
काठमाडौं । काठमाडौं उपत्यकाको सभ्यता तथा सांस्कृतिक पहिचानको मूल धरोहर मानिने बागमती नदीलाई ढलमुक्त, सफा र सुन्दर बनाउने अभियान तीव्र गतिमा अघि बढाइएको छ ।
तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका मन्त्री कुलमान घिसिङले समन्वयकारी नेतृत्वमा पहिलो चरणको कार्यको रूपमा गुहेश्वरी–गोकर्ण खण्डलाई नमुना क्षेत्र बनाउने काम अघि बढेको बताएका छन् ।
गोकर्णेश्वर–५ जम्बुडाँडा क्षेत्रमा उचित ढल व्यवस्थापन नहुँदा बागमती प्रदूषित हुँदै आएको र करिडोरको सडक समेत बिग्रिएका कारण समस्या गम्भीर बन्दै आएको मन्त्री घिसिङले उल्लेख गरे । उनका अनुसार अहिले ढल व्यवस्थापन, करिडोर सडक मर्मत, नदीमा थुप्रिएको फोहोर तथा लेदो हटाउने काम एकसाथ अघि बढाइएको छ।
फोहोर सफाइपछि चेक ड्यामलाई सक्रिय प्रयोगमा ल्याई साना तलाउ निर्माण गर्ने तथा बोटिङलगायतका पर्यटकीय गतिविधि सञ्चालन गर्ने तयारी भइरहेको मन्त्री घिसिङले जानकारी दिए । उनका अनुसार बागमतीलाई केवल सफा बनाउने मात्र होइन, सुन्दर र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने दीर्घकालीन योजना पनि अघि बढाइँदैछ।
‘बागमती स्वच्छ बनेपछि मात्र काठमाडौं साँच्चिकै सुन्दर शहर बन्न सक्छ,’ मन्त्री घिसिङले भने, ‘उपत्यकाका सबै नदी करिडोरलाई व्यवस्थित गर्दै काठमाडौंलाई स्वच्छ, सुन्दर र आधुनिक शहरका रूपमा रूपान्तरण गर्ने हाम्रो प्रतिवद्धता छ।’
नदी सफाइ, सडक लगायतको अनुगमनमा पुगेका मन्त्री घिसिङले एक महिनाभित्र काम गर्न निर्देशनसमेत दिए ।







प्रतिक्रिया