अमेरिकीहरूमाझ अलोकप्रिय इरान युद्ध, मध्यावधि निर्वाचनमा मतदाताले पाठ पढाउलान् ?


एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प निकोलस मदुरोको पक्राउको सफलतामा अझै उत्साहित छन् ।

भेनेजुएलाका राष्ट्रपतिको सहज अपहरणले ट्रम्पलाई त्यस देशको तेल र महत्त्वपूर्ण खनिज स्रोतहरूमा नियन्त्रण मात्र प्रदान गरेको नभई क्युबालाई ऊर्जाको पहुँचबाट वञ्चित गरेर त्यहाँको सरकारको घाँटी निमोठ्ने अवसर पनि दियो । यसबाट सन् १९५९ देखि वाशिङटनलाई सताउँदै आएको कम्युनिस्ट शासनलाई ढाल्न सक्ने लोभलाग्दो सम्भावना खडा भयो ।

इजरायलसँग मिलेर इरानमा गरिएको संयुक्त सैन्य अभियानमा पनि मदुरो जस्तै सफलता मिल्नेमा ट्रम्प विश्वस्त छन् । इजरायल र इरानका अरब छिमेकीहरूलाई लक्षित गरी इरानले प्रहार गरेका मिसाइल र ड्रोनहरूको वर्षाले पनि ट्रम्पको सोच बदल्न सकेको छैन । उनी विजयलाई जसरी परिभाषित गरे पनि आफू नै जित्ने कुरामा अडिग छन् ।

ऊर्जा बजारमा युद्धले जस्तोसुकै प्रभाव पारे पनि अमेरिकी अर्थतन्त्रले त्यसलाई सहन सक्छ भन्ने उनको बुझाइ छ । ‘इरानी आणविक खतराको विनाश सकिएपछि तेलको मूल्य छोटो समयमै तीव्र रूपमा घट्नेछ जुन अमेरिका र विश्वको सुरक्षा र शान्तिका लागि निकै सानो मूल्य हो,’ उनले सामाजिक सञ्जालमा उल्लेख गरे, ‘मूर्खहरूले मात्र फरक सोच्न सक्छन् !’

उनको अस्थिर नीति निर्माणले अहिलेसम्म सोचे जति क्षति नपु¥याएकाले पनि ट्रम्पको अपराजेयताको भावना बलियो छ । उनले लगाएका महँगो भन्सार शुल्क, संघीय जनशक्तिको कटौती, आप्रवासी कामदारहरूको देशनिकाला र फेड (केन्द्रीय बैंक) माथिको निरन्तर आक्रमणका बावजुद केही हप्ता अघिसम्म प्रमुख अर्थशास्त्रीहरू अर्थतन्त्रले उच्च मुद्रास्फीतिको युगबाट सफ्ट ल्यान्डिङ (संकट बिनाको अवतरण) को कठिन लक्ष्य प्राप्त गर्न सक्छ कि भनेर अचम्म मानिरहेका थिए ।

अमेरिका शायद प्रमुख विकसित अर्थतन्त्रहरूमध्ये ऊर्जाको मूल्य वृद्धिबाट सबैभन्दा सुरक्षित देश हो । सन् २००० को दशकको सुरुदेखि आन्तरिक उत्पादनमा वृद्धि भएसँगै कच्चा तेलको आयातमा उल्लेख्य कमी आएको छ । प्राकृतिक ग्यासको आन्तरिक मूल्य विश्वव्यापी बजारको उतारचढावप्रति त्यति संवेदनशील छैन । त्यसले ऊर्जा आपूर्तिमा ठूलो हिस्सा ओगटेको छ ।

आज अमेरिकाको ऊर्जा खपतको करिब ३८ प्रतिशत हिस्सा तेलले ओगटेको छ जुन सन् १९७३ को तेल संकटको तुलनामा झण्डै १० प्रतिशत कम हो । त्यसबेला योम किप्पुर युद्धमा इजरायललाई समर्थन गरेकोमा सजायस्वरूप अरब उत्पादकहरूले अमेरिकामा तेल पठाउन बन्द गरेका थिए । यसैबीच प्राकृतिक ग्यासको हिस्सा ३० प्रतिशतबाट बढेर ३६ प्रतिशत पुगेको छ ।

इरानले विश्वको २० प्रतिशत तेल ढुवानी हुने हर्मुज जलयोजकमा अवरोध गर्दा युरोपेली बजारहरू थर्किए । कतारले तरल ग्यास (एलएनजी) केन्द्रहरू बन्द गर्दा ती बजारहरू थप धराशायी भए । तर, अमेरिकामा ट्रम्पको मनपर्ने आर्थिक सूचकांक एसएन्डपी ५०० अझै पनि आफ्नो ऐतिहासिक उच्च विन्दुको नजिकै छ ।

ट्रम्प जतिसुकै सफल देखिए पनि उनी पराजयको सामना गरिरहेका छन् । यो इरानको सशस्त्र बलका बाँकी रहेका सेनाहरूसँगको सैन्य पराजय होइन । उनी अमेरिकी सैन्य साहसिक कार्यहरूलाई रोक्न सक्ने एकमात्र शक्ति अर्थात् अमेरिकी जनताको विरोधबाट पराजित हुन लागेका छन् ।

इरान विरुद्धको युद्ध सुरुदेखि नै निकै अलोकप्रिय रहेको छ जुन संदिग्ध औचित्यका बाबजुद पनि आफ्ना छोराछोरीलाई लड्नका लागि पठाउन समर्थन गर्ने राष्ट्रका लागि एक असामान्य मोड हो । यसको आर्थिक प्रभावले भविष्यमा यसको लोकप्रियता बढाउन मद्दत गर्ने छैन ।

