६ लाखमै बन्ने छ घर, घर निर्माण फेस्टमा हेर्न पाइन्छ नमूना

938
Shares

काठमाडौं । यही पुस १२ देखि १५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुन गइरहेको दोस्रो संस्करणको ‘घर निर्माण फेस्ट २०८२’ को सम्पूर्ण तयारी पूरा भएको छ।

उक्त फेष्टमा ६ लाख रुपैयाँमै निर्माण गर्न सकिने घरका विभिन्न नमुनाहरू प्रदर्शनीमा राखिनेछन् । साथै कमाउने घर, अर्किड भिल्ला, ह्वाइट रुम्स, डोम हाउसजस्ता आधुनिक तथा वैकल्पिक आवासीय अवधारणाबारे जानकारी प्रदान गरिनेछ।

निर्माण क्षेत्रमा आधुनिक प्रविधि, किफायती समाधान र गुणस्तरीय सामग्रीको प्रवद्र्धन गर्ने उद्देश्यले र निर्माण फेस्ट २०८२’ आयोजना गर्न लागेको आयोजक घर निर्माण फाउन्डेसनले जनाएको छ ।

यो फेस्टलाई नेपालकै सबैभन्दा ठूलो निर्माण सम्बन्धी प्रदर्शनीका रूपमा विकास गरिँदै आएकोे आयोजकको भनाई छ ।

फेस्टले निर्माण व्यवसायी, इन्जिनियर, आर्किटेक्ट, विद्यार्थी तथा सर्वसाधारणलाई एउटै थलोमा ल्याउने लक्ष्य राखेको छ।
१५० भन्दा बढी स्टलहरू रहने प्रदर्शनीमा निर्माण सामग्री, डिजाइन, प्रविधि तथा सेवासम्बन्धी विस्तृत जानकारी उपलब्ध हुनेछ। मेलाबाट २ सय करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ।

यस संस्करणलाई विशेष बनाउन विश्व कीर्तिमानी इँटाको प्रदर्शनी तथा जस्मिन पेन्ट्सको सहकार्यमा विश्वकै सबैभन्दा ठूलो ढाका टोपी प्रदर्शनीसमेत आयोजना गरिनेछ।