विराटनगर किंग्समा लगानी नाफा कमाउन गरेका होइनौं, क्रिकेटका लागि केही गरौं भनेर हो

0
Shares

नेपाली क्रिकेट अहिले इतिहासकै स्वर्णिम मोडमा छ । टी–२० विश्वकपको यात्रा र लोभलाग्दो फ्यान फलोइङले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याएको छ । यही क्रेजलाई व्यवसायिकतामा बदल्न र खेलको स्तर उकास्न ‘नेपाल प्रिमियर लिग’ (एनपीएल) अहिले चर्चाको शिखरमा छ । यो चर्चामा निजी क्षेत्रले पनि उत्तिकै साथ दिएको छ ।

एनपीएलका ८ टिममध्ये सर्वाधिक फ्यान फलोइङ भएको टिम हो, विराटनगर किंग्स । पहिलो सिजन २ मात्र खेले जितेको विराटनगरले सिजन २ को लिगचरणका खेल सकिँदा दोस्रो स्थानमा रहेर पुरा गर्‍यो । र, बिहीबार फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दैछ।

क्रिकेटका लागि केही गरूँ भनी पूर्वका चार उद्योगी मिलेर म्याड स्पोर्टस् नामक कम्पनीको स्वामित्वमा रहेको विराटनगरका किंग्समा लगानी गरेका छन् । यो अभियानमा नेपाली क्रिकेट टिमका पूर्वराष्ट्रिय खेलाडी पारस लुनिया, गल्फका एमेच्योर खेलाडी सुयस प्याकुरेल, अनुज पोद्दार, र बैंकटेश मुन्दाडा छन् । लुनिया अरिहन्त ग्रुप, प्याकुरेल एमएम ग्रुप, पोद्धार म्याजिक ग्रुप र मुन्दाडा देवनगरा ग्रुपका सञ्चालक हुन् ।

यसै सन्दर्भमा किंग्सका ४ लगानीकर्तामध्येका एक सुयेस प्याकुरेलसँग विराटनगर किंग्स, एनपीएल, नेपाली क्रिकेट र खेल पर्यटन तथा अर्थतन्त्रका बारेका कुरा गरेका छौं । प्रस्तुत छ, उनै प्याकुरेलसँग क्लिकमान्डुका रोविन पौडेलले गरेको कुराकानीः

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटप्रतिको क्रेजलाई कसरी हेर्नुभएको ? क्रिकेटमा तपाईंहरू किन आउनु भयो ?

अहिले नेपाली क्रिकेट एउटा शिखरमा पुगेको अवस्था छ । नेपालले विश्वकप खेलिसकेको छ र यो स्तरको सफलता हात पारेको यो एक मात्र खेल हो । नेपालमा क्रिकेटको क्रेज यति ठूलो छ कि हामी पनि त्यही क्रेजमा रमेका फ्यान हौं ।

हामी व्यवसायी साथीहरूबीच सधैं छलफल हुन्थ्यो, ‘कुनै दिन अवसर आयो भने नेपाली क्रिकेटको विकासमा जोडिनुपर्छ ।’ यो हाम्रो लागि ‘म्यानिफेस्टेसन’ (सपनालाई यथार्थमा बदल्ने प्रक्रिया) जस्तै थियो । जब क्यानले एनपीएलको अवधारणा ल्यायो, हामीले यसलाई गुमाउन चाहेनौं । हामी विराटनगरका स्थानीय व्यवसायीहरूको समूह ‘म्याड ड्रिम स्पोर्ट्स’ मार्फत यसमा जोडियौं । विशेषतः पूर्वक्रिकेटर तथा सफल व्यवसायी पारस लुनियाजीको नेतृत्व र उहाँको क्रिकेटप्रतिको समर्पणले हामीलाई थप ऊर्जा दियो । यो अभियानमा लुनियासँगै म, अनुज पोद्दार र बैंकटेश मुन्दडा पनि छौं । यो केवल व्यावसायिक लाभका लागि मात्र होइन, खेलको विकासमा निजी क्षेत्रको दायित्व पूरा गर्ने हाम्रो साझा प्रयत्न हो ।

विराटनगरको हालसम्मको खेलमा गरेको प्रदर्शनलाई कसरी लिनु भएको छ ?