ऊर्जामा आत्मनिर्भरताले मात्र अमेरिकालाई पूर्ण रूपमा सुरक्षित राख्न सक्दैन । तेल टेक्ससबाट आओस् वा मध्यपूर्वबाट यसको मूल्य विश्वव्यापी बजारले नै निर्धारण गर्छ । सामान्य ग्यासोलिनको मूल्य ट्रम्पले पदभार ग्रहण गरेयताकै उच्च प्रति ग्यालन ३.५० डलर नाघिसकेको छ ।

सरकारले अब खुद्रा ग्यासोलिनको मूल्य सन् २०२७ को अन्त्यतिर मात्र सन् २०२५ को स्तरमा फर्कने र डिजेलको मूल्य अर्को वर्षको अन्त्यसम्म युद्धपूर्वको स्तरभन्दा माथि नै रहने प्रक्षेपण गरेको छ ।

ट्रक ढुवानी गर्ने कम्पनीहरूले बढेको मूल्यको भार ग्राहकहरूमा सार्नेछन् । इन्धन र मलको उच्च मूल्यको सामना गरिरहेका किसानहरूले पनि खाद्यान्नको मूल्य बढाउनेछन् । खुद्रा बिक्रेता र एयरलाइन्सहरू पनि बढ्दो इन्धन लागतको चपेटामा पर्नेछन् ।

यो सबै पक्कै पनि मार्चको मुद्रास्फीति रिपोर्टमा देखिनेछ जुन फेब्रुअरीमा अघिल्लो वर्षको तुलनामा २.४ प्रतिशत वृद्धिमा स्थिर थियो । र यसले फेडरल रिजर्भको ब्याजदर कटौतीको योजनामा अवरोध पुर्याउनेछ । यसैबीच, महँगो इन्धनले अमेरिकीहरूको प्रिय एसयूभी कारहरूको बिक्रीमा असर पार्ने देखिन्छ ।

यो सबैले ट्रम्पको लोकप्रियतालाई त्यहाँ प्रहार गर्नेछ जहाँ उनलाई सबैभन्दा बढी चोट लाग्छ ।

राष्ट्रपतिले यी जोखिमहरू बुझेका छन् । त्यसैले उनी तेलको मूल्य घटाउन सबै उपायहरू लगाउँदैछन् । प्रशासनले ट्यांकरहरूको बिमा गर्ने र जलयोजकमा तिनीहरूलाई सुरक्षा दिने योजना सार्वजनिक गरेको छ । यसले रुसी तेल निर्यातमा लगाइएका केही प्रतिबन्धहरू हटाएको छ र आपूर्तिको अभाव पूरा गर्न भेनेजुएलाको तेल उत्पादन विस्तार गर्ने उपायहरू खोजिरहेको छ ।

तर, तीन दशकभन्दा बढी समयको सबैभन्दा ठूलो मूल्यवृद्धिलाई उल्टाउन यति मात्र पर्याप्त हुनेछैन । कि त युद्ध समाप्त हुनुपर्छ वा अमेरिकाले इरानको क्षमतालाई यतिसम्म कमजोर बनाउनुपर्छ कि उसले हर्मुज जलसन्धिबाट जाने तेल ट्यांकरहरूलाई थप धम्की दिन नसकोस् ।

ट्रम्प आफ्ना सार्वजनिक बयानहरूमा एकैसाथ यो विश्वास गर्छन् कि उनले तेहरानलाई निःशर्त आत्मसमर्पण गराउन सक्छन् र यो युद्ध धेरै हदसम्म पूरा भइसकेको छ । तर, वाशिङटनमा रहेका उनका सल्लाहकारहरूले कुनै देशमा आकाशबाट बम बर्साएर त्यसलाई धुजाधुजा पार्दैमा दीर्घकालीन रूपमा युद्ध जित्न सकिँदैन भन्ने कुरा अहिलेसम्म सिकिसक्नुपर्ने हो ।

इरानका रिभोलुसनरी गार्ड्स वा बासिज (धेरैजसो इरानीहरूले घृणा गर्ने संस्थाहरू) ले सजिलै हतियार त्याग्ने र आफ्नो ज्यान जोखिममा पार्ने छैनन् । इरानको पूर्वाधार जतिसुकै नष्ट भए पनि त्यहाँ जमिनमा हजारौं हतियारधारी योद्धाहरू छन् जो प्रतिवाद गर्न र तेहरानमा एक शत्रुतापूर्ण शासनलाई जोगाइराख्न सक्षम छन् ।

ट्रम्पले बिना शर्त आत्मसमर्पणको मागबाट पछि हटेर जीतको अर्को बहाना बनाउँदै आफ्नो जलसैनिक टोलीलाई घर फर्काउन सक्छन् । तर, त्यो देख्दा राम्रो हुनेछैन । वैकल्पिक रूपमा उनले स्थल सेना परिचालन गर्न सक्छन् जुन विकल्पलाई उनले अस्वीकार गरेका छैनन् । वा उनले बमवर्षा जारी राख्न सक्छन् । इरानको सैन्य पूर्वाधार नष्ट गरिसकेपछि नागरिक लक्ष्यहरूतर्फ मोडिन सक्छन् ।

यीमध्ये कुनै पनि दृष्टिकोणमा युद्धको अन्त्य छिटो हुने छैन । यसको अर्थ, यस युद्धको आर्थिक पीडा सम्भवतः लामो समयसम्म कायम रहनेछ । मदुरोलाई पक्रन जति सजिलो थियो, अमेरिकाका प्रतिद्वन्द्वीहरूको नेतृत्व सिध्याउनु संसारको हरेक ठाउँमा जित्ने रणनीति नहुन सक्छ भन्ने कुरा ट्रम्पले सिक्न सक्छन् ।