आनन्द बगरियाको निम्बस ग्रुपले एकै वर्ष गर्‍यो साढे २० अर्ब रुपैयाँको व्यापार

2.7k
Shares

काठमाडौं । निम्बस ग्रुपका दुई वटा कम्पनीले एकै वर्ष साढे २० अर्ब रुपैयाँको व्यापार गरेका छन् । ग्रुपका दुई कम्पनीले गत आर्थिक वर्षमा २० अर्ब ४१ करोड ६० लाख रुपैयाँको व्यापार गरेका हुन् ।

ग्रुपको प्रोबायोटेक इन्डस्ट्रिजले गत आवमा करिब साढे १२ अर्ब रुपैयाँको व्यापार गरेको छ भने अर्को कम्पनी निम्बस इन्टरनेसनल कम्पनी प्रालिले ८ अर्ब रुपैयाँको व्यापार गरेको छ । दुई कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा उल्लेख्य बढेको पाइएको छ ।

१. प्रोबायोटेक इन्डस्ट्रिज

व्यञ्जनसहित अन्य ब्रान्डका दाना बिक्री गर्ने प्रोबायोटेक इन्डस्ट्रिजले गत आर्थिक वर्षमा करिब साढे १२ अर्ब रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत आवमा १२ अर्ब ३८ करोड ३० लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले सन् २०२४ मा ९ अर्ब ९२ करोड ८० लाख रुपैयाँको कारोबार गरेको थियो । कम्पनीका अनुसार सन् २०२४ को तुलनामा सन् २०२५ मा व्यापार २५ प्रतिशतले बढेको छ । कम्पनीले सन् २०२३ मा ११ अर्ब ४२ करोड १० लाख रुपैयाँ, सन् २०२२ मा १४ अर्ब ९३ करोड २० लाख रुपैयाँ र सन् २०२१ मा ११ अर्ब १० करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् २००१ मा स्थापना भएको यो कम्पनी सन् २०२१ मा पब्लिक कम्पनीका रूपमा परिणत भएको छ । कम्पनीले जीवजन्तुको दाना उत्पादन गर्दै आएको छ । कम्पनीले कच्चा तेल र दाल–चामलहरू प्रयोग गरी दाना उत्पादन गर्दछ । कम्पनीको वार्षिक दाना उत्पादन क्षमता एक लाख मेट्रिक टन छ भने ६९ हजार ५ सय मेट्रिक टन सोया एक्सट्र्याक्सन, ४९ हजार मेट्रिक टन कच्चा तेल, २३ हजार मेट्रिक टन पिठो तथा नगेट र ३० हजार मेट्रिक टन दाल उत्पादन गर्दै आएको छ ।

कम्पनीले व्यञ्जन, शक्ति, शक्ति हाइ-गेन, सोयाम्याक्स, सुनौलो किरण, प्रोभिट र प्रोमिन ब्रान्डका उत्पादनहरू बजारमा बिक्री गर्दै आएको छ । निम्बस ग्रुपद्वारा सञ्चालित यो कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ४ अर्ब ३४ करोड १० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ४३ करोड १० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ३ अर्ब ९१ करोड रुपैयाँको रेटिङ गराएको हो ।

कम्पनीले नेपाली बजारमा दाना र खाद्यान्न क्षेत्रमा मजबुत सप्लाई चेन स्थापित गरेको छ । नेपालको दाना उत्पादनमा यो पहिलो र लामो इतिहास बोकेको कम्पनी हो । कम्पनीले सन् २००४ देखि व्यावसायिक कारोबार सुरु गरेको थियो ।

२. निम्बस इन्टरनेसनल कम्पनी

निम्बस इन्टरनेसनल कम्पनीले गत आवमा ८ अर्ब ३ करोड ३० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२४ मा ७ अर्ब ४७ करोड ३० लाख रुपैयाँ, सन् २०२३ मा ७ अर्ब ४ करोड ६० लाख रुपैयाँ, सन् २०२२ मा ८ अर्ब ६२ करोड ७० लाख रुपैयाँ र सन् २०२१ मा ७ अर्ब २२ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् २००० मा स्थापना भएको यस कम्पनीले विभिन्न कृषिजन्य वस्तु र जीवजन्तुको दाना उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ । कम्पनीले विभिन्न देशबाट आयातित तथा स्थानीय कृषकहरूले उत्पादन गरेका सामग्री उपयोग गर्ने गर्दछ ।

आनन्दकुमार अग्रवाल (बगरीया) र जगदीशप्रसाद अग्रवालको लगानी रहेको यस कम्पनीले अल्पकालीन कर्जाका लागि १ अर्ब ९५ करोड २० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले उत्पादन गरेका दाना र अन्य वस्तु विभिन्न ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ ।