एक वर्षमै १ करोड २५ लाखले लिए स्वास्थ्य बीमा सेवा

35
Shares

काठमाडौं । अघिल्लो आर्थिक वर्षमा १ करोड २५ लाखले अस्पतालमै पुगेर स्वास्थ्य सेवा लिएका छन् । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेकाअनुसार औसतमा एउटै मान्छे ५ पटक अस्पताल गएर सेवा लिएको देखिन्छ ।

२५ लाख मान्छेले एकपटक मात्र अस्पताल पुगेर सेवा लिएका छन् । स्वास्थ्य बीमा बोर्डले आयोजना गरेका एक कार्यक्रमा उनले अस्पतालमा गएर स्वास्थ्य बीमा कार्यक्रममार्फत सेवा लिनेको संख्या ठूलो मात्रमा बढेको बताए ।

काफ्लेकाअनुसार यो तथ्यांक प्रत्येक वर्ष बढ्दै गएको छ । कार्यकारी निर्देशक काफ्लेले गुणस्तरीय सेवा बढाउन र लागत घटाउन नेपालमा स्वास्थ्य बिमाले नै निर्णय भुमिका खेल्ने समेत बताए । उनकाअनुसार बीमा कार्यक्रममार्फत कभरेज बढाउनका लागि कामहरु भइरहेको छन् । धेरै भन्दा धेरै नागरिकलाई स्वास्थ्य बीमाको दायरामा ल्याउने प्रयास भइरहेको छ । स्वास्थ्य बीमा ऐन, २०७४ लाई सुधारेर लैजान कामहरु समेत भइरहेको उनले बताए ।

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक काफ्लेले भने, ‘अबको ५ वर्षपछि हामीले कल्पना गरेको भन्दा भिन्न अवस्थामा स्वास्थ्य बीमा पुग्नेछ । त्यतिबेला गुणस्तरीय सेवा बढाउन र लागत घटाउन नेपालमा स्वास्थ्य बीमाले नै निर्णय भुमिका खेल्नेछ ।’ अहिले पनि नेपालमा करिब १० अर्ब बराबरको औषधि खरिदको काम स्वास्थ्य बीमाबाट गर्ने गरिएको उनको भनाइ छ । ‘यसलाई हामीले सेन्ट्रल पर्चेजिङको बाटो समाउन सक्यौं र राज्यले त्यो प्रकारको कानून बनाउने हो भने अहिले नै हामीले बजारमा औषधिको मूल्य नियन्त्रणमा राख्नसक्ने स्थिति छ, उनले भने, ‘नागरिकको सेवा सुविधालाई सहज बनाउन सक्ने स्थीति रहन्छ । भोलि दिनमा यो खालको वातावारण हामी सबैको सहयोगमा बन्छ ।’

काफ्लेकाअनुसार नयाँ दररेटहरु निर्धारण गर्ने समेत तयारी छ । अहिलेका प्याकेजहरुलाई समेत सुधारेर अघि बढिनेछ भने अब प्रत्येक स्वास्थ्य सेवा सुविधाको बारेमा यसै आर्थिक वर्षबाटै क्याम्पेन सञ्चालन गरिनेछ । अहिले स्वास्थ्य सेवा उपलब्ध गराएका अस्पताललाई समयमै भुक्तानी गर्न स्रोतको चरम अभाव परिरहेको छ ।

बीमा कोषलाई बलियो बनाएर प्रभावकारी रुपमा सेवा सञ्चालनका लागि गृहकार्य भएको उनले बताए ।

‘स्रोतको अभावका कारण कार्यक्रम प्रभावकारी बन्न सकेन’

स्रोतको अभावका कारण कार्यक्रम प्रभावकारी बन्न कठिन भइरहेको सरोकारवालाहरुले बताए ।

धुलिखेल अस्पतालका डाक्टर बलराम मल्लले स्वास्थ्य बीमामार्फत प्रवाह हुने स्वास्थ्य सेवा गुणस्तरीय गराउन बोर्ड लाग्नुपर्ने बताए । गुणस्तरीय सेवा दिन नसके बिमित निराश बन्नुपर्ने अवस्था आउने र स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी हुन नसक्ने उनले बताए ।

उनले स्वास्थ्य बीमाले भुक्तानी गर्नुपर्ने रकम समयमै नदिँदा पनि समस्या हुने गरेको बताए । धुलिखेल अस्पतालका डाक्टर मल्लले भने, ‘स्वास्थ्य बीमा कार्यक्रमबाट हुने सर्भिस कमजोर रहेछ भनेर मान्छेहरु नआउन पनि सक्छन् । त्यही भएर गुणस्तर भएन भने सेवाग्राहीहरु सेवा लिन आउँदैनन् । स्वास्थ्य बीमा नारामा मात्रै सिमित हुनसक्छ, त्यसैले एकदमै ख्याल गर्नुपर्छ । अब स्वास्थ्य बीमाको रिफर्म गरेर प्याकेज सिस्टम ल्याउनुपर्छ । स्वास्थ्य बीमा नविकरण गर्नेदेखि यससँग जोडिएका सबै काम डिजिटल माध्यमबाट हुने वातावरण बनाउनुपर्छ ।’