
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले व्यवसायीहरूलाई वर्तमान आर्थिक अवस्थाबाट निराश नहुन आग्रह गर्दै उच्च मनोबलका साथ अघि बढ्न आह्वान गरेका छन् ।
बिहीबार गोरखापत्र संस्थानले गरेको कार्यक्रममा बोल्दै गभर्नर पौडेलले निजी क्षेत्रले धेरै आरोह–अवरोह पार गरेर यहाँसम्म आइपुगेको बताउँदै अबको समयमा पनि अघि बढ्न साहस गर्नुपर्ने बताए ।
मनोबललाई स्थिर बनाइराख्ने केही आधारहरू रहेको उनले बताए ।
आवधिक र स्वच्छ निर्वाचन प्रमुख हो । कम स्रोत भएका व्यक्तिहरूले पनि स्वतन्त्र रूपमा उठेर चुनाव जित्न सक्नु लोकतन्त्रको सकारात्मक पक्ष भएको उनले उल्लेख गरे । परम्परागत दल बाहिरबाट पनि हरेक निर्वाचनमा प्रतिनिधि निर्वाचित हुनु देश अघि बढिरहेको संकेत भएको गभर्नर पौडेलको भनाइ छ ।
गभर्नर पौडेलले उत्पादनशील क्षेत्रमा लगानी बढाउन आह्वान समेत गरे । उर्जा र यातायातजस्ता पूर्वाधार क्षेत्रमा ठूलो खर्च गर्न आँट गर्नुपर्ने बेला आएको उल्लेख गर्दै उनले बैंकिङ क्षेत्रबाट आवश्यक सहयोग गर्न आफूहरू तयार रहेको स्पष्ट पारे ।
गभर्नर पौडेलले बोण्ड जारी गर्ने विषयमा पनि निजी क्षेत्रसँग निरन्तर छलफल र नेगोसेसन भइरहेको जानकारी दिए । उर्जा क्षेत्रमा उत्पादन, प्रसारण र वितरणमा थप लगानीको आवश्यकता औँल्याउँदै यातायात पूर्वाधारमा पनि ठूलो लगानी गर्न सकिने प्रशस्त सम्भावना रहेको बताए । यसका लागि नेपाल राष्ट्र बैंकले नीतिगत तथा प्रक्रियागत सहजीकरण गर्ने प्रतिवद्धता जनाए ।
गभर्नर पौडेलले यसो भने
ठूलो खर्च गर्न आँट गरोस, बैंकिङ क्षेत्रबाट हामीले गर्नुपर्ने सहयोग गर्न तयार छौं । बोण्डहरु जारी गर्ने बारेमा पनि हाम्रो नेगोसेसन भएको थियो । उर्जा, यातायात जस्ता क्षेत्रमा राम्रो खर्च गर्न कोशिस गरौँ । उर्जा, यातायातमा धेरै सम्भावना छ, यो भन्दा धेरै राम्रो बनाउन सकिन्छ । सम्भावनाको केही प्रतिशत पनि हामीले प्रयोग गरेको देखिदैन । यातायतमा पनि ठूलो लगानी गर्न आँट गरौँ । राष्ट्र बैंकबाट पनि सहजिकरण गछौँ । म व्यवसायी साथीहरुलाई भन्न चाहन्छु उच्च मनोबल लिएर काम गर्नुहोस्, यो भन्दा प्रतिकूल परिस्थीतिमा मान्छेहरुले मेहनत गरेका छन् । सबै देशहरु विपन्न हुँदा धेरै कारणहरु हुन्छ । हामी अप्ठ्यारो सोचेर बस्नुपर्ने केही कारण छैन । हामी धेरै प्रकारका आरोह अवरोह पार गरेर यहाँ आइपुगेका छौं । २० वर्ष अघि हाम्रो देशमा आन्तरीक द्वन्द थियो । राजदरबार हत्यकाण्ड भएका थियो । यतिधेरै भुइचालोहरु आए । धेरै प्रकारका आरोह अवरोहरु भएको भइ छ । त्यही पनि २/४ ओटा कुराहरु छन् हामीलाई स्टेबल बनाइरहेको छ । त्यो मध्ये एक हाम्रो आवधिक निर्वाचनहरु हुन । निर्वाचनहरु स्वच्छ भइरहेको छ भन्नेमा हामी सबैले विश्वास गर्दै आएका छौं । कम पैसा भएकाहरु पनि स्वतन्त्र रुपमा उठेर चुनाव जितिरहेका छन् । हरेक निर्वाचनमा परम्परागत पार्टी बाहिरबाट पनि चुनाव जितेका छन् । यो चिजहरुले हामीलाई अघि बढ्न पनि सघाउ पुर्याइरहेको छ ।








प्रतिक्रिया