खेलमा हामी स्वयं खेलाडी त होइनौं । तर खेल बुझ्ने, खेलको समग्र विकास र प्रवर्द्धन गर्ने, स्थापित खेलाडीको उचित मूल्याङ्कन होस्, नयाँ खेलाडीहरूको पनि विकास होस् र उनीहरूलाई यस क्षेत्रमा आकर्षित गर्न सकियोस् भन्ने उद्देश्यले व्यवसायीका रूपमा हामी यस क्षेत्रमा संलग्न भएका हौं ।

प्राविधिक पक्षको कुरा गर्दा खेल र खेलाडीको प्रदर्शनको आधारमा नै सबै मूल्याङ्कन हुन्छ । आठवटै फ्रेन्चाइजमध्ये कोही न कोही शीर्षमा आउँछ, कोही पुछारमा पर्नै पर्छ । सीमित ओभरको टि–२० फर्म्याट भएकाले जसले राम्रो प्रदर्शन गर्छ, ऊ नै अगाडि बढ्छ । अघिल्लो सिजन विराटनगरको पक्षमा प्राविधिक रूपमा धेरै कुराहरू अनुकूल थिएनन्; हामीले पर्याप्त प्रदर्शन गर्न सकेनौं र अरूले अपेक्षाकृत राम्रो खेले । यसपटक भने हामी पर्याप्त प्रतिस्पर्धी देखिएका छौं । एक–दुई खेलमा उतार–चढाव देखिए पनि, हामी अत्यन्तै प्रतिस्पर्धी छौं भन्ने हाम्रा खेलाडीहरूले प्रमाणित गरिसकेका छन् ।

यस्तै उर्जाशील मनोबलका साथ हामी बिहीबार फाइनलका लागि दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्दैछौं । र त्यसपछि शनिबार फाइनल हुनेछ । आशा छ, हामी फाइनलका लागि योग्य भइ ट्रफी जित्न सफल हुनेछौं । उद्देश्य त यही हो, र अन्य फ्रेन्चाइजहरूको पनि यही लक्ष्य हुनेछ । अन्ततः उत्कृष्ट टिमले जितोस् भन्ने मेरो शुभेच्छा हो ।

एनपीएलमा तपाईंहरूले गर्नु भएको लगानीले खेलाडीलाई राष्ट्रिय टोलीमा पुग्न कतिको बल पुग्छ ?

राष्ट्रिय टिममा प्रवेश गर्ने विषय पूर्णतया खेलाडीको प्रदर्शनसँग सम्बन्धित हुन्छ, र त्यसलाई हेर्न र मूल्यांकन गर्न सेलेक्टरहरू सधैं उपस्थित रहन्छन् । हाम्रै राष्ट्रिय टिमका मुख्य कोच, विभिन्न चयनकर्ताहरू तथा समग्र प्राविधिक टोलीले निरन्तर खेलाडीहरूको खेल हेरिरहेका हुन्छन् । किनकि उनीहरूलाई पनि योग्य खेलाडी आवश्यक हुन्छ ।

राष्ट्रिय टिमका कोचले हालै दिएको एउटा छोटो अन्तर्वार्तामा भन्नुभएको थियो, ‘फ्यानको चाहना वा भीडको दबाबले खेलाडी छानिने होइन, यसका लागि निश्चित प्रक्रिया हुन्छ ।’ उनीहरू त्यही प्रक्रियालाई नै अनुसरण गरिरहेका छन् । त्यसैले यो लिग खेलाडीहरूका लागि अत्यन्त प्रभावकारी प्लेटफर्म हो । यसलाई सदुपयोग गर्नुपर्छ । यहाँ देखिएको प्रदर्शन फ्रेन्चाइजसँग मात्र सम्बन्धित हुँदैन; यो प्रदर्शन उनीहरूको व्यक्तिगत भविष्यसँग, विशेषतः राष्ट्रिय टिममा छनोट हुने अवसरसँग गाँसिएको हुन्छ । त्यसैले यसलाई सामान्य रूपमा लिनु हुँदैन ।

टि–२० फर्म्याट भएकाले र आगामी टि–२० विश्वकप नजिकिँदै गरेको कारणले, यसभन्दा राम्रो तयारी र प्रदर्शन गर्ने अवसर अरू के नै हुन सक्छ र ? त्यसैले खेलाडीहरूले यसलाई अत्यन्त गम्भीरतापूर्वक लिनुपर्छ र उत्कृष्ट प्रदर्शन गर्नु अपरिहार्य छ । जसले जुनसुकै फ्रेन्चाइजबाट राम्रो खेल्दैछन्, अन्ततः उनीहरू सबै नेपालीकै राष्ट्रिय टिमका सम्भावित सदस्य हुन् ।

उदाहरणका लागि, विनोद भण्डारीजस्ता अनुभवी खेलाडी जसले सुदूरपश्चिमबाट निरन्तर राम्रो खेल प्रदर्शन गरिरहनुभएको छ, उहाँलाई पनि अवसर मिल्न सक्छ । तर यो त चयन समितिको निर्णय हो, म योजना बनाउने भूमिकामा छैन; यो त मेरो व्यक्तिगत धारणा मात्र हो । यस्तै अनेकौँ खेलाडीहरू छन्, जसले यो मञ्चमा उत्कृष्ट प्रदर्शन गरे आफ्नो राष्ट्रिय टिममा स्थान बनाउन सक्ने सम्भावना राख्छन् । जुन कुनै पनि खेलाडीका लागि अत्यन्त ठूलो उपलब्धि हुनेछ ।

यसअघि पनि नेपाली क्रिकेटमा लिग नभएका होइनन् । तर, नेपाल क्रिकेट संघ (क्यान) आफैंले आयोजना गरेको एनपीएल र त्यसमा पनि नेपाल राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काको भुमिकालाई कसरी मूल्यांकन गर्नुहुन्छ ?

