
विराटनगर । जेनजी आन्दोलनले उठाएका मुद्दा जायज भए पनि त्यसको स्वरूप र असरले निजी क्षेत्र थप असुरक्षित बनेको कोशीका उद्योगी व्यवसायीले औंल्याएका छन् ।
निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएका मागप्रति राज्य र राजनीतिक दलहरूले नजरअन्दाज गरेकै कारण जेनजी आन्दोलनको उदय भएको तर आन्दोलनको स्वरूप र असरले निजी क्षेत्र थप प्रताडित बनेको उनीहरूको गुनासो थियो ।
जेनजी आन्दोलनका माग जायज भए पनि पुरानो पुस्ता, राजनीति र कर्मचारीतन्त्रमा सुधार नआएसम्म जेनजी आन्दोलनको मर्म पूरा नहुने उल्लेख गर्दै जसले आन्दोलन गरे पनि पहिलो निशाना निजी क्षेत्र हुने गरेकाले निजी क्षेत्र थप असुरक्षित भएको उद्योगी व्यवसायीको बुझाइ थियो ।
मोरङ उद्योग व्यापार संघले आयोजना गरेको विराट ट्रेड एक्स्पोमा जेनजी आन्दोलनले दिएको सन्देश, त्यसले उद्योग–व्यवसायमा पारेको प्रभाव र अब देशले लिनुपर्ने आर्थिक तथा नीतिगत बाटोमा केन्द्रित एक बहस कार्यक्रममा शनिबार यहाँका उद्योगी व्यवसायीले यस्तो धारणा राखेका थिए ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजालले जेनजी आन्दोलनले देशलाई ठूलो सन्देश दिन खोजेको बताउँदै पुरानो पुस्ता, राजनीति र कर्मचारीतन्त्र नसच्चिएसम्म आन्दोलनको मर्म पूरा नहुने धारणा राखे ।
उनले निजी क्षेत्रले धेरै अघिदेखि उठाउँदै आएका माग राज्य र राजनीतिक दलहरूले नसुनेकै कारण असन्तुष्टि विस्फोट भएको बताए । ‘देशमा भ्रष्टाचार अति भएपछि युवाहरू सडकमा उत्रिएका हुन्,’ उनले भने, ‘अब नीति, नियम र राज्य सञ्चालन कार्यशैली सबै सहज र माटो सुहाउँदो नभए जेनजी आन्दोलनको औचित्य पुष्टि हुन सक्दैन ।’
आगजनी, तोडफोड र उद्योगी–व्यवसायीमाथि आक्रमणले निजी क्षेत्रमा ‘चिसो’ पसेको उल्लेख गर्दै रिजालले यस्तो प्रवृत्तिले लगानी र रोजगारी दुवैलाई असर गर्ने चेतावनी दिए । नेपाल ठूलो बजार भएको भन्दै उनले डिजिटल बजार, हाइड्रोपावर, कृषि, पर्यटन र निर्यात प्रवर्द्धनमा ठूलो सम्भावना रहेको बताए । ‘निर्यातबिना व्यापार घाटा घटाउन असम्भव छ,’ उनले जोड दिए ।
नेपाल उद्योग परिसंघ कोशीका अध्यक्ष पवन सारडाले जेनजी आन्दोलन व्यापक असन्तुष्टिको परिणाम भएको र मागहरू जायज भएको बताए । तर राजनीतिक दल र कर्मचारीतन्त्रमा अझै मानसिक परिवर्तन नआएको उनको भनाइ थियो ।
भ्रष्टाचाररहित देश नबनाउन्जेल जेनजी आन्दोलनको सार्थकता हुँदैन । छिमेकी मुलुकहरूले प्रगति गरिसक्दा नेपाल किन पछि पर्यो भन्ने प्रश्न सारडाको थियो ।
उच्च करका कारण नेपाली उद्योग व्यवसाय भारतसँग प्रतिस्पर्धी बन्न नसकेको उल्लेख गर्दै सरल कर प्रणाली लागू गर्नुपर्नेमा सारडाको जोड थियो । युवा पलायन रोक्न सूचना प्रविधि (आईटी) क्षेत्रमा लगानी बढाउनुपर्ने सुझाव उनको थियो ।
उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलालले जेनजी आन्दोलनले अर्थतन्त्र र व्यवसायमा ठूलो क्षति पुर्याएको बताए। ‘दुई दिनमै करिब एक खर्ब रुपैयाँ बराबरको क्षति भयो,’ दुलालले भने, ‘आन्दोलनको नेतृत्व स्पष्ट नहुँदा व्यवसायी झन् त्रसित बन्नुपर्यो ।’ कर तिर्ने व्यवसायीले सुरक्षा प्रत्याभूति नपाएको गुनासो गर्दै उनले लगानीको वातावरण बिग्रिएको बताए ।
आफ्नो होटल ‘नेपालिरिका’मा आगलागी हुँदा राज्यबाट पर्याप्त क्षतिपूर्ति नपाएको गुनासो गर्दै दुलालले करदाता सम्मानित हुने संस्कार विकास गर्नुपर्नेमा जोड दिए । उपभोक्ता घट्दै जानु र युवा पलायन देशकै ठूलो समस्या बनेको उल्लेख गर्दै उनले पर्यटन, कृषि र जलविद्युत्मा लगानी बढाएर देशभित्रै अवसर सिर्जना गर्नुपर्ने धारणा राखे ।
कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाले जेनजी आन्दोलन नेतृत्वविहीन र संगठनविहीन भएकाले अपेक्षित परिणाम दिन नसकेको बताए । आन्दोलनको नाममा निजी क्षेत्रमा भएको आक्रमण निन्दनीय भएको उनको भनाइ थियो ।
निरौलाले कर प्रणालीमा सुधार गर्न जरुरी भएको उल्लेख गर्दै संघ, प्रदेश र स्थानीय तहबीच कानुनी एकरूपता र राष्ट्रिय पूँजी संरक्षणको आवश्यकता औंल्याए । पर्यटन क्षेत्रमा अथाह सम्भावना रहेको भन्दै एकीकृत मास्टर प्लान बनाएर नतिजामुखी विकासमा अघि बढ्नुपर्ने सुझाव दिए । सुशासनसहितको विकास प्रणालीमा प्रवेश गर्नु नै जेनजी आन्दोलनको मूल माग भएको उनको तर्क थियो ।
कार्यक्रम संयोजक अनिल सारडाले एक्स्पोमा हुने यस्ता छलफलले नीति निर्माता, निजी क्षेत्र र युवाबीच संवाद बढाउने विश्वास व्यक्त गरे । उनले विराट ट्रेड एक्स्पोले व्यापार प्रवर्द्धनसँगै नीतिगत बहसलाई समेत प्राथमिकता दिएको बताए ।








प्रतिक्रिया