कुलमानले निर्माण व्यवसायीको मानमर्दन गरे, सरकारी संयन्त्र प्रयोग गरेर पार्टीको प्रचारमा लागे: अध्यक्ष सिंह


काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङले निर्माण व्यवसायीहरूको मान मर्दन गरेको आरोप लगाएका छन् ।

बागमती प्रदेश निर्माण व्यवसायी महासंघको साधारण सभालाई सम्बोधन गर्दै उनले जेनजी विद्रोहबाट बनेको सरकारले निर्माण व्यवसाय र निर्माण उद्योगीहरूमा निर्मम प्रहार गरिरहेको बताए ।

ऊर्जा, जलस्रोत, सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास मन्त्रीले असभ्य भाषाबाट निर्माण व्यवसायीहरूमाथि प्रहार गरिरहेको उनको आरोप छ ।

मन्त्री घिसिङको कदमले व्यवसायीहरू हतोत्साहीत भएको र मन्त्रीले निर्माण उद्योगलाई धराशायी बनाइरहेको सिंहले आरोप लगाए । ‘कुलमानले मन्त्री भएपछि अहिले म्याराथन दौडको सिलसिलामा देशभरका निर्माण व्यवसायीहरूलाई अलिकति असभ्य भाषाहरू पनि प्रयोग गर्नु भएको छ । उहाँले विकास निर्माणस्थलहरूमा भ्रमण गरेर त्यस्तो कमी कमजोरीलाई नियालेर त्यसअनुसार काम सम्पन्न गर्न ऊर्जा दिनुको सट्टा निर्माण व्यवसायीहरूको हतोत्साहीत गर्ने, मानमर्दन गर्ने गरेर अभिव्यक्तिहरू दिने काम गर्नुभएको छ,’ अध्यक्ष केसीले भने, ‘सुन्नै नसक्ने, यो धर्तीमा रहन्न, भन्नेसम्मको अभिव्यक्ति दिने र त्यसैअनुसारको प्रचारप्रसार गर्ने शैलीमा छ । असन्तुष्टिबाट निस्किएको विद्रोहबाट बनेको सरकारले पछ्याएको बाटो पनि विगतको दिनको भन्दा फरक पाउन सकेको छैन ।’

असन्तुष्टि र विद्रोहबाट बनेको सरकारले पछ्याएको बाटो पनि विगतको भन्दा फरक पाउन नसकेको उनको भनाइ छ ।

जेनजी विद्रोहबाट बनेको सरकारबाट निर्माण व्यवसाय र निर्माण उद्योगीहरूमा भइरहेको प्रहार बारे सरकारको गम्भीर ध्यानाकर्षण गराएको उनले बताए ।

अध्यक्ष सिंहले विगतमा सरकारी संयन्त्रको प्रयोग गरी राजनीतिक स्वार्थ पूरा गर्ने गरिएको र अन्तरिम सरकारमा पनि त्यही क्रमले निरन्तरता पाएको दाबी गरे । मन्त्री घिसिङ सरकारी संयन्त्रको प्रयोग गरेर पार्टीको प्रचारमा लागिरहेको उनको आरोप छ ।