हिमाल सफा राख्ने सम्बन्धी ५ वर्षे कार्ययोजना सार्वजनिक, निजी क्षेत्रसँग मिलेर काम गर्ने


काठमाडौं । सरकारले हिमाल सफा गर्नेसम्बन्धी ५ वर्षे कार्ययोजना सार्वजनिक गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले ‘हिमाल सफा राख्ने सम्बन्धी कार्ययोजना २०८२–८६) सार्वजनिक गरेको छ ।

पर्यटन विभागले हिमाल आरोहण गर्नुको आकर्षण र चुनौतीसहितको विषय समेटेर उक्त कार्ययोजना तयार पारेको हो ।

कार्ययोजनामा हिमालको फोहर व्यवस्थापनको वर्तमान अवस्थाको विश्लेषणसहित फोहर व्यवस्थापनबारे भएका विगतका प्रयासहरुलाईसमेत आत्मसाथ गरेको छ ।

हाल खुम्बु क्षेत्रमा फोहरोमैला व्यवस्थापन चुनौतीपूर्ण रहको, आधार शिविरदेखि माथि आरोहीले गर्ने फोहर व्यवस्थापन गर्न पुप ब्यागको अनिवार्य व्यवस्था भएको भएपनि फोहर बढ्दै गएको उल्लेख छ ।

सरकारले सफा हिमाल, स्वच्छ वातावारण बनाउने गरी यो कार्ययोजना ल्याएको हो । यसबाट फोहरमैलाको दिगो व्यवस्थापनद्वारा सफा हिमाल, स्वच्छ वातावरण सुनिश्चित गर्ने लक्ष्य पनि अघि सारिएको छ ।

सरकारले हिमाल आरोहण र यससँग सम्बन्धित कार्यबाट सिर्जित फोहरमैला र शव व्यवस्थापन कार्यलाई मार्गदर्शन गर्ने, फोहरमैलाबाट हुने वातावरणीय प्रदूषण र जनस्वास्थ्यमा पर्ने नकारात्मक असार न्यूनीकरण गर्ने उद्देश्य अगाडि सारेको छ ।

हिमाल सफा गर्ने कार्यका लागि सरकारले पर्यटन मन्त्रालयका सचिवको संयोजकत्वमा कार्ययोजना कार्यान्वयन निर्देशक समितिको गठन गर्ने पनि उल्लेख छ ।

सरकारले हिमाल सफा गर्ने लागि विभिन्न चारवटा रणनीतिमार्फत २९ वटा कार्यक्रम सार्वजनिक गरेको छ । यस्तो कार्यक्रममा हिमाल सफाइको सचेतना जगाउनेदेखि हिमालको चुलीसम्मै पुगेर सफा गर्ने भएको छ ।

यस्तो कार्यक्रमका लागि सरकारले निजी क्षेत्रसँग समन्वय गरेर काम गर्ने छ । सम्बन्धित स्थानीय निकाय, पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघ र सगरमाथा प्रदूषण नियन्त्रणसमिति सहितका नियकासँग सहकार्य र समन्वयमै हिमाल सफाइको काम गर्ने गरी कार्ययोजना सार्वजनिक गरेको छ ।

यस्तो रणनीतिअन्तर्गत सबैभन्दा पहिला पर्वतारोहण प्रक्रियाका पूर्व तयारी, आरोहण अनुमति लगायत फोहरमैला व्यवस्थापन धरौटी फिर्तासम्मका प्रत्येक चरणमा फोहरमैला व्यवस्थापन कार्यलाई प्राथमिकतासहित समायोजन गर्दै जाने भएको छ ।

दोस्रो चरणमा पर्वतारोहण व्यवस्थापन गर्ने कार्यमा संलग्न सरकारी, गैरसरकारी, सामुदायिक र संस्थागत सरोकारवालाहरुमा सहकार्य गर्ने भएको छ । यसका लागि फोहरमैला व्यवस्थापन सम्बन्धमा समान धारणा तथा जिम्मेवारी अभिवृद्धि गर्ने गरी बहुसरोकारवाला सहकार्यको ढाँचा अबलम्बन गर्ने भएको छ ।

तेस्रो रणनीतिमा हिमाल आरोही एवं सहयोगीहरुबाट उत्सर्जन हुने सबैखाले फोहर व्यवस्थापन गर्न आवश्यक पर्ने भौतिक पूर्वाधार, सूचना प्रविधि र आवश्यक उपकरणहरुको व्यवस्था गर्ने भएको छ ।

चौथो रणनीतबाट भने फोहरमैला व्यवस्थापन कार्य प्रभावकारी बनाउन आधुनिक प्रविधि र दक्ष जनशक्ति विकासका कार्यक्रम सञ्चालन गर्ने भएको छ । सबै चरणमा गरिने कायक्रम र सहकार्यका निकायमा स्थानीयन तहदेखि प्रदेश सरकार र पर्यटनसँग सम्बन्धित संघसंस्थाहरु रहेका छन् ।