ईपीएल, डीपीएल जे–जे भयो, सुरुमा जस–जसले पहल गर्नुभयो, जस–जसले यो अभियान अगाडि बढाउनुभयो, हामीले सबै कुरा अत्यन्तै सकारात्मक ढङ्गले लिनुपर्छ । उद्देश्य नै खेलको विकास थियो । ठूलो बनाऔं, निजी क्षेत्रलाई समेत संलग्न गराऔं, सार्वजनिक–निजी साझेदारीमार्फत नेपाली क्रिकेटलाई उचाइमा पुर्‍याउन सकिन्छ भन्ने विश्वास थियो । त्यसैले आधार तयार गर्नुभएको भनेकै ती सबै स्टेकहोल्डरहरू हुन् । हामीले सबैको प्रयासको कदर गर्नैपर्छ ।

अब त ‘सही मान्छे सही स्थान’ भन्ने कुरा लागू भएको छ । क्यानको सचिवमा पारस खड्का आएपछि परिस्थिति फेरिएको छ । उहाँजति नेपाली क्रिकेटको भित्री पक्ष, समस्या, समाधान, सम्भावना र यात्राको गन्तव्य स्पष्ट बुझ्ने व्यक्तित्व अरू कोही छैन । उहाँले देखेको सपना, उहाँले देखाएको दिशामा साथ दिनु त हाम्रो दायित्व नै हो—देशलाई माया गर्ने निजी क्षेत्र, खेललाई माया गर्नेहरू, अर्थतन्त्रको समग्र विकास चाहनेहरूका लागि ।

कति समयसम्म बाहिरका लिग मात्र हेर्ने ? हामी आफैं सक्षम छौं । हाम्रो टिम विश्वकप खेलिरहेको छ । भर्खरै वेस्ट इन्डिजलाई हरायौं । गत वर्ष दक्षिण अफ्रिकासँग विश्वकपमै एक रनले हार्यौं । हामी टाढा छैनौं, नजिकै पुगेका छौं । यस्तो क्षमता भएका खेलाडीहरू भएका अवस्थामा हामी किन पछि पर्नु ? नेपाललाई विश्वयात्रामा चिनाउने सुवर्ण अवसर पनि यही हो ।

यही सोचका साथ पारस खड्का र क्यानको टिमले पहल गरेपछि निजी क्षेत्र पछि हट्ने प्रसंग नै आउँदैन । त्यसैले हामी यहाँ छौं । अहिले कमेन्टेटरहरू हेरौं, पहिलो सिजनमा अरूलाई देखाउन, बुझाउन कति मिहिनेत गरिएको थियो होला ! रवि बोपाराले इन्टरभ्युमै भनेका छन् कि गत वर्ष फ्लड लाइट अर्को सिजन मात्र होला जस्तो लागेको थियो, तर नेपालले १० महिनामै प्रतिवद्धता पूरा गरिदियो । उनी नै आश्चर्यमा परे । यो नै देशका लागि गौरवको कुरा होइन र ? हामीले चाह्यौं भने गर्न सकिन्छ भन्ने उदाहरण यही हो । १० महिनामा निर्धारित समयमै प्रोजेक्ट पूरा हुनु नेपालमा दुर्लभ कुरा हो ।

निजी क्षेत्रले आफ्नै व्यवसाय जस्तै गतिमा, अनुशासनमा, स्थिरतासहित काम गरेकाले सम्भव भयो, जो साँच्चिकै प्रशंसनीय हो । यसमा सुरुवाती पहल गर्ने पूर्वसरकारदेखि लिएर क्यान र पछिल्ला सरकारहरूले प्रक्रिया छिटो बनाउन भूमिका खेले । सबै स्टेकहोल्डर्स धन्यवादका पात्र छन् ।

अहिले कमेन्टेटरहरू हेर्नुस्, सबै चर्चित छन्, र नेपालका बारेमा राम्रो–राम्रो कुरा गर्दैछन् । कमेन्ट्रीमै हिमाल देखिन्छ, पहाड देखिन्छ, संस्कृति देखिन्छ । हाम्रो देश, हाम्रो खेलाडी, हाम्रो प्रगतिको प्रशंसा सुन्न पाइन्छ । र यी कुरा केवल नेपालभित्रै होइन, विश्वभर प्रचार भइरहेका छन् । पर्यटन प्रवर्द्धन हुँदैछ, नेपाललाई सकारात्मक रूपमा परिचित गरिरहेको छ । तीन हप्तासम्म निरन्तर नेपालका राम्रा पक्ष मात्र सुनियो, अघिल्लो पटक कहिले यस्तो भएको थियो ? मलाई त याद छैन ।

