नेपालमा छारे रोगसहितका औषधी बेच्ने कम्पनीको व्यापार ६ प्रतिशतले बढ्यो, साढे २ अर्बको कारोबार

469
Shares

काठमाडौं । रेन्बो ट्रेड कन्सर्नको व्यापार ६ प्रतिशतले बढेको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा ६ प्रतिशतले बढेको हो ।

कम्पनीले सन् २०२४ मा २ अर्ब ४४ करोड ४० लाख रुपैयाँको कारोबार गरेको थियो । सन् २०२५ मा २ अर्ब ५९ करोड ६० लाख रुपैयाँको कारोबार गरेको छ । सन् २०२३ मा १ अर्ब ९३ करोड ९० करोड रुपैयाँ व्यापार गरेको कम्पनीले सन् २०२२ मा १ अर्ब ७८ करोड ४० लाख रुपैयाँ र सन् २०२१ मा १ अर्ब ६२ करोड ५० लाख रुपैयाँको गरेको थियो ।

सन् १९९३ मा स्थापना भएको कम्पनीले विभिन्न प्रकारका औषधी आयात गर्दै आएको छ।

कम्पनीले इपिलेप्सी (छारे रोग), डाइबेटिज, हाइपरटेन्सन र अन्य विभिन्न प्रकारका औषधी आयात गरी नेपाली बजारमा कारोबार गर्दै आएको हो । कम्पनी नेपालको लागि इन्टास औषधी कम्पनीको आधिकारिक बिक्रेता हो ।

कम्पनीले सम्पूर्ण औषधी भारतको इन्टास कम्पनीबाट आयात गर्दै आएको छ ।

कम्पनीले नेपालका एकसयभन्दा बढी होलसेल व्यापारीहरुलाई वितरण गर्दै आएको जनाएको छ ।

सुरेशकुमार अग्रवालको पूर्णस्वामित्व रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ८९ करोड ४० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १४ करोड ९० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ७४ करोड ५० लाख रुपैयाँको रेटिङ गराएको हो ।

कम्पनीले गरेको कारोबारमध्ये ४२ प्रतिशत हिस्सा मुख्य १० ग्राहकको रहेको रेटिङमा उल्लेख छ । सन् २०२४ मा उक्त ग्राहकको हिस्सा ४०प्रतिशत थियो ।