
काठमाडौं । बाग्मति आयल इन्डष्ट्रिजले एकै वर्ष ५ अर्ब रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा ५ अर्ब ३ करोड ५० लाख रुपैयाँको व्यापार गरेको हो ।
कम्पनीले सन् २०२४ मा २ अर्ब ७३ करोड रुपैयाँ, सन् २०२३ मा ३ अर्ब २२ करोड रुपैयाँ, सन् २०२२ मा ३ अर्ब १० करोड १० लाख रुपैयाँ र सन् २०२१ मा २ अर्ब ५० करोड रुपैयाँको व्यापार गरेको थियो ।
कम्पनीअनुसार सन् २०२४ को तुलनामा सन् २०२५ मा ८४ प्रतिशतले व्यापार बढेको छ । गत आवमा भारतमा तेल उच्च निर्यात हुँदा व्यापार सकारात्मक रहेको कम्पनीले जनाएको छ ।
सन् २००८ मा स्थापना भएको कम्पनीले विभिन्न प्रकारका तेल प्रशोधन गरी बिक्री वितरण गर्दै आएको छ । कम्पनीले सनफ्लावर तेल र भटमासको तेल प्रशोधन गरी सेल्लो ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ । बागमती ग्रुपद्वारा सञ्चालित कम्पनीमा सकेत राठीको ६० प्रतिशत, अनिलकुमार अग्रवालको ३४ प्रतिशत र मनोजकुमार टपरीयको ६ प्रतिशत स्वामित्व छ ।
कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ३ अर्ब ४७ करोड ७० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ७ करोड ७० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ३ अर्ब ४० करोड रुपैयाँको रेटिङ गराएको हो ।










प्रतिक्रिया