भारत भ्रमणमा जान लागेका पुटिनको तस्बिरमा गरियो आरती (भिडियो)

196
Shares

एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन राजकीय भ्रमणका क्रममा बिहीबार साँझ भारतको राजधानी नयाँ दिल्ली पुग्दैछन् ।
भारतले पुटिनको दुई दिने राजकीय भ्रमणको स्वागत गर्न तयारी गरिरहँदा बनारसमा अनौठो दृश्य देखिएको छ ।

सामाजिक सञ्जालमा फैलिएका भिडियोहरूमा स्थानीय मानिसहरूले पुटिनको फ्रेम गरिएको तस्वीरअगाडि आरती गरिरहेको देखिन्छ । त्यसमा महिलाहरूले भजन गाइरहेको र पुरुषहरूले भारतीय झण्डा फहराइरहेको देखिन्छ । अर्को क्लिपमा भारत–रुस मैत्री जिन्दाबाद भन्ने ठूलो ब्यानर देखिन्छ । त्यसमा प्रधानमन्त्री नरेन्द्र मोदी र पुटिन हात मिलाउँदै गरेको तस्वीर पनि छ ।

आरतीपछि उक्त समूह सडकमा ¥याली निकाल्दै दुवै नेताहरूको समर्थनमा नाराबाजी गर्दै हिँडेको देखिन्छ ।

सामाजिक सञ्जाल एक्समा एएनआईले साझा गरेको यस फुटेजले छिट्टै नै एक लाखभन्दा धेरै भ्यूज बटुल्यो ।

पुटिन बिहीबार साँझ साढे ६ बजे नयाँ दिल्ली आइपुगेर २३औं भारत–रुस वार्षिक शिखर सम्मेलनमा सहभागी हुनेछन् । यो युक्रेन युद्ध सुरु भएयता उनको पहिलो भारत यात्रा समेत हो ।

दुवै देशले आफ्नो रणनीतिक साझेदारीको २५ वर्ष पूरा गरेको अवसरमा र २३औं भारत–रुस वार्षिक शिखर सम्मेलनको सन्दर्भमा पुटिनको भ्रमण भइरहेको हो । दिल्ली आइपुगेपछि उनी प्रधानमन्त्री मोदीको निवासमा निजी डिनरका लागि सिधै जानेछन् । शुक्रबार बिहान उनलाई राष्ट्रपति भवनमा औपचारिक स्वागत गरिनेछ । त्यसपछि उनी राजघाट जाने र हैदराबाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता हुने कार्यक्रम छ ।

उनीसँगै रक्षा, अर्थ, कृषि, यातायात र स्वास्थ्य मन्त्रालयका वरिष्ठ रुसी अधिकारी तथा केन्द्रीय बैंककी गभर्नर एल्भिरा नबिउलिना सहितको टोली आउनेछ ।

शुक्रबार मोदी र पुटिनले भारत–रुस व्यवसाय मञ्चलाई सम्बोधन गर्नेछन् । त्यसपछि राष्ट्रपति द्रौपदी मुर्मुले भोज दिने कार्यक्रम छ । भोजपछि पुटिन स्वदेश प्रस्थान गर्नेछन् ।