कुलमानले हितेन्द्रलाई भने: मिलेर काम गर्नुपर्छ (अडियो)

0
Shares

काठमाडौं । ऊर्जा मन्त्री कुलमान घिसिङ र नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यबीच छलफल भएको छ ।

सर्वोच्च अदालतको आदेशपछि बुधबार प्राधिकरणमा पुन: पदबहाली गरेको भोलिपल्ट प्रबन्ध निर्देशक शाक्य मन्त्री घिसिङसँगको भेटवार्ताका लागि सिंहदरबार पुगेका हुन् ।

पदबहालीका क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री घिसिङसँग मिलेर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका शाक्यलाई मन्त्री घिसिङले कामको रिजल्ट देखाउने गरि काम गर्न आग्रह गरेका हुन् ।

आफूले प्राधिकरणमा हाजिर गरेको बारे मन्त्रीलााई जानकारी गराउन गरेको र केही बेर छलफल भएको शाक्यले क्लिकमान्डुलाई जानकारी दिए ।

‘प्राधिकरणमा हाजिर गरेको बारे मन्त्रीज्यूलाई जानकारी गराएँ । मन्त्रीसँगको भेटका लागि सचिवसँग समय मागेको थिएँ तर मिलेन । अनि आज भेट्न गएँ,’ शाक्यले भने ।

छलफलका क्रममा मन्त्री घिसिङले सहकार्य गरेर अघि बढ्नु पर्ने बताएको शाक्यको भनाइ छ ।

‘मन्त्रीज्यूले कामको रिजल्ट देखाउने गरेर काम गर्नुपर्‍यो, सहकार्य गर्नुपर्छ भन्नु भयो,’ शाक्यले क्लिकमान्डुसँग भने, ‘मैले पहिले पनि गरेको हुँ, पहिले पनि रिजल्ट दिएकै छु भने । हामी सँगै काम गरेका पनि हौं पहिला ।’

भेटवार्तामा ऊर्जा मन्त्रालयका सचिव पनि सहभागी थिए ।

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा कुलमान घिसिङ ऊर्जामन्त्री नियुक्त भएलगत्तै घिसिङको प्रस्तावमा शाक्यलाई प्राधिकरणबाट हटाएर जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको थियो । उक्त निर्णय विरुद्ध शाक्य सर्वोच्च अदालत गएका थिए ।

सोमबार सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले मन्त्री घिसिङको प्रस्तावलाई पूर्वाग्रही र प्रतिशोधपूर्ण ठहर गर्दै शाक्यलाई तत्काल कार्यकारी निर्देशक पदमा पुनर्स्थापित गर्न आदेश दिएको थियो ।