
काठमाडौं । तातोपानी नाका जोड्ने मुख्य सडक खण्डको निर्माण तत्कालै गर्नुपर्ने माग राखेर स्थानीयबासीले उक्त सडक अवरुद्ध पारेका छन् ।
सिन्धुपाल्चोकको लार्चास्थित तातोपानी बन्दरगाहदेखि करिब ३ किलोमिटर माथिको इको पहिरो भन्ने स्थानमा स्थानीयबासीले पछिल्लो ४ दिनदेखि सडक अवरुद्ध पारेका छन् ।
स्थानीयबासीहरुले १० किलो, कोप्लाङ, घट्टेखोला, लिपिङलगायतका सडक खण्डमै बाँस गाँडेर सडक खण्ड अवरुद्ध पारेका छन् ।
इको पहिरोनजिक पटक पटक पहिरो जाने र सडक भाँसिने भएर बाटो अवरुद्ध हुँदै आएको छ । उक्त स्थानमा स्थाई रुपमा पहिरो नियन्त्रण र सडक निर्माण गर्नुपर्ने माग राखेर स्थानीयले सडक अवरुद्ध गरेका हुन् ।
चार दिनदेखि अवरुद्ध भएको सडकको कारण चीनबाट सामानसहित आयात भएका सयौं कन्टेनर सीमा क्षेत्रमा अलपत्र परेको नेपाल हिमालय सीमापार बाणिज्य संघका कार्यसमिति सदस्य जितेन्द्र दाहालले जानकारी दिए ।
दाहालका अनुसार बाटो अवरुद्ध भएकाले करिब ७० करोड रुपैयाँबराबरको स्याउ बोकेको कन्टेनरसमेत रोकिएका कारण व्यवसायीले ठूलो क्षति व्यहोर्न बाध्य भएका छन् । कन्टेनरमा भएका अधिकाँश स्याउ कुहिन थालेका छन् ।
आफूहरुले गृहमन्त्रालयसहित स्थानीय प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएपनि बाटो सुचारु नहुँदा सबै स्याउ कुहिएर नष्ट हुने अवस्थामा पुगेको दाहालले जानकारी दिए ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अरनिको राजमार्गको दोलालघाट–बाह्बिसे– कोदारी सडक खण्डलाई एनएच ३४ मा समावेश गरी चालु आर्थिक वर्षमा ८ करोड र उक्त पहिरो नियन्त्रणको लागी ४८ करोड ४९ लाख रुपैयाँबराबरको श्रोत सुनिश्चितका साथै ठेक्का व्यवस्थापनको लागि अर्थ मन्त्रालयसँग सहमति माग गरेको थियो ।
अर्थमन्त्रालयले भने चालु आर्थिक वर्षमा बहुवर्षीय स्रोत सहमति दिने व्यवस्था भइनसकेको हुँदा चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने कामको यकीन गरी प्रक्रिया अघि बढाउन भौतिक पूर्वाधार मन्त्रालयलाई गत मंगलबार जवाफ पठाएको थियो ।







प्रतिक्रिया