हालैको घटनाले देशलाई दुःख दिएको समयमा, यसले जनतालाई केही क्षण भए पनि त्यो पीडा बिर्साउने अवसर दियो । सबै वर्गका नेपालीलाई एक सूत्रमा बाँध्ने काम क्रिकेटले गरिदियो । नेपालमा यति ठूलो सकारात्मक प्रभाव पार्ने घटना दुर्लभ छन्, यसैले यो उपलब्धि अझ विशेष बनेको छ ।

तपाईं त एउटा क्रिकेट फ्यान पनि । एउटा फ्यानको रूपमा एनपीएल हेर्दा कस्तो अनुभुत गर्नुहुन्छ ?

म पनि मूलतः एक फ्यान नै हुँ । करिब २० वर्षअघि सिंगापुरमा शक्ति गौचनले उत्कृष्ट बलिङ गरेको खेल ईएसपीएनमा स्कोर अपडेट हुँदा पनि म उत्साहित हुन्थें । त्यो समयमै पनि नेपाल खेल्दैछ भनेपछि जुनसुकै टोलीसँग भए पनि खेल हेर्ने बानी थियो, अपडेट नै भए पनि हेर्थें । त्यही भावना आज पनि उस्तै छ । मैले जस्तो उत्साह बोकेका त यस्ता फ्यानहरू कति होलान् । मलाई थाहा छ । म जस्ता हजारौं थिए र छन् ।

यही कारणले नेपालको क्रिकेटप्रतिको माग असाध्यै बढेको छ । फ्यानहरूको समर्थन, जनसङ्ख्याको ठूलो उपस्थिति र लोकप्रियताको विस्तारसँगै सबैको ध्यान स्वाभाविक रूपमा यसतर्फ आकर्षित भएको हो । अब आवश्यक कुरा भनेको—यसलाई निरन्तर विकसित गर्दै लैजाने हो । आगामी वर्ष सम्भवतः हामीले पूर्वाधार पक्षमा थप ध्यान दिनुपर्नेछ । अहिले त्रिवि क्रिकेट मैदानको क्षमता १० हजार जति पुगेको छ, तर त्यही टिकट पनि साढे चार मिनेटमै सम्पूर्ण रूपमा बिक्री भइसकेको उदाहरण छ । यसले के देखाउँछ भने हामीसँग पूर्वाधारको ठूलो अभाव छ, र क्षमता अझै बढाउन अपरिहार्य छ ।

निजी क्षेत्र र सरकार मिलेर यो क्रेज र उपलब्धिलाई कसरी अगाडि बढाउन सकिन्छ ?

निजी क्षेत्र र सरकार दुवैको सहकार्यबाट जसरी यो सफल भयो, त्यसैगरी आगामी चरणहरू पनि निजी क्षेत्र र सरकार मिलेरै सफल बनाउनु आवश्यक छ । अहिले विभिन्न प्रदेश सरकारहरू हुनुहुन्छ । हामी कोशी प्रदेशसँग पनि निरन्तर संवादमा छौं, अनि अन्य प्रदेशहरूमा समेत त्यहाँका सम्बन्धित फ्रेन्चाइजहरूले प्रयास गरिरहेका होलान् ।

सबै मिलेपछि कम्तीमा ‘होम एन्ड अवे’ मोडेल कसरी लागू गर्न सकिन्छ भन्ने विषयमा कार्यविस्तार गर्नुपर्छ । आर्थिक रूपमा लाभदायक नबनेका कार्यक्रम दीर्घकालीन रूपमा टिकाउ हुँदैनन् । कुनै पनि योजना आर्थिक रूपमा आत्मनिर्भर हुनु आवश्यक हुन्छ । असम्भव केही पनि छैन, तर यसको स्केल विस्तार गरी व्यवसायिक दायरालाई बढाउनुपर्नेछ ।

यसका लागि हामी क्यानसँग पनि छलफल गर्नेछौं । के सम्भव छ ? के व्यावहारिक छ ? र यसलाई व्यावसायिक रूपमा कसरी थप उपयोगी र टिकाउ बनाउन सकिन्छ ? भन्ने विषयमा क्यान तथा सम्बन्धित सरोकारवालाहरू—प्रदेश सरकारदेखि संघीय सरकारसम्म—सबैसँग समन्वय गर्नुपर्छ ।

यदि ‘होम एन्ड अवे’ मोडेल कार्यान्वयन भयो भने दर्शकहरूको उत्साह पनि स्वाभाविक रूपमा बढ्छ । मानिसहरू केवल टेलिभिजनमा मात्र खेल हेर्न चाहँदैनन्; स्टेडियममा गएर लाइभ खेल हेर्दा जो अनुभव मिल्छ—त्यसको उर्जा, माहोल, हर्ष-उल्लास—त्यो पूर्ण रूपमा फरक हुन्छ । यद्यपि, सुस्त गतिमा दोहोर्याएर वा बल-टु-बल विश्लेषण हेर्न टेलिभिजन उपयुक्त हुन्छ, तर खेलाडीको नजिक बसेर, कराएर, उत्साहसँगै खेल हेर्दा आउने अनुभूति भने केवल स्टेडियममै सम्भव हुन्छ ।

के नेपाललाई खेल पर्यटन गन्तव्य (न्युट्रल भेन्यु)को रूपमा विकास गर्न सकिन्छ ?

