भारतीय केन्द्रीय बैंकको नयाँ परिपत्रः के अब नेपालमा भारू १०० भन्दा ठूला नोट पनि चल्ने भएको हो ?

2.6k
Shares

काठमाडौं । भारतबाट नेपाल आउने वा नेपालबाट भारत जाने यात्रुले एक सय रूपैयाँभन्दा ठूला दरका भारती नोट साथमा बोक्न पाउने भएका छन् । भारतको केन्द्रीय बैंकले राजपत्रमा सूचना प्रकाशन गर्दै २०० र ५०० दरका नोट पनि साथमा बोक्न पाउने कानुनी बाटो खुला गरेको हो।

यसअघि सन् २०१६ मा भारतमा डिमनिटाइजेसन भएपछि दुई देशबीच आवातजावत गर्दा १०० भन्दा ठूला दरका भारतीय नोट बोक्नु गैरकानुनी थियो । भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)को सूचना अनुसार अब २५ हजार भारतीय रुपैयाँसम्मका ती नोट साथमा राख्न र बोक्न मिल्नेछ । यो सुविधा पाकिस्तान र बंगलादेशबाहेक देशका नागरिकलाई मात्र मिल्नेछ ।

आरबीआईले विदेशी मुद्रा व्यवस्थापन (मुद्रा निर्यात र आयात) नियमावली, २०१५ लाई संशोधन गर्दै यो नयाँ व्यवस्था गरेको हो । यो सूचना प्रकाशित भएसँगै सन् २०१६ को नोटबन्दी पछि नेपालमा प्रतिबन्धित ठूला भारतीय नोटहरू दुईदेशको यात्राका क्रममा बोक्न कानुनी रूपमा नै पाइने भएको छ ।

यसले यात्राका क्रममा यात्रुले पाउने झमेला हटेको छ । आरबीआईले ठूला दरका नोट भारतबाट ल्याउन वा भारत लैजान दिए पनि नेपाली बजारमा ती नोट चल्ने भने छैनन् ।

यता भारतको राजपत्रमा सूचना आएपछि नेपाल राष्ट्र बैंकले यसलाई सकारात्मक रूपमा लिएको छ । राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले भारतबाट व्यवहारिक व्यवस्था भएको बताए ।

भारतको यो निर्णयले नेपाली नागरिकले भारू २०० वा ५०० का नोट साथमा राख्न, भारत जाँदा वा आउँदा बोक्न पाउनेछन् । ती नोट बैंक तथा वित्तीय संस्थामा गएर साट्न पाइनेछ । तर, बजारमा सामान किनबेच गर्न भने पाइने छैन ।

राष्ट्र बैंकका प्रवक्ता पौडेल

प्रवक्ता पौडेलले क्लिकमान्डुसँग भने, ‘यसअघिसम्म नेपालमा २०० वा ५०० दरका नोट बोक्नु नै गैरकानुनी थियो । अब भने २५ हजारसम्मका ठूला नोट बोक्दा गैरकानुनी हुने अवस्था अन्त्य भएको छ । तर, यसको अर्थ ती नोटले नेपालको बजारमा स्वतन्त्र कारोबार गर्न पाइन्छ भन्ने होइन । यो केवल यात्रा प्रयोजन र नेपाल राष्ट्र बैंकले इजाजत दिएको सटही केन्द्रका लागि मात्र मान्य हुनेछ ।’

यसअघिसम्म कोही नेपाली वा भारतीय नागरिकले नेपालको बैंक वा मनी चेन्जरमा ठूला दरका नोट साट्न पनि पाउँदैन थिए । ‘भारतले ती नोट ल्याउन र लैजान, दुवै गर्न दिएको छ,’ पौडेलले स्पष्ट पारे, ‘यसो हुँदा नेपाली बैंकिङ प्रणालीमा भारतीय मुद्राको बाहुल्यता हुनेछैन ।

भारत सरकारले राजपत्रमार्फत नै यो व्यवस्था सुनिश्चित गरेपछि विशेष गरी भारतमा रोजगारी गरेर फर्कने नेपाली र नेपाल घुम्न आउने भारतीय पर्यटकलाई ठूलो राहत मिलेको छ । यसअघि ५०० का नोट बोक्दा सीमा नाकामा भारतीय सुरक्षाकर्मी र भन्सारबाट जफत हुने तथा अनावश्यक झन्झट बेहोर्नुपर्ने बाध्यता थियो ।

पौडेलका अनुसार भारतबाट नेपाल आउँदा वा नेपालबाट भारत जाँदा बाटो खर्चका लागि २०० र ५०० का नोट बोक्न अब कुनै कानुनी अड्चन रहने छैन । यद्यपि यो व्यवस्था नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरेर राष्ट्र बैंकले परिपत्र गरेपछि मात्र कार्यान्वयनमा आउनेछ ।

भारतीय ठूला नोट वैधानिक रूपमै बोक्न पाउने परिपत्रको अर्थ के हो ?

