
काठमाडौं । सिजी होल्डिङ्स ग्रुपको सिग्नेचर इभेन्ट प्रालिले झम्सिखेलमा निर्माण गरेको सिग्नेचर प्लाटिनम टावरले एकै वर्ष साढे १५ करोड रुपैयाँको कारोबार गरेको छ ।
कम्पनीले गत आवमा १५ करोड ६० लाख रुपैयाँको कारोबार गरेको हो ।
कम्पनीले झम्सिखेलमा मल्टिस्टोर व्यवसायिक कम्प्लेक्स सञ्चालन गर्दै आएको छ । सन् २०२४ को डिसेम्बरबाट सञ्चालनमा आएको टावरमा ७ वटा स्टोरे हाउजिङ छ । उक्त हाउजिङमा मल्टिपर्पोज हल, भीआइपी कोठा, अफिस स्पेस र रेष्टुरेन्ट सञ्चालनमा छ ।
कम्पनीकाअनुसार गत आवमा इभेन्ट बुकिङ र ब्याङ्क्वैटको माग बढ्दा उच्च कारोबार भएको हो । कम्पनीले उक्त स्थानमा भाडामा लिई टावर बनाएको हो ।
शिला चौधरी अध्यक्ष रहेको कम्पनीमा सिग्नेचर प्लाटिनम टावरको ३२.४७ प्रतिशत, एसोसिएटेड अटोमोबाइल प्रालिको ३१.१८ प्रतिशत, केएमसी अटोमोबाइल प्रालिको २९.१० प्रतिशत र सीजी प्रोपर्टिजको ७.२४ प्रतिशत स्वामित्व छ ।
कम्पनीले टावर १ अर्ब ३७ करोड ५० लाख रुपैयाँ लागतमा निर्माण गरेको थियो । जसमा कम्पनीले ६४ प्रतिशत लगानी कर्जा लिई गरेको थियो । त्यसैगरी, कम्पनीले दीर्घकालीन कर्जाका लागि ८७ करोड १६ लाख रुपैयाँको रेटिङ गराएको छ ।








प्रतिक्रिया