भूगर्भ सिमेन्टको ६० प्रतिशत हकप्रद र त्यसपछि आइपीओ जारी गर्ने योजना


काठमाडौं । भूगर्भ सिमेन्ट लिमिटेडले आफ्नो सातौँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । वि.सं. २०७४ मा स्थापना भएको यो उद्योग पश्चिम नेपालको विश्वसनीय तथा उदयोन्मुख अग्रणी सिमेन्ट उत्पादक हो ।

कम्पनीको सातौं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष नन्दीकेशर पौड्यालले उद्योगको दीर्घकालीन स्वावलम्बन र प्रतिस्पर्धात्मक क्षमता वृद्धिका लागि प्रतिदिन ८०० देखि १००० मेट्रिक टन क्षमताको रोटरी प्लान्ट स्थापना गर्ने प्रक्रिया अघि बढाएको बताए ।

सभाले हालको चुक्तापुँजी ५० करोड ५० लाख रुपैयाँको ६० प्रतिशत (१००:६० को अनुपातमा) हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । अध्यक्ष पौड्यालका अनुसार हकप्रद सेयर जारी गरेपछि कम्पनीको पुँजी ८० करोड ८० लाख रुपैयाँ पुग्नेछ ।

हकप्रद सेयर निष्कासनपछि सर्वसाधारणका लागि २० प्रतिशत साधारण सेयर (आइपीओ) जारी गर्ने योजना रहेको पनि उनले जानकारी दिए । आइपीओ जारी गरेपछि कम्पनीको कुल चुक्तापुँजी १ अर्ब १ करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब ६६ करोड ९८ लाख रुपैयाँको कारोबार गरेको छ, जुन अघिल्लो आवको तुलनामा २० प्रतिशतले बढी हो । सोही अवधिमा कम्पनीले ३ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । साथै, २०८२ असार मसान्तसम्म तिर्नुपर्ने सम्पूर्ण ब्याज तथा बक्यौता रकम समयमै चुक्ता गरी उद्योगले वित्तीय अनुशासन कायम गरेको अध्यक्ष पौड्यालले बताए ।

उद्योगले कारखाना, कार्यालय र खानीमा गरी १०० भन्दा बढीलाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ भने ढुवानी, वितरण तथा डिलर नेटवर्कमार्फत हजारौँका लागि अप्रत्यक्ष रोजगारी सिर्जना भएको छ ।

विगतदेखि नै ओपीसी र पीपीसी दुवै प्रकारका गुणस्तरीय सिमेन्ट उत्पादन गर्दै आएको यस उद्योगको हाल क्लिन्कर उत्पादन क्षमता प्रतिदिन ३०० मेट्रिक टन र सिमेन्ट उत्पादन क्षमता प्रतिदिन ५०० मेट्रिक टन रहेको छ । उद्योगका लागि आवश्यक चुनढुंगा अर्घाखाँचीको खाँचीकोटस्थित आफ्नै खानीबाट उत्खनन गर्ने गरिएको छ ।

कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–६ मा अत्याधुनिक कारखाना रहेको यस उद्योगले स्थापना कालदेखि नै गुणस्तरीय उत्पादन र निरन्तर सेवामार्फत पश्चिम नेपालको निर्माण बजारमा उल्लेखनीय स्थान बनाएको छ । उत्पादन वृद्धि, वित्तीय अनुशासन, कर्जा व्यवस्थापन तथा पुँजी सुदृढीकरणसहित उद्योगले पछिल्ला वर्षहरूमा स्थिर प्रगति हासिल गरेको कम्पनीले जनाएको छ ।