ईभीमा आक्रामक हुँदै हुन्डाई, भारतमा ४ वर्षभित्र ५ अर्ब डलर लगानी गर्ने

168
Shares

एजेन्सी । विश्वप्रसिद्व कार निर्माता कम्पनी हुन्डाईले भारतमा ठूलो लगानी विस्तार गर्ने भएको छ । विद्युतीय सवारीसाधन ईभीलाई विशेष प्राथमिकता दिँदै हुन्डाईले अबको ४ वर्षभित्र ५ अर्ब डलर अर्थात् ४ खर्ब ५० अर्ब भारतीय रुपैयाँ बराबर लगानी गर्ने भएको हो।

२०२६ देखि जनवरीदेखि हुन्डाईको सीईओको जिम्मेवारी सम्हाल्न आएका तरुण गर्गले रणनीतिक योजनाहरू सार्वजनिक गर्दै ईभीलाई विशेष प्राथमिकता राखेर अघि बढ्ने उल्लेख गरे । नयाँ सीईओ गर्गका अनुसार थप लगानी गरी ईभी, हाइब्रिड, एमपीभी, अफ रोडर र अन्य मोडेलका सवारीसाधन उत्पादन गरिने छ ।

ईभी नै अब विश्वलाई ड्राइभिङ गर्ने सवारीसाधन बन्ने उनले उद्घोष गरे ।

अहिले भारतीय उपभोक्ताको प्राथमिकता मात्र ‘सस्तो’ कार होइन ‘मूल्य गुणस्तर सुविधा’ खोज्न थालेका छन्। छोटो कार मात्र होइन, एसयुभी, एमपीभीजस्ता बढी सुविधायुक्त तथा ईभी र हाइब्रिड कारहरूमा माग बढेको गर्गले सुनाए ।

हुन्डाईले योजना बनाएका २६ नयाँ मोडलमध्ये केही पूर्णइलेक्ट्रिक, केही हाइब्रिड रहेका छन्। २०२७ भित्र भारतमै पहिलो ‘लोकल–डिजाइन’ एसयुभी ईभी ल्याउने लक्ष्य राखिएको छ।

नयाँ सीईओ बनिरहेका गर्गका अनुसार, कम्पनी अब मात्र उत्पादन र बिक्रीमा मात्र होइन शोध विकास, टेक्नोलोजी, उत्पादन प्रविधि, र ग्राहक मूल्याङ्कनमा पनि जोड दिनेछ। यसरी हुन्डाइले ईभी हाइब्रिड पारंपरिक मोटर एसयुभी एमपीभी र अफ रोडर सबै विधामा आफ्नो उपस्थितिलाई व्यापक बनाउन खोजिरहेको छ।

भारतीय ग्राहकहरूको रुचि परिवर्तन भएको हुन्डाईले जनाएको छ । भारतीय ग्राहकहरु कम मूल्य मात्र होइन, सुविधा, सुरक्षा र आधुनिक टेक्नोलोजीसहित कार खोज्न थालेका छन् ।

ईभी र हाइब्रिडतर्फ माग बढिरहेको, जसले परम्परागत पेट्रोलरडिजेल वाहनको तुलनामा दीर्घकालीन लागत घटाउने अपेक्षा राखिएको छ । संसारभर ईभीको बजार बढिरहेको परिदृश्यमा हुन्डाई पनि ईभीमा आक्रामक हुन लागेको हो ।

सन् १९६७ डिसेम्बर २८ मा दक्षिण कोरियामा स्थापना भएको हुन्डाईको सन् २०२४ मा कुल सम्पत्ति २ खर्ब ३० अर्ब अमेरिकी डलर बराबर पुगेको छ । हुन्डाईका संसारभर १० करोड बढी सवारीसाधन बिक्री भइसकेका छन् । हुन्डाई सन् १९९६ मे ६ मा भारतको चेन्नाईमा कम्पनी स्थापना गरेर उत्पादन सुरु गरेको हो ।

व्यापारिक घराना लक्ष्मी समूहले नेपालमा हुन्डाईका गाडी एसेम्बल सुरु गरेको छ। २०८१ बैशाख २८ गते प्रधानमन्त्री पुष्पकमल दाहालले नवलपरासीको रामग्राम ६ मा १० बिघा क्षेत्रफलमा फैलिएको प्लान्टको उद्घाटन गरे । २ अर्ब रुपैयाँ लगानीमा तयार उक्त प्लान्टबाट वार्षिक ५ हजार युनिट गाडी उत्पादन हुन सक्छन् ।

नेपालमा हुन्डाईका करिब ५० हजार सवारीसाधन बिक्री भइसकेका छन् । जसमध्ये क्रेटामात्रै १० हजारभन्दा बढी बिक्री भएको छ ।