रवि-बालेन एकता, कुलमान ‘हेरेको हेर्‍यै’

कुलमानले के गर्लान् ?


काठमाडौं । पछिल्लो केही दिनयता नेपाली राजनीतिक वृत्तमा निकै चासो र चर्चा भइरहेको एउटा विषयको नतिजा आएको छ । जसले पुराना भनिने राजनीतिक दलहरूलाई मात्र होइन, स्वयं वैकल्पिक शक्तिका हिमायतीहरूलाई समेत विभाजित बनाइदिएको छ ।

केही दिनयताको म्याराथन भेटवार्ता र दौडधुपपछि आइतबार बिहान करिब ४ बजे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच ७ बुँदे समझदारी सार्वजनिक भयो । तर, यो समझदारीमा हस्ताक्षर हुँदै गर्दा एउटा चर्चित अनुहार भने त्यहाँ अटाउन सकेन । ती हुन्, उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ ।

आम मानिसमा एउटा ठूलो अपेक्षा थियो- रवि लामिछानेको सांगठनिक शक्ति, बालेन शाह र कुलमान घिसिङको लोकप्रियता मिलेर एउटा ‘महागठबन्धन’ बन्नेछ । तर, आइतबार बिहानको झिसमिसेमा जब ७ बुँदे सहमति सार्वजनिक भयो, त्यहाँ केवल रवि र बालेनको मात्रै नाम देखियो ।

बैठक स्रोतका अनुसार बालेन शाहले अन्तिम समयसम्म कुलमान र जेनजीको समूहलाई पनि समेटेर लैजाने ‘मोडालिटी’ मा छलफल गरेका थिए । उनले रास्वपाका नेताहरूसँग कुलमान र नयाँ पुस्ताको समूहका लागि ५० प्रतिशत हिस्साको प्रस्ताव समेत राखेका थिए। तर, रास्वपाका नेताहरूले ‘कुलमानसँग पहिले नै कुरा भइसकेको छ, अहिले यो बेला यस्तो अडान नराखौँ’ भन्दै बालेनलाई सम्झौतामा ल्याउन सफल भए। परिणामस्वरुप, कुलमान जो बालेनलाई साथमा लिएर अघि बढ्न चाहन्थे, उनी नै त्यो रातभरिको छलफलबाट रित्तो हात निस्कनुपर्यो ।

समझदारी हुनुभन्दा अघिल्लो साँझ अर्थात् शनिबार बेलुकी ७ बजे बालुवाटारमा एउटा महत्वपूर्ण भेट भएको थियो । मेयर बालेन शाह र कुलमान घिसिङबीच करिब दुई घण्टा ‘वान अन वान’ वार्ता भयो ।

गत १४ मंसिरमा रास्वपाले विवेकशील साझालाई एकीकरणमा ल्याएपछि बालेनले कुलमानलाई भेटेर ‘उज्यालो नेपाल पार्टी’ को सदस्य बनेरै सहयोग गर्ने आश्वासन दिएका थिए । दुवैले तस्बिर सार्वजनिक गर्दै कुलमानले ‘देश बनाउने अभियानमा सँगै छौँ’ भनेर पनि लेखेका थिए । तर, ७ बुँदे सम्झौतामा कुलमानले लेखे जस्तो देश बनाउने अभियानमा उनीहरू सँगै देखिएनन् ।

शनिबारको वान अन वान वार्तामा परिस्थिति फेरियो । बालेन रास्वपासँग छुट्टै समझदारीको अन्तिम चरणमा पुगिसकेका थिए । कुलमानले शनिबार मात्रै आफ्नो पार्टीको केन्द्रीय कमिटीमा भनेका थिए, ‘आफ्नो अस्तित्व र आत्मसम्मान मेटाएर कसैसँग एकता नगर्ने ।’ कुलमानको अडान एकीकृत शक्तिमा उनको पार्टीको नाम, चुनाव चिह्न र नीतिमा सम्मानजनक साझेदारी हुनुपर्छ भन्नेमा देखिएको थियो । जुन कुरा रास्वपा,रवि र बालेनका लागि स्वीकार्य नभएको देखिएको छ ।