सन् २०१६ मा भारतले डिमोनिटाइजेसन गर्नुभन्दा अगाडि ५०० भारु वा ठूला दरका नोट नेपालबाट भारत लैजान र भारतबाट ल्याउन पाउने व्यवस्था थियो । २०१६ नोभेम्बर ८ तारिकको मध्यरातदेखि भारतले १०० भन्दा माथिका ठूला नोटहरुलाई आफ्नो प्रणाली हटाउने गरी नोटबन्दी गर्यो । भोलिपल्टै राष्ट्र बैंकले ठूला दरका भारतीय नोट नेपालमा नचल्ने भनेर सर्कुलर गर्यो ।

त्यसपछि राष्ट्र बैंकले नेपालमा भएका भारतीय नोट भारतले लिइदिनुपर्छ भनेर अनुरोध गरिह्यो । तर, भारतले नसुनेपछि १०० भन्दा ठूला भारु नोट नेपालमा नचल्ने व्यवस्था कायमै राख्यो । अर्थात्, ठूला दरका भारू नेपालमा चलेनन्, बोक्नै पाइएन ।

त्यसपछि राष्ट्र बैंकले भारतसँग पहल गरिरह्यो । त्यो हो, भारतबाट नेपालमा आउँदा ठूला दरका नोट बोक्न पाइन्छ भने नेपालबाट भारत जाँदा पनि बोक्न पाउनुपर्छ भन्ने ।

तर भारतले भारतबाट नेपाल नोट ल्याउन दिने खालको नीति बनाउने तर नेपालबाट भारतमा लैजान नदिने कुरा गर्‍यो । भारतको कुरा राष्ट्र बैंकले मानेन । किनकी नेपालमा आउन दिने तर नेपालबाट भारत जान नदिने हो भने नेपालमा भारतीय ठूला दरका नोटहरुको बाहुल्य हुनेछ भन्ने बुझाइ राष्ट्र बैंकको थियो ।

नेपाल राष्ट्र बैंक स्थापना भइसकेपछि नेपाली मुद्राको प्रचलन बढाउने राष्ट्र बैंकको स्थापनाकालीन उद्देश्य थियो । भारतबाट एकतर्फी नेपाल नोट आउने हो भने सुरुवाती उद्देश्य विपरित हुनेमा राष्ट्र बैंक थियो । तसर्थ राष्ट्र बैंकले ‘यदि भारतबाट ठूला नोट ल्याउन पाउने हो भने नेपालबाट भारतमा लैजान पनि पाउनुपर्छ, तब मात्र ठूला दरका नोटहरु हामी चाहिँ स्वीकार्छौं’ भनेर अडान लिइरह्यो ।

अन्ततः नोभेम्बर २८, २०२५ मा भारत सरकारले ‘फरेन एक्सचेन्ज म्यानेजमेन्ट एक्ट’ (फेमा) अन्तर्गतको एउटा नियमावलीमा एक संशोधन गरेर २५ हजार भारूसम्मका नोटहरु भारतबाट नेपाल लैजान र नेपालबाट भारत ल्याउन दिने व्यवस्था गरेको छ । यो सुविधा नेपालसँगै भुटानका लागि पनि दिइएको छ ।

भारतको यो व्यवस्थालाई राष्ट्र बैंकले स्वीकारेको पनि छ । अब नेपालबाट भारतमा पढ्न जाने विद्यार्थी, श्रमिक तथा तीर्थयात्रा गर्नेहरु लाभान्वित हुनेछन् भने भारतबाट नेपालमा आउने पर्यटक तथा अन्य प्रयोजनमा आउनेहरुलाई पनि लाभ हुनेछ ।

अर्थात् नेपालीहरु अथवा भारतबाट चाहिँ नेपाल घुम्न आउनेहरुले साथमा २०० वा ५०० का नोटहरु बोक्न पाउनेछन् । तर, ती नोट बैंक वा मनी चेन्जरमा साट्नुपर्नेछ ।

कुनै पनि विदेशी विनिमय वा विदेशी मुद्रा नेपालमा विदेशी मुद्रा सटहीको लागि इजजातप्राप्त संस्था भन्दा बाहेक स्थानमा सटही गर्न पाइँदैन । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको कारोबार गर्न करिब होटल, मोटल, रेष्टुराँ, मल, एयरलाइन्स, कार्गो, मनिचेन्जर आदि गरी २८०० संस्थालाई इजाजत दिएको छ ।