हुलाकी राजमार्ग: मोरङको रतुवा–केशलिया सडक खण्डको ठेक्का तोडियो

70
Shares

फाइल तस्बिर

काठमाडौं । हुलाकी राजमार्गअन्तर्गत मोरङको रतुवा–केशलिया ६ किलोमिटर सडक खण्ड निर्माणको ठेक्का तोडिएको छ ।

हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले मंगलबार श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी प्रालि हेटौंडासँगको ठेक्का सम्झौता रद्द गरेको हो ।

उक्त कम्पनीसँग २०७६ कात्तिक २३ मा ८३ करोड ९९ लाख रुपैयाँ (करसहित) मा तीन वर्षभित्र काम सक्ने गरी सम्झौता भएको थियो ।

तर २०७९ कात्तिक २३ भित्र सकिनुपर्ने कामको प्रगति करिब २५ प्रतिशत मात्र पुगेको कार्यालयले जनाएको छ । सडकलाई केही भागमा ४ लेन र केही भागमा ६ लेनमा विस्तार गर्ने योजना थियो ।

ठेक्काको म्याद दुई पटक थपिए पनि पछिल्लो म्याद गत जेठमै सकिएको थियो । पटक–पटक ताकेता गर्दा पनि काम अघि नबढेको, प्रतिबद्धताअनुसार काम नगरेको र साइट नै ठप्प रहेको कारण ठेक्का तोडिएको कार्यालयले जनाएको छ ।

सम्झौता रद्दसँगै कम्पनीको कार्यसम्पादन जमानतको ४ करोड १९ लाख रुपैयाँ र पेस्कीको ९ करोड ६७ लाख रुपैयाँ जफत गर्न बैंकमा पत्राचार भइसकेको छ । पेस्की रकम १० प्रतिशत ब्याजसहित असुल गरिनेछ ।

ठेकेदार कम्पनीसँग गत साउनमा १५ दिनभित्र स्पष्टीकरण मागिएको थियो तर निर्माण कम्पनीको स्पष्टीकरण चित्तबुझ्दो नभएकाले सार्वजनिक खरिद ऐनअनुसार ठेक्का रद्द गरिएको कार्यालयले जनाएको छ ।

निर्धारित अवधिमा काम नसक्नु, अद्यावधिक कार्यतालिका पेश नगर्नु र काम सुरु गर्ने तदारूकता नदेखिएपछि ठेक्का तोडिएको हो ।

ऐन अनुसार जमानत रकम जफत हुनुका साथै बाँकी काम पूरा गर्न आवश्यक रकम सरकारी बाँकी सरह असुलउपर गरिने र कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरिनेछ ।

अहिलेसम्म भएका कामको नापजाँच तथा वित्तीय समायोजनका लागि १५ दिनभित्र कार्यालयमा उपस्थित हुन निर्माण व्यवसायीलाई अनुरोध गरिएको छ । उपस्थित नभएमा कार्यालयले स्वयं नापजाँच गर्ने जनाएको छ ।