खेल पर्यटनको यात्रा वास्तवमै भर्खरै मात्र सुरु भएको छ; अझै हामी प्रारम्भिक चरणमै, अर्थात् ‘स्क्र्याच’बाटै अघि बढिरहेका छौं । गर्नुपर्ने काम धेरै छन् । निजी क्षेत्र त सक्रिय भइसकेको छ, र यसलाई अझ अगाडि बढाउन निजी क्षेत्रका तर्फबाट दृढ प्रतिबद्धता रहेको छ । मैले मात्र होइन, सबै फ्रेन्चाइज मालिकहरूले पनि यही सोच राख्नु भएको छ भन्ने मलाई लाग्छ । आठैवटा फ्रेन्चाइजको साझा उद्देश्य एउटै छ, एनपीएललाई सफलतापूर्वक विकास गर्ने र नेपाललाई खेल गन्तव्यको रूपमा विकास गर्ने ।

नेपालले विश्वलाई चिनाउने माध्यमहरूको कुरा गर्दा हामी उत्पादन निर्यातको चर्चा गर्छौँ, तर यस्ता खेलकुदका माध्यमहरू पनि उत्कृष्ट ‘एक्सपोर्ट आइटम’ (निर्यात जन्य वस्तु) नै हुन् । हामी सहभागी हुने खेलमध्ये क्रिकेट प्रमुख भएर उभिएको छ, अनि फुटबल पनि क्षेत्रीय स्तरमा प्रतिस्पर्धात्मक रूपमा खेलिँदै आएको छ । पछिल्ला वर्षहरूमा भलिबल पनि निजी क्षेत्रको सहभागितापछि निकै सुधार हुँदै गएको छ । यो पनि एक उल्लेखनीय उदाहरण हो ।

त्यसैगरी, अब हामीले अन्य ‘एड्भेन्चर स्पोर्ट्स’ क्षेत्रहरूलाई पनि प्रवर्द्धन गर्नुपर्ने छ । म हालै ६,४७६ मिटर उचाइको मिरापीक शिखरबाट फर्किएको हुँ । त्यहाँ मैले स्की खेल्न सकिने सम्भावित ट्र्याकहरू देखेँ । उच्च उचाइ (५,००० मिटरभन्दा माथि)का कारण सहज नभए पनि विदेशीहरू स्की लिएर आएर त्यहीँ अभ्यास गरिरहेको देखिन्छ । अर्थात्, केही न केही काम भइरहेको छ ।

यस्तै, कायाकिङ जस्ता खेलहरू, अन्य साहसिक गतिविधिहरू (हाम्रो प्रकृतिले दिएको विशाल सम्भावनाहरू) यी सबैलाई हामीले उपयोग गर्न सक्नुपर्छ । नेपालसँग विशाल पृष्ठभूमि छ: सौन्दर्यले भरिपूर्ण प्राकृतिक वातावरण, हिमाल, पहाड, वन–जंगल । यी सम्पदामै आधारित विविध खेलकुद गतिविधिहरूलाई विकास गर्न सकिन्छ ।

तपाईंले अघि प्रश्न गर्नुभएको जस्तै, हाम्रो सहभागीता त छँदैछ, तर अब हामीले अन्य देशका खेलाडीहरू र खेल–पर्यटकहरूलाई नेपालमै आएर खेल्न सक्ने गरि पूर्वाधार निर्माण गर्नुपर्छ । तब मात्र नेपाल खेलकुद पर्यटनका लागि एक प्रमुख स्थल बन्न सक्छ । यही दृष्टिकोणबाट पनि सोच्न आवश्यक छ, र त्यतातिर ध्यान दिनुपर्ने आवश्यकता मैले गम्भीर रूपमा देख्छु ।

खेलाडी अनुबन्धनको अनुभव सुनाउनुहोस् न । विदेशी खेलाडीहरूलाई एप्रोच गर्दा कस्तो रेस्पोन्स पाउनु भयो ?

