रवि लामिछाने आज रिहा हुँदै


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शुक्रबार (आज) रिहा हुने भएका छन् ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिहीबार लामिछानेलाई रिहा गर्न आदेश दिएको थियो । आदेश जारी भए पनि कागजी प्रक्रिया पूरा नभएकाले उनी हिजो थुनामुक्त भएका थिएनन् ।

लामिछाने आफैं रुपन्देही जिल्ला अदालतमा उपस्थित हुनुपर्ने भएकाले उनी हिजो रिहा नभएका हुन् ।

उच्च अदालतका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले उनलाई तीन सर्तसहित रिहा गर्न आदेश दिएको थियो । आदेशमा बिगोको हकमा दायित्व सिर्जना भएमा तिर्न–बुझाउन मन्जुर हुने कागज गराउनुपर्ने उल्लेख छ ।

उक्त आदेशअनुसार आवश्यक कागज गराएपछि मात्र रिहा गर्न सकिने रुपन्देही जिल्ला अदालत प्रशासनले जनाएको छ ।

उच्च अदालतको पत्र प्राप्त भएपछि बैंक जमानत प्रमाणीकरण, सनाखतलगायतका प्रक्रिया पूरा गरिने उनको भनाइ छ ।