साढे २ अर्ब लगानीमा विराटनगरमा आरआर इन्टरनेशनल हस्पिटल बन्दै

938
Shares

काठमाडौं । शिवम् अर्गनाइजेशनले विराटनगरमा करिब साढे २ अर्ब रुपैयाँ लगानीमा आरआर इन्टरनेशनल हस्पिटल बनाइरहेको छ । कम्पनीले विराटनगरमा २ अर्ब ४४ करोड ८० लाख रुपैयाँ लगानीमा हस्पिटल बनाइरहेको हो ।

कम्पनीले १ सय २१ शय्याको उच्च सुविधासहित हस्पिटल बनाउने भएको हो । हालसम्ममा हस्पिटलको ३१ प्रतिशत आर्थिक प्रगति र ४० प्रतिशत भौतिक प्रगति भएको उल्लेख छ ।

कम्पनीले सन् २०२६ को अप्रिलबाट आंशिक रुपमा अस्पताल सञ्चालनमा ल्याउने योजना बनाएको छ भने व्यवसायिक कारोबार सन् २०२६ को जुलाईबाट हुने उल्लेख छ ।

कम्पनीले प्रतिशय्याको लागत २ करोड रुपैयाँ खर्च हुने जनाएको छ । कम्पनीले लगानीका ७५:२५ अनुपात राखेको छ । लगानीकर्ताले प्रतिबद्धता जनाएको रमकमध्ये ७० प्रतिशत व्यवस्थापन गरिसकेको छ । कम्पनीकाअनुसार लगानीकर्ताले ६१ करोड १९ लाख रुपैयाँ लगानी गर्ने भनिएकोमा ४३ करोड रुपैयाँ रकम व्यवस्थापन भइसकेको रेटिङमा उल्लेख छ ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ८७ करोड ५० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब ८३ करोड ५० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ४ करोड रुपैयाँको रेटिङ गराएको हो ।

कम्पनीमा दुई जना बोर्ड निर्देशक छन् । राजेन्द्र राउत अध्यक्ष रहेको कम्पनीमा निर्देशक सीमा राउत छिन् ।