मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री कार्की, को को बन्दै छन् ?

3.2k
Shares

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज चौथोपटक मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी छन् ।

उनले मन्त्रिपरिषद्मा ४ जना सदस्य थप गर्न लागेकी हुन् ।

स्रोतका अनुसार मन्त्री पदमा नियुक्त हुनेहरूमा कुमार इङनाम, माधव चौलागाईँ, राजेन्द्रसिंह भण्डारी र श्रद्धा श्रेष्ठ रहेका छन् ।

भण्डारी नेपाल प्रहरीका अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक (डीआईजी) हुन् भने श्रेष्ठ नेपाल पर्यटन बोर्डकी पूर्व कर्मचारी हुन् ।

श्रद्धालाई महिला तथा बालबालिका, चौलागाईं वन, भण्डारीलाई श्रम र इङ्नाम भूमि मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।

नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण आजै दिउँसो ३ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा हुने तय भएको छ ।

यसअघि मन्त्रिपरिषद् १० सदस्यीय थियो ।