अघिल्लो संस्करणमा कम्युनिकेसन तथा मान्छेलाई विश्वस्त पार्ने प्रक्रियामा केही असहजता स्वाभाविक रूपमा देखिएको थियो । विशेषगरी त्यस्तो कदका खेलाडी, अनुभवी खेलाडीहरू सहजै आउँदैनन् । तर पहिलो सिजन सफलतापूर्वक सम्पन्न भएपछि यसपटक त्यो चुनौती धेरै हदैसम्म कम भयो । खेलाडीहरूको आफ्नै समुदाय भित्र पनि एनपीएलबारे चर्चा हुने गरेको रहेछ, त्यसैले विश्वसनीयता बढेको छ ।

एनपीएल सुरु हुनुभन्दा पहिले नै हाम्रो व्यवस्थापन खेलाडीहरूसँग सम्पर्क राख्ने, निर्णय लिने र विश्लेषण गर्ने छुट्टै टोलीसहित सक्रिय थियो । बाहिरबाट धेरै खेलाडीहरू उपलब्ध छन्, प्रस्तावहरू आइरहन्छन्, कुन खेलाडी छनोट गर्ने भन्ने कुरा फ्रेन्चाइजसँग सम्बन्धित साथीहरूलाई पनि निरन्तर जानकारी आउँथ्यो । मलाई पनि आए, अरूलाई पनि आए । यसको मुख्य कारण पनि यसको लोकप्रियताकै परिणाम हो । यस सिजनमा कोर म्यानेजमेन्टलाई धेरै कुरा छुट्टै व्याख्या गर्दै हिँड्नु परेन । ‘यो हो’ भनेर स्पष्ट रूपमा प्रस्तुत गर्न सकिने वातावरण बनिसकेको थियो ।

तर, स्टार खेलाडीहरू भित्र्याउन भने अझै केही प्रयास, ऊर्जा र बुझाउने कार्य आवश्यक पर्छ । हामीले बोलेझैँ स्तरको खेल यहाँ छ भन्ने कुरा उनीहरूलाई देखाउनुपर्छ, प्रमाणित गर्नुपर्छ । उनीहरूले उत्कृष्ट प्रदर्शन देखाउनु हुन्छ; तर हामीले पनि त्यही स्तरको वातावरण, पूर्वाधार र विश्वसनीयता प्रस्तुत गर्न जरुरी हुन्छ ।

यी सबै विदेशी खेलाडीहरू हाम्रो ब्रान्डका दूत नै हुन् । उनीहरूले फर्केर जानासाथ भन्छन्, ‘नेपालमा त अद्भुत माहोल छ, खेलप्रतिको उत्साह गजबको छ ।’ कतिपय त भन्छन्, ‘हाम्रो देशमा त हामीलाई चिन्दै चिन्दैनन्, तर नेपालमा त हाम्रो पहिचानै छुट्टै छ ।’ रोचक कुरा के भने, उनीहरूले आफ्नो देशमा वर्षौँ खेल्दा नपाएको फ्यान फलोइङ नेपालमा पाए । त्यसैले केही खेलाडीले त टिकटकमै नेपाली भाषामा, नेपाली लोकगीतमा भिडियो बनाएको देखिन्थ्यो । यसले देखाउँछ कि उनीहरूले नेपालमा एउटा फ्यानबेस निर्माण गरिसकेर फर्किएका छन् ।

एउटा फ्रेन्चाइज टिम चलाउन लगानी कति लाग्दो रहेछ ? के यो नाफामूलक ?

लगानी पहिले पनि थोरै–धेरै उस्तै नै थियो, अहिले पनि ठूलो अन्तर छैन । अलि बढी खर्च हुन्छ, तर यसको कुनै ठ्याक्कै सीमा छ जस्तो मलाई लाग्दैन । तर समग्रमा हेर्दा सबै फ्रेन्चाइजले औसत रूपमा करिब १० देखि १५ करोड रुपैयाँजति खर्च गरेको हुनुपर्छ । यसमध्ये प्रशासनिक खर्च, खेलाडीको पारिश्रमिक, व्यवस्थापन लागत, होटल तथा आवास, मर्चेन्डाइजिङ, र अन्य सञ्चालन खर्चहरू समावेश हुन्छन् । ठ्याक्कै विवरण त छैन, तर कुल खर्च यही दायरामा पुगेको अनुमान गर्न सकिन्छ ।

एनपीएलको भ्यालुएसन चाहीँ कति जति होला ? एनपीएल इकोनोमी कुन साइजको होला ?