यो शक्ति संघर्षको जरा अलि पहिलेबाटै सुरू भएको हो । रवि लामिछाने सहकारी प्रकरणको अनुसन्धानका लागि कारागारमा रहँदा नै रास्वपाका दोस्रो तहका नेताहरू र कुलमानबीच धेरै चरणमा संवाद भएका थिए। त्यतिबेला कुलमानले आफू रास्वपामा आउन तयार भए पनि अस्वभाविक प्रस्ताव राखेको छलफलमा सहभागी रास्वपाका नेताहरू दाबी गर्छन् । ‘म रास्वपामा आउन तयार छु, तर मलाई केन्द्रीय समितिमा ५० प्रतिशत हिस्सा र पार्टीको अध्यक्ष पद चाहिन्छ,’ त्यतिबेला कुलमानले भनेका थिए ।

‘रास्वपामा अहिले रहेका कतिपय पात्रहरू विवादित छन्, त्यसैले नयाँ र शुद्धीकरण गरिएको शक्ति निर्माणका लागि उनको टिमको बलियो उपस्थिति हुनुपर्छ,’ भन्ने कुलमानको तर्क थियो । तर, रवि जेलबाट निस्किएपछि राजनीतिक माहोल फेरियो । रविले आफ्नो अध्यक्ष पद र घण्टी चुनाव चिह्नमा कुनै सम्झौता गरेनन् । सार्वजनिक भए लगत्तै उनले पद, पार्टीको नाम र चुनाव चिह्न फेर्न सकिने बताए पनि रास्वपाले आफ्नो ‘ब्राण्ड’ लाई छाडेन । रविले कुलमानलाई भन्दा बालेनलाई ‘कम्फर्टेबल’ साझेदार देखे।

बालेनको ‘उधारो’ प्रधानमन्त्री र रविको ‘नगद’ सम्झौता

रवि र बालेनबीच भएको ७ बुँदे समझदारीलाई राजनीतिक विश्लेषकहरूले उधारो र नगद सम्झौताको रूपमा अर्थ्याएका छन् भने ‘अदृश्य स्वार्थको मिलन’ समेत भएको टिप्पणी गरेका छन् । रास्वपाले आफ्नो नाम, चुनाव चिह्न र संगठनलाई सुरक्षित राखेको छ । रवि लामिछाने पार्टीको सर्वशक्तिमान अध्यक्षका रूपमा रहनेछन् । अर्कोतर्फ, बालेन शाहले निर्वाचनपछि आफू ‘संसदीय दलको नेता र प्रधानमन्त्री’ बन्ने गरी एउटा उधारो आश्वासनमा सम्झौता गरेका छन् ।

बालेनले अहिले नै पार्टी संगठनमा कुनै पद नखोजी सिधै प्रधानमन्त्रीको ‘कार्ड’ मा चित्त बुझाएका छन् । तर, कुलमान घिसिङले यस्तो उधारो राजनीतिमा विश्वास गरेनन् ।

उनले खोजेको पोर्टफोलियो र कार्यकारी भूमिका अहिलेको ७ बुँदेले कहीँ पनि सम्बोधन नगर्ने देखेरै होला सायद कुलमानले समझदारीमा सहभागी हुनुभन्दा बाहिरै बस्नु श्रेयस्कर ठाने ।

यो वैकल्पिक शक्तिको ध्रुवीकरणलाई धरानका मेयर हर्क साम्पाङले भने सुरुदेखि नै शंकाको नजरले हेरेका छन् । रवि र बालेनको समझदारी सार्वजनिक भएलगत्तै साम्पाङले सामाजिक सञ्जालमार्फत एउटा कडा सन्देश दिए । उनले भने, ‘पुराना पनि काम नलाग्ने हुन् । श्रम संस्कृतिबाहेक अहिलेका पनि उस्तै हुन्। कसैसँग यो देशप्रति, जनताप्रति माया छैन । छ भने सत्ताको कुर्सीसँग माया छ र प्रतिशोध साँध्ने विचार छ।’

