मन्त्री बनेको १०० दिनको उपलब्धि सार्वजनिक गर्दै कुलमानले भने: काम गर्न सफल भइयो



काठमाडौं।ऊर्जासहित तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कुलमान घिसिङले सरकार सम्हालेको १०० दिनमा देखिने गरी उपलब्धिमूलक काम गरेको दाबी गरेका छन् ।

बुधबार ऊर्जा तथा सिँचाइ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तथा सहरी विकास मन्त्रालयका १०० दिनमा भएका कामहरूको सार्वजनिक पत्रकार सम्मेलनमा उनले यस्तो दाबी गरेका हुन् ।

मन्त्री घिसिङले विकासको योजना बन्धक बनाएर पछिल्लो १४-१५ वर्षदेखि अलपत्र पारिएका ३ अर्बका ४२ योजनाको ठेक्का तोडिएको जानकारी दिए ।

यस्तै थप डेढ सय रुग्ण आयोजनाको ठेक्का पनि तोड्ने प्रक्रियामा रहेको उनले बताए। मन्त्री घिसिङले आफूले जिम्मेवारी सम्हालेपछि यो वर्षको मनसुनजन्य समयमा कुनै पनि प्रकारका ठूला घटनाहरू नभएको जानकारी दिए। उनले आफू प्रचारका लागि काम गर्नुभन्दा मौन भएर गर्नैपर्ने कामहरू सम्पन्न गरेको बताए।