फिगरका हिसाबले विभिन्न अनुमानहरू छन् । यदि तपाईंले च्याटजीपीटीलाई सोध्नुभयो भने उसले १०० मिलियन डलरजस्तो आँकडा दिन सक्छ । त्यो सम्भव पनि होला, तर त्यसलाई म ठ्याक्कै स्वीकार्न सक्दिनँ । किनकि अहिले भन्न खोज्दा त्यस्ता सबै संख्या अत्यन्तै काल्पनिक मात्र हुन्छन् । यस मोडेललाई हामीले नितान्त व्यावसायिक नाफा–नोक्सानका हिसाबले गणना गरेको पनि छैनौं । यो व्यवसाय सुरु गर्दा हाम्रो उद्देश्य पैसा कमाउनु थिएन । हामीले यो पूर्ण रूपमा उत्साह र लगावका साथ अघि बढाएका हौं ।

यद्यपि, कुनै पनि व्यवसाय एक निश्चित चरणमा पुगेपछि आय–आर्जन आफैँ हुन थाल्छ, त्यो अनिवार्य प्रक्रिया हो । तर हाम्रो मूल उद्देश्य त्यो होइन । हामी सबै निजी क्षेत्रका मानिस हौं, र हाम्रो ‘ब्रेड एन्ड बटर’ (हातमुख जोड्ने काम) यसमा निर्भर छैन । हामीसँग आफ्ना स्थायी व्यवसायहरू छन्, जहाँबाट नै आम्दानी हुन्छ । यही कारणले, अझैको अवस्थामा यो परियोजनालाई पैसासँग तुलना गर्न खोज्नु वा तत्काल नाफाको आधारमा चलाउन खोज्नु गलत हुन्छ । त्यस्तो सोचले यो मोडेल नै असफल बनाइदिन्छ ।

त्यसैले, मेरो बुझाइमा, अझै कम्तीमा पाँच वर्षसम्म निरन्तर लगानी जारी राख्नैपर्छ । सबै फ्रेन्चाइज मालिकहरूमा त्यति धैर्य, आत्मविश्वास र ठूलो मनोबल हुनु आवश्यक छ । दीर्घकालीन दृष्टिकोणसहित अघि बढे मात्र यो सफल र टिकाउ मोडेल बन्न सक्छ ।

भनेपछि तपाईं क्रिकेटमा गरेको लगानी केही वर्ष यसै राख्न चाहनुहन्छ ? अरूलाई पनि त्यही भन्न चाहनुहुन्छ ?

मलाई लाग्छ कि सबै फ्रेन्चाइजका मालिकहरू यस्तै चाहनुहुन्छ । र सबैले बुझेरै यो यात्रामा सहभागी भएको स्पष्ट देखिन्छ । मेरो बुझाइमा पनि त्यही आवश्यक छ—यसरी नगरेसम्म विकास सम्भव हुँदैन । प्रत्येक फ्रेन्चाइज, मैदानमा प्राप्त प्रदर्शन जस्तो भए पनि, समान स्तरमा अघि बढ्नुपर्छ ।

मले भन्न खोजेको कुरा के भने—अप्रोच, दिशानिर्देशन, बुझाइ र योजनाका दृष्टिले सबै फ्रेन्चाइजहरू एउटै सोच र समान रणनीतिमा केन्द्रित हुनुपर्छ । यसमा प्रतिस्पर्धा खोजिरहन आवश्यक छैन, र वास्तवमा त्यस प्रकारको प्रतिस्पर्धा रहेको पनि मलाई लाग्दैन । एउटै लक्ष्यका साथ अघि बढे मात्रै सम्पूर्ण संरचना मजबुत र टिकाउ भएर विकास हुन्छ ।

एनपीएल एसोसिएटको आईपीएल भनेर चिनिन थालिसक्यो । के हामीसँग आईपीएल वा बिग बास लिग जस्तै बन्न सक्ने सम्भावना छ ?

अब तुलना कसरी गर्ने ? भारतजस्तो १४० करोड जनसङ्ख्या भएको देशमा लगभग सबैले क्रिकेटलाई फलो गर्छन् । हाम्रो स्थिति हेर्नुस् त, हामी सानो देश, आधिकारिक जनसङ्ख्या करिब ३ करोड । तीमध्ये ६०–७० लाख विदेशमा छन् । बाँकीमध्ये साना बालबालिका र वृद्धजनलाई हटाएर वास्तविक रूपमा क्रिकेट फलो गर्ने युवा जनसंख्या जोड्दा करिब डेढ करोडजति उपभोक्ता मात्र हुन्छन् । यति सानो स्केलका बाबजुद पनि हामी विश्वमा आफ्नो प्रभाव देखाइरहेका छौं । यही प्रभावले गर्दा नै एनपीएल एसोसिएटमा स्वतःस्फूर्त रुपमा ‘आइपीएल’ जस्तै स्तरमा पुगिसकेको छ ।

यसैले अब हाम्रो प्राथमिकता पूर्वाधार विकास हो । समयअनुकूल गुणस्तर सुधार गर्दै जानु, प्रशासनिक कमजोरीहरू सुधार्नु, व्यवस्थापनलाई थप चुस्त–दुरुस्त बनाउनु, र अझ सक्षम विदेशी खेलाडीहरू ल्याउन सक्ने वातावरण तयार गर्नु आवश्यक छ । यिनै कुराहरूले त लिगलाई उचाइ दिन्छन् ।

फाफ डु प्लेसिसजस्ता स्टार खेलाडी आएपछि देखिएको उत्साह र चर्चा नै यसको उदाहरण हो । त्यस्ता ‘बज़’ सिर्जना गर्न सक्नुपर्छ, र हामी निश्चित रूपमा त्यसमा काम गर्नेछौं—यो सिजन सकिएपछि थप योजनाबद्ध रूपमा अघि बढ्छौँ ।

स्थानीय स्तरमा क्रिकेट विकासका लागि विराटनगर किंग्सका योजना के छन् ?

