
काठमाडौं । अर्थविद्समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले नेपालमा केही भएको छैन भन्ने भाष्य निर्माण गर्नु गलत हुने बताएका छन् ।
राष्ट्रिय युवा परिषद्ले बुधवार आयोजना गरेको कार्यक्रममा उनले २०४८ सालपछिको निर्वाचित सरकारले लिएको आर्थिक नीतिका कारण नेपालमा धेरै परिवर्तन भएको र यसलाई सबैले स्वीकार गर्नुपर्ने बताए ।
२०४८ सालको सरकारद्वारा सुरू गरिएको आर्थिक सुधारले नेपाललाई ७ प्रतिशतको औसत आर्थिक वृद्धिदरमा उकासेको र त्यसलाई निरन्तरता दिइएको भए हाल नेपालको अर्थतन्त्र करिव १ सय अर्ब डलरको आकारमा पुग्ने उनको भनाइ छ । तर हाल ४५ अर्ब डलर बराबरको अर्थतन्त्र रहेको उनले बताए ।
पछिल्लो डेढ दशकदेखि भने नेपालमा राजनीतिक–आर्थिक उथलपुथलको चक्रमा फसेको उनले बताए ।
त्यसको प्रतिबिम्व भदौ २३–२४ का घटनाले पनि देखाएको उनको भनाइ छ । जेनजी आन्दोलनले मुलुक नयाँ मोडमा पुगेको उनले बताए ।
उनकाअनुसार यो संक्रमणको सफल व्यवस्थापन हुन सकेमा देशले नयाँ आर्थिक–राजनीतिक मार्ग प्राप्त गर्नसक्छ । तर असफलता भए पुनः प्रतिगमनको जोखिम गम्भीर रूपमा बढ्ने उनले बताए ।
उनले यस चुनौतीपूर्ण अवस्थाबाट देशलाई निकाल्ने जिम्मेवारी नयाँ पुस्ताका राजनीतिक पात्र तथा नयाँ दलहरूले वहन गर्नुपर्नेमा जोड दिए ।
आगामी निर्वाचनपछि नयाँ आउने नेतृत्वले देशमा आर्थिक विकासको लागि दर्जनौँ कानूनमा सुधार गर्नुपर्ने उनले आवश्यकता औँल्याए ।
वाग्लेले यसो भने
नेपालमा एक डेढ दशकदेखि उकुसमुकुस भइरहेको छ । यसको प्रतिविम्वको रूपमा भदौ २३ र २४ को विस्फोटमा पनि भयो र मुलुकको अर्थराजनितिक कोर्सलाई नै मोडिने गरेर र यसलाई सम्हाल्न सक्यौँ भने हामी साँच्चिकै नयाँ ट्रयाज्क्टरीमा जानसक्छौँ भन्ने आशा पनि पलाएको छ । यद्यपि यो संक्रमणलाई व्यवस्थापन गर्न सकेनौँ भने फेरि अलिकति प्रतिगमन पश्चगमन अलि पुरानै उल्टै बाटो र त्यसले आशाहरू मार्ने, युवाहरूको यो देशमा अलिअलि बल्न लागेको दियो पनि निभ्ने हो की भन्ने आशंका पनि आजकल म देशभर ढुल्दा पनि विदेशमा जाँदा पनि पाउँदछु । यसलाई सम्हाल्ने जिम्मेवारी हामीजस्ता नयाँ पात्रहरू, नयाँ दलहरू र राजनितिमा केही गर्नुपर्छ भनेर लाग्नुपर्छ भन्नेहरूको जिम्मेवारी छ । तर सबै खत्तम यहाँ केही पनि हुँदैन भन्ने भाष्य पनि राम्रो होइन । यस मानेमा कहिलेकाहीँ फर्केर हेर्दाखेरी नेपालमा केही पनि नभएको होइन । यसलाई एक्नलेजगरेर नै जानुपर्छ ।२०४८ सालको नवनिर्वाचित सरकारले गरेका आर्थिक सुधारको बलमा राम्रो पिकअप लिएको थियो । एभरेज ग्रोथरेन्ज ७ प्रतिशत जति थियो । त्यसलाई आज निरन्तरता दिन सकेको भए, हामी करिव करिव १०० विलियन डलर आकारको अर्थतन्त्र आज नै पुग्ने रहेछ ।







प्रतिक्रिया