाएको छ । सन् २०२४ मा सोही दुई वटा ब्रान्डबाट ६५ प्रतिशत आम्दानी गरेको थियो ।
सन् १९९३ मा स्थापना भएको कम्पनीले स्वदेशी बियर उत्पादन गर्दै आएको छ । कम्पनीले वार्षिक १ करोड १० लाख केस बियर उत्पादन क्षमता छ ।
कम्पनीको देशभर १ सय ५० वटा डिलर छन् । ईश्वरी खड्काको ४५ प्रतिशत, प्रेम खड्काको ३० प्रतिशत र लक्ष्मण खड्काको २५ प्रतिशत स्वामित्व रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि २ अर्ब ३५ करोड ५० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब ४ करोड २० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब ३१ करोड ३० लाख रुपैयाँको रेटिङ गराएको हो ।










प्रतिक्रिया