प्रतिभा विकासलाई पनि हामीले उच्च प्राथमिकता दिएका छौं । ‘ड्रिम टु प्ले’ मार्फत नयाँ खेलाडीहरू छान्ने काम भइरहेकै छ । जस्तै, यसपालि हामीले आयुष भाइलाई पनि छनोट गरेका थियौँ । त्यस्तै नयाँ सीपका खेलाडीहरू निरन्तर खोज्दै जानेछौं । हाम्रो ‘विराटनगर किंग्स टिम–बी’ कार्यक्रम अन्तर्गत फेब्रुअरी–मार्चमा कोशी प्रदेशका १४ वटै जिल्लामा क्रिकेट प्रतियोगिता सञ्चालन गर्दै आएका छौं । यसको उद्देश्य प्रदेशभरि क्रिकेटलाई जनस्तरमा फैलाउनु र खेलाडीसँग भावनात्मक स्वामित्व जोडिदिनु हो ।

हाम्रो मूल लक्ष्य स्पष्ट छ, नेपाली खेलाडीको सीप विकास । विदेशी खेलाडीहरू नेपाल आउने, एउटै ड्रेसिङ–रुम बाँडेर बस्ने, एकसाथ प्रशिक्षण र खेल्ने वातावरण पाएपछि हाम्रा खेलाडीसँग अन्तर्राष्ट्रिय स्तरका अनुभवहरू प्रत्यक्ष सिक्ने अवसर मिल्छ । फाफ डु प्लेसिस, मार्टिन गप्टिलजस्ता अनुभवी खेलाडीहरूसँग बस्ने, छलफल गर्ने, टिप्स लिने मौका जुन प्रशिक्षण हो, त्यो त शैक्षिक क्षेत्रमा अक्सफोर्ड वा हार्वर्डको शिक्षाभन्दा अमूल्य सिकाइ हो ।

त्यसैले हाम्रो अन्तिम उद्देश्य नेपाली खेलाडीहरूलाई सक्षम, दक्ष र प्रतिस्पर्धी बनाउनु नै हो । यही लक्ष्यलाई अघि बढाउने प्लेटफर्म तयार गर्नु नै विराटनगर किंग्स र कोशी प्रदेशको साझेदारीको स्पिरिट हो ।

अन्त्यमा, फ्यानहरूलाई के भन्न चाहनुहुन्छ ?

हामीसँगै रहिरहनुस् । मैदान हाम्रो पक्षमा होस् वा नभए पनि जसरी तपाईंहरूले हामीलाइ अहिलेसम्म निरन्तर साथ दिनुभएको छ, त्यो अटुट समर्थन र बढ्दो फ्यान–फोलोइङका लागि म हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु ।

म स्वयं पनि तपाईंहरूको जस्तै विराटनगर किङ्सको एक समर्पित फ्यान हुँ । वास्तविक अर्थमा तपाईंहरू नै यस क्लबका मालिक हुनुहुन्छ; हामी त केवल प्राविधिक रूपमा लगानीकर्ता मात्र हौं । हाम्रो सबैभन्दा ठूलो शक्ति भनेकै हाम्रो फ्यानहरू हुन्, र यही शक्तिलाई निरन्तर कायम राखिदिनुहोला ।

अघिल्लो सिजन केही कमजोरी वा कमी–कमजोरीहरू भए होलान्, तर यसपालि हामीले विगतको तुलनामा धेरै प्रगति गरेका छौं । आशा छ—यो सिजन हामी ट्रफी घर ल्याउन सफल हुनेछौं । त्यसैले पर्खिरहनुस्, र त्यस क्षणलाई हामी सबै मिलेर मनाउनेछौं ।

यत्तिकै होइन, आगामी वर्षहरूमा पनि चर्चित तथा उत्कृष्ट खेलाडीहरू ल्याउने, स्थानीय प्रतिभालाई अझ ठूलो अवसर दिने, र हाम्रो पक्षबाट भएका गल्ती वा कमजोरीहरूलाई सुधार गर्दै अघि बढ्ने हाम्रो लक्ष्य छ । यो दोस्रो सिजन मात्र भएकाले हामी पनि सिक्दै, सुधार्दै, परिपक्व हुँदै गइरहेका छौं । त्यसैले—हामीसँगै रहिरहनुस् । विराटनगरलाई किंग्सलाई सधैं यसरी नै माया गरिरहनुस् ।