
काठमाडौं । घरजग्गा व्यवसायी कालु गुरुङले बूढानीलकण्ठमा करिब २ अर्ब रुपैयाँ लगानीमा अपार्टमेन्ट बनाउने भएका छन् ।
रोडसो इन्भेष्टमेन्ट कम्पनी र इमेज हाउजिङ एण्ड डेभलपर्सको संयुक्त लगानीमा सञ्चालित व्यवसायिक कम्प्लेक्स र अपार्टमेन्ट आयोजना विकासमा काम गर्दै आएको कालिमाटी ट्रेड सेन्टर प्रालिले १ अर्ब ८९ करोड रुपैयाँ लगानीमा अपार्टमेन्ट बनाउने भएको हो ।
उक्त अपार्टमेन्ट बनाउन कम्पनीले ७० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिई लगानी गर्ने जनाएको छ।
त्यसैगरी, कम्पनीले १८ करोड रुपैयाँ इक्विटीमार्फत् र १ अर्ब १ लाख रुपैयाँ ग्राहकले एड्भान्समा दिइएको रकमबाट गर्ने जनाएको छ । हालसम्ममा १८ करोड रुपैयाँ व्यवस्थापन भइसकेको छ ।
कम्पनीकाअनुसार ग्राहकबाट अग्रिम भुक्तानीमार्फत् ३९ प्रतिशत रकम प्राप्त भएको हो ।
कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ९५ करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ८५ करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि १० करोड रुपैयाँको रेटिङ गराएको छ।
कम्पनीले हालसम्ममा ४८ प्रतिशत आर्थिक प्रगति गरिसकेको जनाएको छ । सन् २०२७ को जुलाई सम्ममा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने योजना कम्पनीले बनाएको छ ।
कम्पनीले गत आर्थिक वर्षमा कम्पनीले ११ करोड २० लाख रुपैयाँको कारोबार गरेको छ । कम्पनीले सन् २०२४मा २ करोड ८० लाख रुपैयाँ, सन् २०२३ मा ५ करोड ६० लाख रुपैयाँ, सन् २०२२ मा ३ करोड ३० लाख रुपैयाँ र सन् २०२१ मा २३ करोड ३० लाख रुपैयाँको कारोबार गरेको छ ।
व्यवसायी गुरुङले पोखरामा अन्नपूर्ण केबलकार सञ्चालन गरिरहेका छन् भने पोखरामै दुईवटा अपार्टमेन्ट निर्माण गरिरहेका छन्।
रोडशो इन्भेष्टमेन्ट कम्पनीले पोखराको दुई स्थानमा डेढ अर्ब लगानीमा अपार्टमेन्ट निर्माण गरिरहेको हो । कम्पनीले पोखरामा अन्नपूर्ण अपार्टमेन्ट–मासवारमा ४० वटा युनिट र अन्नपूर्ण–लेकसाइड सेदीमा ६० युनिटको अपार्टमेन्ट निर्माण गरिरहेको छ ।







प्रतिक्रिया