नेपाल नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकमा देवचन्द्रलाल कर्ण


काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकमा देवचन्द्रलाल कर्ण नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट कर्णलाई प्राधिकरणको रिक्त महानिर्देशक पदको कामकाज गर्ने गरी सरकारले निमित्तको जिम्मेवारी दिएको हो ।

निवर्तमान महानिर्देशक ई. प्रदीप अधिकारी १७ मंसिरदेखि भ्रष्टाचार आरोपमा निलम्बनमा परेपछि प्राधिकरणको महानिर्देशक पद रिक्त छ । अधिकारीको चार वर्षे पदावधि आगामी १७ माघदेखि सकिनु दुई महिना अगाडि नै उनी निलम्बनमा परेर रिक्त रहेकाे प्राधिकरण प्रमुखमा निमित्तको जिम्मेवारी कर्णलाई दिइएको छ । कर्ण प्राधिकरणकै १२ औं तहका वरिष्ठ उपमाहानिर्देशक हुन् । उनले शुक्रबार नै पदभार ग्रहणसमेत गरेका छन् ।

प्राधिकरणमा हाल ५ जना उपमहानिर्देशक रहेकामा अधिकारीसँगै थप २ वरिष्ठ उपमहानिर्देशकलाई पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार मुद्दा लागेको छ । प्राधिकरणका वरिष्ठ उपमहानिर्देशकद्वय प्रतापबाबु तिवारी र हंशराज पान्डेविरुद्ध अख्तियारले मुद्दा दर्ता गराएकोले त्यसको अन्तिम टुंगो नलागेसम्म उनीहरु निलम्बनमै रहनेछन ।

अधिकारीको पदावधि नसकिएकाे र उनी निलम्बनमा मात्रै परेकोले १७ माघ अगाडि नयाँलाई महानिर्देशक बनाउन नमिल्ने भएकोले पनि सरकारले हाल कर्णलाई निमित्त दिएको हो । यसअघि सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव मुकेश डंगोलाई प्राधिकरणको महानिर्देशकको समेत जिम्मेवारी दिएको थियो ।

कर्मचारीको माग अनुसार वरिष्ठताका आधारमा प्राधिकरणकै उपमहानिर्देशकलाई जिम्मेवारी दिनुपर्ने आवाज उठेको र प्राधिकरणकै पूर्णकालीन कर्मचारीले निमित्त महानिर्दशकको जिम्मा पाउँदा कामकाज सहज हुने पर्यटन मन्त्रालयकै निष्कर्षसहित कर्णलाई निमित्तको जिम्मेवारी तोकिएको हाे ।

प्राधिकरणका बरिष्ठ उपमहानिर्देशक रहेका देवचन्द्रलाल कर्ण र प्रेमनाथ ठाकुर एकैदिन उपमहानिर्देशक भएका १२ औं तहका कर्मचारी हुन् । उनीहरु दुबै जना २०७८ पुस १५ गते नै उपमहानिर्देशक भएका हुन् । त्यसो त सरकारले कर्णलाई नै महानिर्देशक बनाउन पनि सक्छ ।

प्रेमनाथ र देवचन्द्रलाल आगामी २०८४ पुस १५ सम्म मात्रै प्राधिकरणमा रहन्छन् । तर यी दुई जनामध्ये ५८ वर्षे उमेरहदका कारण कर्ण आगामी साउनदेखि र ठाकुर कात्तिकदेखि घर जाँदै छन् ।

सरकारले आगामी माग १७ पछि २०८४ को साउनसम्म कर्णलाई र त्यसपछिको साउनसम्म ठाकुरलाई वरिष्ठ कर्मचारीका आधारमा प्राधिकरणको महानिर्देशक बनाउन सक्छ । त्यसपछि प्राधिकरणको महानिर्देशकको दावेदार जगन्नाथ निरौला हुन्छन् । त्यसो त सरकारले चार वर्षकै जिम्मेवारी दिने गरी जगन्नाथ निरौलालाई महानिर्देशक बनाउन पनि सक्छ ।

यसअघि सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव मुकेश डंगोलाई प्राधिकरणको महानिर्देशकको समेत जिम्मेवारी दिएको थियो ।

प्राधिकरणकै कर्मचारीको माग अनुसार वरिष्ठताका आधारमा पमहानिर्देशकलाई जिम्मेवारी दिएपछि डंगोल मन्त्रालयको सहसचिवकै जिम्मेवारीमा फिर्ता भएका छन् । उनलाई १९ मंसिरमा मात्रै प्राधिकरण महानिर्देशकको जिम्मेवारी अर्को व्यवस्था नभएसम्मका लागि दिइएको थियो ।