साम्पाङले आफ्नो ‘श्रम संस्कृति पार्टी’ ले कुनै पनि हालतमा ‘मिसावटको राजनीति’ नगर्ने घोषणा गरेका छन् । उनले रवि र बालेनको मिलनलाई केवल ‘प्रतिशोधको राजनीति’ को संज्ञा दिएका छन् । साम्पाङको यो अडानले के देखाउँछ भने, वैकल्पिक भनिएका शक्तिहरूभित्रै पनि विचार र कार्यशैलीमा ठूलो खाडल छ, जसले गर्दा सबैलाई एउटै डालोमा ल्याउन रवि-बालेनलाई च्यूरा चपाएसरी हुने छ ।

जेन-जी आन्दोलनका संयोजक सुदन गुरुङले पनि यो समझदारीलाई निकै कूटनीतिक शैलीमा टिप्पणी गरेका छन् । उनले भनेका छन्, ‘अब रास्वपाले चुनावको तयारी गरोस्, हामी चाहिँ राष्ट्रिय समस्या र जनताका वास्तविक समस्याहरू समाधान गर्नमा ध्यान दिनेछौँ ।’

कुलमानको विकल्प: अस्तित्व कि सहकार्य ?

अहिले भएको समझदारीमा नअटाए पनि उज्यालो नेपाल पार्टीभित्र कतिपय नेताहरूले ‘आत्मसम्मानलाई थाँती राखेर भए पनि निकासका लागि मिल्नुपर्छ’ भन्ने मत राखिराखेका छन् । तर, कुलमान घिसिङ भने पोर्टफोलियो र भूमिका स्पष्ट नभएको ठाउँमा जान इच्छुक देखिएका छैनन् ।

लोकप्रियताको शिखरमा रहेकाहरूले यदि आफ्नो ‘इगो’ त्यागेर वैकल्पिक राजनीतिको वकालत गर्नेलाई एउटै सूत्रमा बाँध्न सकेनन् भने, ‘पुराना दल’ लाई विस्थापित गर्ने उनीहरूको सपना केवल कागजको ७ बुँदेमै सीमित हुने सम्भावना छ

रवि र बालेनले जारी गरेको समझदारीको सातौँ बुँदामा अन्य वैकल्पिक शक्ति र व्यक्तिलाई आह्वान गर्ने भनिएको छ । तर, के कुलमान घिसिङ केवल एउटा ‘आह्वान’ को भरमा रास्वपाको घण्टीमुनि गोलबद्ध हुन तयार होलान् ? यदि उनी यो प्रक्रियामा जोडिएनन् भने बालेनले परिकल्पना गरेको ‘महागठबन्धन’ केवल ‘आधा उज्यालो’ मा मात्रै सीमित हुनेछ ।

रवि र बालेनको मिलनले नेपालको राजनीतिमा एउटा शक्तिशाली चुनावी मोर्चा त तयार पारेको छ, तर यसले कुलमान घिसिङ, हर्क साम्पाङ, गोपी हमाल जस्ता जनताको नजरमा रहेकालाई ‘हेरेको हेर्यै’ बनाएको छ । बालेनले लिएको ‘प्रधानमन्त्री’ को कार्ड र रविले जोगाएको ‘सभापति’ को कुर्सीबीचको यो सन्तुलनमा कुलमान र हर्कहरू नअटाउनुले वैकल्पिक राजनीतिका लागि आगामी निर्वाचन निकै चुनौतीपूर्ण हुन सक्छ । वैकल्पिक राजनीतिक शक्तिहरूको मत विभाजित बन्दा स्वभाविक रुपमा त्यसको लाभ पुराना भनिएका दललाई नै जाने निश्चित छ ।

यदि रास्वपा र बालेनको समूहले कुलमानलाई समेट्न सकेन भने कुलमानले हर्क साम्पाङ, गोपी हमाल लगायत अन्य साना वैकल्पिक दलहरूसँग मिलेर अर्को मोर्चा बनाउने सम्भावनालाई पनि नकार्न सकिँदैन । यसो हुनु भनेको वैकल्पिक राजनीतिको लागि हितकर नहुन सक्छ ।

लोकप्रियताको शिखरमा रहेकाहरूले यदि आफ्नो ‘इगो’ त्यागेर वैकल्पिक राजनीतिको वकालत गर्नेलाई एउटै सूत्रमा बाँध्न सकेनन् भने, ‘पुराना दल’ लाई विस्थापित गर्ने उनीहरूको सपना केवल कागजको ७ बुँदेमै सीमित हुने सम्भावना छ ।