अर्थले पत्र पठाएपछि रिलायन्स स्पिनिङ मिल्सको आईपीओबारे छानबिन गर्न सेबोनले बनायो कमिटी


काठमाडौं । अर्थ मन्त्रालयले रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निष्कासन सम्बन्धी विषयमा छानविन गर्न नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिँदै पत्र पठाएपछि धितोपत्र बोर्डले कमिटी गठन गरेको छ ।

अर्थ मन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले नेपाल धितोपत्र बोर्ड (सेबोन)लाई पत्र लेख्दै रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निष्कासनका विषयमा छानविन तथा आवश्यक कारबाही गर्न पत्र लेखेको थियो । बिहिबार बिहान बसेको धितोपत्र बोर्डको सञ्चालक समितिको बैठकले कानून मन्त्रालयका सहसचिवसमेत रहेका बोर्ड सञ्चालक समिति सदस्य विनोदकुमार भट्टराईको संयोजकत्वमा ३ सदस्यीय कमिटी गठन गरेको एक सञ्चालकले क्लिकमान्डुलाई बताए ।

उक्त कमिटीको सदस्यमा बोर्डका सञ्चालकद्वय आनन्दराज शर्मा वाग्ले र पिताम्बर भण्डारी छन् । कमिटीलाई १५ दिनभित्र अध्ययन प्रतिवेदन पेश गर्न समय दिइएको छ ।

‘प्रस्तुत विषयमा रिलायन्स स्पिनिङ मिल्सको सेयर बुक विल्डिङ प्रक्रियाबाट निस्काशन गर्ने सम्बन्धमा भएका काम कारवाही तथा तहाँसँग सम्बन्धित अन्य विषयहरुमा विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचार उपर मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएको छ, संलग्न उजुरी समेतमा उठाइएका विषयहरु सम्बन्धमा छानविन गरी आवश्यक कारबाही गर्नुहुन र सोको जानकारी मन्त्रालयमा पठाउनु हुन २०८२ मंसिर २९ को राजस्व सचिवस्तरको निर्णय अनुसार पाना संलग्न राखि अनुरोध छ,’ अर्थले पठाएको पत्रमा भनिएको छ ।

रिलाइस्स स्पिनिङ मिललाई बुक बिल्डिङ विवधबाट आइपीओ निष्काशन गर्न धितोपत्र बोर्डले अनुमति दिएको थियो ।रिलायन्सको सेयर मूल्यको विषयमा विवाद झिक्दै संसदीय समितिदेखि अदालतसम्म पुगेको थियो ।विवाद भएपछि धितोपत्र बोर्डले आईपीओ रोकेर राखेको थियो । तर पाटन उच्च अदालतले आईपीओ नरोक्न आदेश दिएपछि धितोपत्र बोर्डले बाध्य भएर रोकेको आईपीओ दिने निर्णय गरेको थियो ।

रिलाइन्सले बैदेशिक रोजगारीमा जानेका लागि आईपीओ निष्काशन गरी बाँडफाँडसमेत गरिसकेको छ ।