अरनिको राजमार्गको ईको पहिरो नियन्त्रण गर्न ठेक्का आह्वान

63
Shares

काठमाडौं । सरकारले तातोपानी नाका जोड्ने मुख्य सडक खण्डको इको पहिरो नियन्त्रण गर्नका लागि ठेक्का आह्वान गरेको छ ।

इको पहिरो नियन्त्रणका लागि स्थानीयबासीहरु पछिल्लो एक सातादेखि सडक अवरुद्ध पारेर आन्दोलन गर्र्दैआएका थिए । स्थानीयबासी र चीनसँग व्यापार गर्दैआएका व्यापारीहरु गत बिहिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङलाई सिंहदरबारमा भेटेका थिए । मन्त्री घिसिङले तत्कालै मन्त्रालयका सचिबलाई टेलिफोन गर्दै ठेक्का आह्वान गर्न निर्देशन दिएका थिए ।।

यो निर्देशनपछि सडक डिभिजन कार्यालय चरिकोटले इको पहिरो नियन्त्रण गर्न शुक्रबार ठेक्का आह्वान गरेको हो ।

स्थानीयबासीहरुले १० किलो, कोप्लाङ, घट्टेखोला, लिपिङलगायतका सडक खण्डमै बाँस गाँडेर सडक खण्ड अवरुद्ध पारेका थिए ।

इको पहिरोनजिक पटक पटक पहिरो जाने र सडक भाँसिने भएर बाटो अवरुद्ध हुँदै आएको छ । उक्त स्थानमा स्थाई रुपमा पहिरो नियन्त्रण र सडक निर्माण गर्नुपर्ने माग राखेर स्थानीयले सडक अवरुद्ध गरेका थिए ।

सडक अवरुद्धका कारण चीनबाट सामानसहित आयात भएका सयौं कन्टेनर सीमा क्षेत्रमा अलपत्र परेको नेपाल हिमालय सीमापार बाणिज्य संघका कार्यसमिति सदस्य जितेन्द्र दाहालले जानकारी दिए ।

दाहालका अनुसार बाटो अवरुद्ध भएकाले करिब ७० करोड रुपैयाँबराबरको स्याउ बोकेको कन्टेनरसमेत रोकिएका कारण व्यवसायीले ठूलो क्षति व्यहोर्न बाध्य भएका छन् । कन्टेनरमा भएका अधिकाँश स्याउ कुहिन थालेका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अरनिको राजमार्गको दोलालघाट–बाह्बिसे– कोदारी सडक खण्डलाई एनएच ३४ मा समावेश गरी चालु आर्थिक वर्षमा ८ करोड र उक्त पहिरो नियन्त्रणको लागी ४८ करोड ४९ लाख रुपैयाँबराबरको बजेट बिनियोजन गरेको छ ।