भैरहवाको जहाज उड्न नसकेपछि भरतपुरबाट सडक हुँदै रविलाई रुपन्देही लगिँदै


काठमाडौं । पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रुपन्देही जान भरतपुर विमानस्थल पुगेका छन् । भैरहवाको खराब मौसमका कारण जहाज उड्न नसकेपछि वैकल्पिक मार्ग प्रयोग गर्दै उनी रुपन्देही जान लागेका हुन् ।

शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवा जान खोजे पनि मौसम नखुलेपछि लामिछाने काठमाडौंमै रोकिएका थिए । त्यसपछि लामिछाने बुद्ध एयरको जहाज चढेर चितवनस्थित भरतपुर विमानस्थल पुगेका छन् । भरतपुरबाट भने उनी सडकमार्ग हुँदै रुपन्देही जानेछन् ।

रास्वपा नेता गणेश पराजुलीले भैरहवाको जहाज उड्न नसकेपछि भरतपुर लैजाने निर्णय गरिएको बताए ।

लामिछानेसँगै उनकी श्रीमती निकिता पौडेल र रास्वपाका केही नेताहरू पनि छन् । उनलाई नेपाल प्रहरीको रोहबरमा भैरहवा लगिँदैछ ।

बिहीबार उच्च अदालत बुटवलका न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएको थियो । उक्त आदेश जिल्ला अदालत रुपन्देहीमा पुगेपछि आवश्यक कागजी प्रक्रिया पूरा गरिनेछ । कागजी प्रक्रिया सम्पन्न भएपछि मात्र उनको औपचारिक रिहाइ हुनेछ ।